Comments Add Comment

भ्रमण वर्षमा सरकारले नयाँ केही दिनुपर्‍यो : विद्यासुन्दर

९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी सरकारले कुनै नयाँ घोषणा नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले भने भ्रमण वर्षमा सफा र सुन्दर शहर बनाएर पर्यटकलाई आकर्षित गर्नेै योजना उनले सुनाए ।

‘२०२० मै किन नेपाल जाने त भन्नेबारे त केही न केही नयाँ घोषणा हुनुपर्ने होला, त्यस्तो केही आएजस्तो लागेन,’ बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा बोलाएको बैठकमा प्रमुख शाक्यले भने, ‘२०१९ मा भ्रमण वर्ष किन भएन, २०२१ मा किन हुँदैन, किन २०२० मै भन्नेबारे बुझाउन सक्नुपर्छ ।’

उनले प्रवर्द्धन र प्रचारका कार्यक्रमलाई मुलुकभित्र भन्दा विदेशमा केन्द्रित गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

‘स्वदेश आउने पर्यटकलाई त हामी सेवा दिइहाल्छौं नी,’ उनले भने, ‘अब धेरै विदेशी नेपाल आउने गरी प्रवर्द्धन गर्नुपर्‍यो ।’

उनले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहसँगको समन्वयमा नेपाल चिनाउने सांस्कृतिक झाँकी तथा कलाकार विदेश पठाएर मुख्य–मुख्य शहरमा प्रदर्शनी गर्न प्रस्ताव समेत गरे ।

‘८/१० करोड खर्च होला, तर त्यसले भोलि १ अर्ब आम्दानी हुने गरी पर्यटक आउन सक्छन् नी,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले सफा र सुन्दर शहर बनाएर भ्रमण वर्षमा सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

‘ब्यूटिफिकेशनमा हामीले काम गरिरहेका छौं, बौद्ध र पशुपतिमा बाटोका कारण केही समस्या छ, स्वयम्भु र वसन्तपुर हेर्न लायक बनिसकेका छन्,’ उनले भने । उनले प्रवर्द्धनमा सञ्चारमाध्यमको अधिकतम उपयोग गर्न समेत केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment