Comments Add Comment

युवकको मृत्युपछि केआई सिंह र भीमदत्त राजमार्ग अवरुद्ध

९ पुस, डोटी । बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको बिषयलाई लिएर के आई सिंह राजमार्ग र भीमदत्त राजमार्ग अवरुद्ध पारिएको छ ।

मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बसले डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका–११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो ।

सो घटनाको विरोधमा मृतकका आफन्त लगायत स्थानीयबासीहरुले सडक अवरुद्ध पारेका छन् । स्थानीयबासीको बिरोधले सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायत अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा बिहानै गन्तव्यतिर हिँडेका यात्रु मारमा परेका छन् ।

पीडित पक्षलाई सम्झाई बुझाई बाटो खुलाउने प्रयास भइरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । ‘उहाँहरुले क्षतिपूर्तिको माग राख्नु भएको छ, यस बिषयमा मैले बस समितिका प्रतिनिधिसंग पनि कुरा गरेको छु’ प्रजिअ पौडेलले भने ‘हामी सम्झाई बुझाइ गरेर बाटो खुलाउने प्रयासमा छौं ।’

उनले जतिसक्दो चाँडो बाटो खुलाउनका लागि पहल भइरहेको वताए । उनले भने ‘मैले सहायक प्रमुख जिल्ला अधिकारी ज्यूलाई सम्वन्धित ठाउँमै पठाएको छु, स्थानीयलाई सम्झाइ बुझाइ गर्ने काम भइरहेको छ ।’

दुर्घटनामा परी ज्यान गुमाएका बोहराको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । मृतकका आफन्तले क्षतिपूर्तिको कुरा नमिलेसम्म शव नउठाउने वताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment