Comments Add Comment

‘राजपा सरकारमा जाँदैन र प्रदेश २ मा सरकार फेरिँदैन’

८ पुस, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका दुई जना सदस्यले चर्चामा आएजस्तो राजपा सरकारमा जाने सम्भावना नभएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र राजकिशोर यादव राजपा सरकारमा नजाने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनीहरुले सरकारलाई दिएको समर्थन लिइसकेकाले स्थितिमा कुनै परिवर्तन नहुँदै फेरि समर्थन गर्ने सम्भावना नरहेको बताएका हुन् ।

‘हामीले सरकारलाई समर्थन दिएको फिर्ता लिइसकेका छौं, त्यो अवस्थासम्म कुनै परिवर्तन नभएकाले राजपा सरकारमा जादैनौं’ अध्यक्ष मण्डलका सदस्य भण्डारीले भने । समर्थन फिर्ता लिँदाको अवस्था र अहिलेको अवस्थामा कुनै परिवर्तन नआएको उनको भनाइ छ ।

‘सबै अध्यक्ष फर्केर काठमाडौं गएपछि नयाँ कन्टेस्टमा के हो, कसो हो, बुझेर केहि रणनीति बनाउँछौं’ उनले भने, “तर सरकारमा जाने कुनै सम्भावना भने छैन ।’

भण्डारीले २ जना राष्ट्रियसभाको सदस्य पदका लागि भएको समझदारीलाई नेकपासँग भएको संवादहीनताको स्थिति टुटेको अर्थमा मात्र बुझ्न आग्रह गरे ।

अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव पनि संघीय सरकारमा राजपा जाने कुरालाई नकार्छन् । ‘सरकारमा जाने कुनै कुरा भएको छैन् । राष्ट्रियसभाका लागि सहमति मात्रै भएको हो’ यादवले भने, ‘राजपाको जुन स्टेन्ड थियो त्यो कायमै छ ।’

प्रदेशको सरकार यथावत रहन्छ

समाजवादी पार्टीले सरकार छाडेपछि प्रदेश २ को सत्ता समीकरणमा परिवर्तन आउने चर्चा पनि छ । प्रदेश २ मा राजपा र नेकपा मिलेर सरकार बनाउने चर्चा भइरहेका बेला राजपाका दुबै नेताले ती चर्चामा सत्यता नभएको बताए । ‘प्रदेश सरकार परिवर्तन गर्नुको कारण के छ ?’ अध्यक्ष मण्डल सदस्य भण्डारीले भने, ‘संयुक्त गठबन्धनको सरकार उल्टफेर गर्नुपर्ने केहि कारण नै छैन ।’

राजपा र समाजवादी सँगै गठबन्धन बनाएर चुनाव लडेको र गठबन्धनै सरकारमा रहेका कारण प्रदेश सरकारमा कुनै परिवर्तन नआउने भण्डारीको भनाइ छ । ‘प्रदेश २ को सरकारमा त कुनै विवादै पनि छैन’ त्यसैले यहाँ कुनै फरक पर्दैन’ उनले भने ।

भण्डारीले थपे ‘समाजवादीले कम्ष्युनिष्ट पार्टीको सरकार छोडेको छ । किन छोड्नुभएको हो, उहाँहरुको कुरा भयो, प्रदेश २ को सरकार छोड्ने र परिवर्तन गर्ने कुनै बिषय नै होइन ।’

अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव पनि प्रदेश सरकारमा कुनै फरक नपर्ने बताउँछन् । ‘मान्छे आफ्ना ढंगले अनुमान लगाउन थालेका छन्’ यस्तो केही हुँदैन’ उनले भने ।

अहिले समाजवादी पार्टीले सरकार छाडेपछि एकता के हुन्छ भन्ने प्रश्नमा राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारी भन्छन्, ‘उहाँहरु किन बाहिरिनुभयो त्यो उहाँहरुको कुरा होला । उहाँहरुले नै स्पष्ट पार्नुहोला, तर राजपाको आग्रहमा सरकार छाड्नुभएको होइन, यो बिषयमा पछि छलफल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment