Comments Add Comment

प्रदेश १ ले १० लाख पर्यटक भित्र्याउने

९ पुस, विराटनगर । प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० मा १० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ । यही पुस १६ गते १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।

समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी १० हजार जनाको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिने जनाएको हो ।

नेपाल सरकारले प्रवर्द्धनकालागि पहिचान गरेको सय मुख्य पर्यटकीय गन्तव्यस्थलहरु मध्ये प्रदेश १ मा १६ वटा छन् । ती गन्तव्यस्थलसम्म पर्यटकहरुलाई पुर्‍याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको प्रवर्द्धन समितिका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियतले जानकारी दिए ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा विशेष सामग्री प्रकाशन गर्ने, सामाजिक संघ संस्थाहरुलाई व्यापकरुपमा परिचालन गर्ने र जनवरी १ का दिन पुस १६ गते दिउँसो १२ बजे १० हजारभन्दा बढीको सहभागितामा उद्घाटन समारोहको आयोजना गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति क्रियाशील छ । सोही समितिअन्तर्गत विभिन्न १२ उपसमितिले काम गरिरहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए ।

पर्यटन वर्षको उद्घाटनलाई भब्य बनाउन प्रदेश सरकारले भारतको सिक्कम, मेघालय र बिहार राज्यका मुख्यमन्त्रीसमेतलाई प्रदेश १ मा उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।

तर भारतीय राज्यहरुबाट मुख्यमन्त्रीको उपस्थिति भने नहुने देखिएको छ । परराष्ट्र मन्त्रालयमार्फत निम्ता पठाइए पनि उताबाट रेस्पोन्स नआएपछि सरकारले भारतीय पर्यटन व्यवसायीहरुको उपस्थितिमा प्रचार गर्ने योजना अघि बढाएको छ ।

नेपाल भ्रमण वर्षको अवधिमा प्रदेश एकले पाँच लाख पर्यटक ल्याउनु पर्ने छ । तर प्रदेश सरकारले १० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ ।
भारतीय पर्यटकहरुको तथ्यांक राख्ने प्रणाली नभएको र प्रदेश १ मा तेस्रो मुलुकबाट कम पर्यटक आउने भएकोले कति पर्यटकहरु आइरहेका छन् भन्ने यकिन विवरण छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment