Comments Add Comment

त्रिशूलीमा डुबेर बालकको मृत्यु   

९ पुस, विदुर । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।

शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भिर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।

नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए । तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ ।

मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरबाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment