Comments Add Comment

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण : यो त सुरुवात मात्र हो !

९ पुस, काठमाडौं । १ साउन २०७४, नेपाली स्वास्थ्य क्षेत्रको गर्व गर्नलायक मिति । त्यो दिन नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सफल भयो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरेर एउटा इतिहास रच्यो । र, मृत्युको विकल्प नदेखिरहेका हिराबहादुर महर्जनले जीवनको दोस्रो इनिङ सुरु गरे । हिराकी २४ वर्षीया छोरी सरिताले कलेजो दिएर बुवालाई पुनर्जन्म दिइन् ।

दुई वर्षमा केन्द्रले तीनवटा प्रत्यारोपण गर्दा भारतीय डाक्टरको टोलीले नेतृत्व गरेका थिए । तर त्यसपछि निरन्तरता पाएन । केन्द्रले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन नसक्नुको कारण दियो, ‘मल्टी स्पेसलाइज्ड नेपाली डाक्टरको टोली भएन ।’

अनि वार्षिक सयभन्दा बढी बिरामी भारत जाने क्रम रोकिएन । नेपालमा २० देखि २५ लाखमा हुने उपचारको लागि विदेशमा करोडौं खर्चिनु पर्ने अवस्था कायमै रह्यो । पैसा हुने त उपचार गर्न विदेश पनि जान्थे, नहुनेले काल कुर्नुको विकल्प थिएन ।

तर १८ जेठ २०७६ मा कलेजो प्रत्यारोपणको पर्खाइमा रहेकाहरुलाई अर्को सुखद खबर आयो । त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भयो ।

यो आकस्मिक रुपमा भएको भने होइन । झण्डै ६ वर्ष लामो तयारी थियो, जसको नेतृत्व लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीले गरेका थिए ।

२०७३ सालमा मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली बनेसँगै डा. भण्डारीको अगुवाइमा अस्पतालले कलेजो प्रत्यारोपणका लागि तयारी थालेको थियो । र, भण्डारी तिनै डाक्टर हुन्, जसले गत महिनामात्र प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सफल अप्रेसन गरेका थिए ।

००००

असोज दोस्रो साता भण्डारी अत्यधिक तनावमा थिए । पहिलो प्रत्यारोपणको लागि बिरामी त तयार भए तर सफल होला त ? अन्तर्मनको प्रश्नले आफैंलाई डर लाग्थ्यो ।

एकातिर राम्रोसँग चलिरहेको डाक्टरी करियर थियो भने अर्कोतिर शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने सपना । प्रत्यारोपण असफल हुँदा सबै डामाडोल हुने निश्चित थियो । घरिघरि सम्झिन्थे, भारतको गंगाराम अस्पतालको पहिलो ११ वटा असफल ट्रान्सप्लान्ट । अनि कल्पिन्थे, अखबारका अनेक हेडलाइन । कल्पनामा नकारात्मक हेडलाइन मात्र आउँथ्यो ।

ट्रान्सप्लान्ट गर्ने दिन नजिकिँदै गर्दा उनी यस्तै मनस्थितिबाट गुज्रिए । डर र उत्साहबीच असोज १७ गते डाक्टर भण्डारीको टोली प्रत्यारोपणको लागि तयार भयो । ३३ वर्षीया पुर्नी शाही र उनका बुबा पदमबहादुर शाही डर नमानी प्रत्यारोपण कक्षमा प्रवेश गरे ।

अन्ततः राति २ बजे प्रत्यारोपण सफल भयो ।

डाक्टर भण्डारीको खुशीको सीमा रहेन । सन्तोषको सास फेर्दै घरमा फोन गरेर खुशी साटे । त्यो दिन सम्झिँदै भण्डारी भन्छन्, ‘वर्षौंको सपना पूरा हुँदा खुशी लाग्ने नै भयो । पहिलाको डर पनि सबै हरायो ।’

पहिलो प्रत्यारोपण सकिएको अहिले तीन महिना मात्र भएको छ । यो छोटो समयमा तीन वटा सफल प्रत्यारोपण गरेका भण्डारी चौथो प्रत्यारोपणको तयारीमा छन् । सुरुवातको २ वर्ष हरेक महिना एउटा प्रत्यारोपण गर्ने योजना बनाएका उनले त्यसपछि भने प्रत्यारोपणको संख्या बढ्दै जाने सुनाए ।

शिक्षण अस्पतालमा पहिलो प्रत्यारोपण सफल भएपछि उनका धेरै विदेशी डाक्टर साथीले अचम्म मान्दै सोधे, ‘पहिलो प्रत्यारोपण नै सफल ?’

भण्डारीको ‘हो’ जवाफमा उनीहरु फेरि सोध्थे, ‘सरकारी अस्पतालमा ?’

फेरि ‘हो’ भन्दा उनीहरु भन्थे, ‘बधाई, भण्डारी यू आर जिनियस ।’

डा. भण्डारीकाअनुसार कलेजो प्रत्यारोपण अत्यन्तै जटिल शल्यक्रिया हो । प्रत्यारोपणमा सर्जनदेखि ल्याब टेक्निसियन र एनेस्थेसियादेखि नर्सको प्रत्यक्ष अप्रत्यक्ष भूमिका हुन्छ । उच्चस्तरीय उपकरण मात्र भएर पुग्दैन, हरेक विभागको सेवा विश्वस्तरीय हुनुपर्छ । त्यो मापदण्ड पूरा नगरे प्रत्यारोपणमा संक्रमण देखिन सक्छ । त्यसैले नेपालमा सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण कठिन मानिथ्यो । यो सबै समस्या देखेका उनका साथीहरु अचम्मित हुने नै भए ।

भण्डारीसामू हिजो पनि चुनौती थियो, आज पनि चुनौती नै छ । वर्षौंको मेहनत सफल भएकाले खुशी पनि छन् । तर खुशी मनाएर बस्ने फुर्सद कहाँ ? उनी यही उपलब्धिमा रमाएर नबसिकन त्यसलाई निरन्तरता दिन दौडधुप गरिरहेका छन् । अहिलेको दौडधुपले अर्को सपना पूरा हुनेमा ढुक्क पनि ।

‘के हो त अर्को सपना ?’

‘सपना त धेरै नै छन्,’ डा. भण्डारी दार्शनिक सुनिन्छन्, ‘त्यो सबै समयले नै बताउला ।’

भण्डारीलाई सपना समय जस्तै परिवर्तनशील लाग्छ । हिँजो कलेजो प्रत्यारोपण सुरु गर्ने सपना थियो । आज त्यसलाई स्थापित । भोलिको सपना के हुन्छ थाहा छैन । यत्ति थाहा छ, सपना आवश्यकताले जन्मिन्छ । भोलिको आवश्यकता आज के थाहा ? तर दिमागमा केही स्केच भने बनिसकेको छ । तर थाहा छैन त्यो स्केचले पेण्टिङको रुप लिन्छ या लिन्न ।

हिजो उनीसँग सपनाभन्दा शक्तिशाली प्रश्न, नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ कि सकिन्न ? भन्ने थियो ।

त्यही प्रश्नको उत्तर खोज्नका लागि शिक्षण अस्पताल महराजगञ्जबाट जनरल सर्जरीमा एमसीएच गरेका थिए । अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्सबाट कलेजो प्रत्यारोपणसम्बन्धी फेलोसिपको उद्देश्य त्यही प्रश्नको उत्तर खोज्नु थियो ।

तर एउटै फेलोसिपमा प्रश्नको जवाफ कहाँ भेटिन्थ्यो र ?

फेलोसिपले नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ भन्ने मात्रै सिकाएको थियो । तर कसरी भन्ने जवाफ पाएका थिएनन् । र, यो जवाफ नभेट्दासम्म प्रत्यारोपण असम्भव थियो ।

२०१० मा फर्किएपछि जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरीमा लागेका उनी फेरि अष्ट्रेलिया गए । यो पटक ‘कलेजो प्रत्यारोपण गर्न अत्यन्तै खर्चिलो हुन्छ । स्पेसल ट्रेनिङ गरेको टिम चाहिन्छ । इक्विपमेन्ट त्यस्तै महँगो । रेडियोलोजिस्ट, एनेस्थेसिया, नर्सहरु पनि स्पेसल ट्रेनिङ गरेकै आवश्यक पर्छ । मल्टिस्पेसलाइज्ड टिम र इक्विपमेन्टबिना असम्भव छ भन्ने जवाफ पाए ।

तर उनी हार  नमानिकन टिम जुटाउन लागे । आवश्यक जनशक्ति, तालिम र सामान तयार पार्न झन्डै २ वर्ष लाग्यो । १२ करोड रुपैयाँभन्दा बढीको लगानीमा आवश्यक सेट अप तयार भयो ।

००००

उनले कलेजो प्रत्यारोपण सुरुवात गर्ने योजना बनाउँदा गगन थापा स्वास्थ्य मन्त्री थिए । थापालाई कुरा बुझाउन गाह्रो भएन । योजना लैजानासाथ कार्यान्वयनमा गइहाल्यो । अस्पतालमा फटाफट उपकरणहरु ल्याउने काम भयो ।

त्यसपछि उनीहरुले बिरामी खोज्न थाले । प्रत्यारोपण सुरु गर्नुअघि उनको टिमले अत्यन्तै जोखिमपूर्ण सर्जरीहरु गर्‍यो। टिमको तालमेल मिलाउन पनि त्यो जरुरी थियो । कलेजो प्रत्यारोपण सुरु गर्नुअघि डा. भण्डारी बारम्बार भन्थे, ‘अहिले हामीले गरेका सर्जरी विश्वकप खेल्नुअघिको सार्क र एसिया कप खेलेजस्तै हो । विश्वकप खेल्नुअघि टिम त तयार त गर्नु पर्‍यो नि ।’

तीन वटा सफल प्रत्यारोपण गरिसकेपछि हामीले सोध्यौं, ‘विश्वकप जितियो त ?’

भण्डारी हाँस्दै भन्छन्, ‘सुरुवात राम्रो भयो, निरन्तरताको लागि अभ्यास गरिरहेका छौं ।’

डाक्टर भण्डारीकाअनुसार मिर्गौला प्रत्यारोपण जस्तै प्रकिया भए पनि कलेजो प्रत्यारोपण बढी संवेदनशील हुन्छ । ‘कलेजोको टुक्रो’ काटेर प्रत्यारोपण गर्ने भएकाले जोखिम उत्तिकै । त्यसैले पनि कलेजो प्रत्यारोपणमा ‘मल्टी स्पेसल’ टिम चाहिन्छ । अप्रेसनमा प्रयोग हुने इक्विपमेन्ट वा ल्याबमा सम्झौता गर्नासाथ जे पनि हुन्छ । भण्डारी भन्छन्, ‘कलेजो प्रत्यारोपण नेपालमा मात्र हैन विश्वभरी नै जोखिमपूर्ण हो, त्यसैले हरेक प्रत्यारोपणमा सजग हुनुपर्छ ।’

जसरी प्रत्यारोपणमा जोखिम छ खर्च पनि बढी लाग्छ । भण्डारीकाअनुसार नेपालमा भन्दा भारतमा अझ महंगो छ । तर नेपालमा पनि सबैले खर्च धान्न सक्दैनन् । त्यही कारण उनी सरकारले मिर्गौला रोगीलाई जस्तै कलेजो रोगीलाई पनि सहुलियत दिनुपर्ने भन्दै ‘लबिङ’ गरिरहेका छन् । सरकारले सहयोग गर्‍यो भने शिक्षण अस्पतालमा वार्षिक सयभन्दा बढी बिरामीको प्रत्यारोपण गर्न सक्ने उनको तर्क छ ।

अर्थात कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन चाहन्छन् । दुई चार वटा प्रत्यारोपण गरेर ‘ब्रेक’ लिने पक्षमा छैनन् । कलेजो प्रत्यारोपणका लागि छुट्टै सेन्टर विकास गर्ने आगामी योजना बनाएका उनी भन्छन्, ‘यो त सुरुवात हो, गर्नुपर्ने धेरै छ ।’

००००

डा. भण्डारीको अधिकांश समय अप्रेसन थियटरमा बित्छ । तर उनी त्यतिमा मात्र सीमित छैनन् । कहिले म्याराथुन दौडमा भेटिन्छन् त कहिले फुटसल मैदानमा । कहिलेकाहीँ गितार समाएर ‘जीवन हो…घाम छायाँ…’ भन्दै गुनगुनाइरहेका हुन्छन् ।

काठमाडौं उपत्यकामा हुने म्याराथुनमा दौडिएर पटकपटक उपाधि जितेका छन् । हरेक बिहीबार फुटसल खेल्छन् । स्ट्राइकरको भूमिकामा खेल्ने उनी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका प्रशंसक हुन् । रोनाल्डोको कुनै खेल हेर्न नछुटाउने उनी जसरी मेडिकल क्षेत्रमा भएका नयाँ अनुसन्धानमा अपडेट छन्, त्यस्तै फुटबलमा पनि । भन्छन्, ‘सर्जन भनेको एकदम फूर्तिलो हुनुपर्छ ।’

सफल प्रत्यारोपणका लागि टिमवर्क आवश्यक पर्ने भन्दै उनी बारम्बार फुटबलको उदाहरण दिन्छन् । किपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डको टिमवर्कले खेल जितेजस्तै प्रत्यारोपण सफल हुन पनि सबै सदस्यको टिमवर्क हुनुपर्ने बताउँदै भन्छन्, ‘अ गूड प्लेयर विन अ गेम, अ गूड टिम क्यान विन च्याम्पियनसीप ।’

के च्याम्पियनसीप जित्ने टिम छ त भण्डारीसँग ?

उनी सहजै जवाफ दिन्छन्, ‘अवश्य छ । राम्रो टिम नभएको भए त तीन महिनामा तीन वटै प्रत्यारोपण सफल हुन्थ्यो होला र ?’

उनी अघि थप्छन्, ‘५ वर्षको तयारीमा टिमका सदस्यहरुलाई फरक–फरक ठाउँमा पठाएर ट्रेनिङ गराएको थिएँ । यो सबै दीर्घकालीन सोच राखेर गरिएको हो ।’

सपना जस्तै सोच पनि आवश्यकताले जन्मने ठान्छन उनी । भोक लाग्दा खाना खाने, तिर्खा लाग्दा पानी पिउने सोच जस्तै मेडिकल क्षेत्रमा पनि आवश्यकताले नै नयाँ आविस्कार हुने उनी सुनाउँछन् । आवश्यकता र सोचको तालमेलले नै उपलब्धी हात पर्ने भन्दै डा. भण्डारी भन्छन्, ‘आवश्यकता धेरै छ, सोच पनि छ । तालमेल मिल्यो भने धेरै काम गर्न सक्छु होला ।’

वीरेन्द्र सैनिक स्कुलबाट प्लस टू गर्दा उनको लगन देखेर चिन्नेहरुले पनि भन्थे, डाक्टर बन्छस् । उनको सोच पनि डाक्टर बन्ने थियो । त्यो चाहना पछ्याउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस गरेर त्यहीँ पेडियाट्रिक डिपार्टमेन्टमा काम थाले ।

पेडियाट्रिकमै एमडी गर्ने चाहना पूरा गर्न तालमेल मिलेन । सन् २००३ मा ‘एमएस जनरल सर्जरी’ कोर्स गर्न शिक्षण अस्पताल आएका उनले त्यहीँ काम सुरु गरे । त्यहीँ काम गर्दा त हो नि उनलाई कलेजो प्रत्यारोपण गर्ने सोच आएको । त्यही सोचले त हो नि अष्ट्रेलिया ‘फेलोसिफ’ गर्न पुर्‍याएको । अहिले उनलाई चिन्नेहरु भन्छन्, ‘एउटा मान्छेको सोचले कति फरक पार्दो रहेछ धेरै मान्छेको जिन्दगीमा ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment