Comments Add Comment

पर्सामा १ वर्षमा ६९ वटा मानव अधिकार उलंघनका घटना

१० पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीमा १६ वर्षीया बालिकाको ललाई फकाई विवाह भयो । ५२ वर्षीय स्वरुप साहले हिरालाल दास तात्वाविरुद्ध ०७६ जेठ २ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरे ।

०७५ फागुन ११ गते बालिकाको बिवाह भएको थियो । प्रहरीले तात्वालाई ०७६ जेठ २५ गते पक्राउ गरी आवश्यक कारबाही अगाडि बढायो । ०७६ असार २५ गते पर्सा जिल्ला अदालतले तात्वालाई १ लाख ५५ हजार धरौटी लिएर तारेखमा रिहा गर्‍यो।

प्रहरीले वीरगञ्ज महानगरपालिका–९ घण्टाघर निवासी ४८ वर्षीय अवधकिशोर साहलाई ०७६ असोज ६ गते पक्राउ गर्‍यो । २८ वर्षीया गुडिया देवीलाई बोक्सी अरोप लगाएर अमानवीय ब्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सगोलको परिवारमा अंश मुद्धा परेपछि साहले गुडीयालाई बोक्सी आरोप लगाएर अमानवीय ब्यवहार गरेको अरोप लागेको थियो । गुडियाले पुस १८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । पर्सा जिल्ला अदालतले साहलाई ०७६ कात्तिक १ मा ५० हजार धरौटीमा रिहा गर्ने आदेश दियो ।

१८ वर्षीया युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले पकाहा मैनपुर गाउपालिका वडा नं २ बस्ने २३ वर्षीय दशरथ दासलाई ०७६ भदौ १८ गते पक्राउ गर्‍यो । दासले ती बालिकालाई बिन्दवासिनी गाउँपालिकाको बिभिन्न स्थानमा मात्रै नभएर काका नाता पर्ने शंकर दासको घरमा जबरजस्ती करणी गरेको दाबी युवतीको थियो ।

युवतीका बुवाले भदौ १८ मा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । सोही दिन युवतिको वीरगञ्जको नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला अदालत पर्साले असोज ८ गते दासलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गर्ने आदेश गर्‍यो । मुद्धाको अन्तिम फैसला आउन बाँकी छ ।

यी त प्रतिनिधि घटना हुन्, पर्सामा एक वर्षमा मानव अधिकार उलङ्घनका ६९ वटा घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) पर्साले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठीमा जिल्लामा एक वर्षमा ६९ वटा मानव अधिकार उलङ्घनका घटना भएको जानकारी दिएको हो ।

इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७५ पौष १८ गतेदेखि २०७६ पुस १० गतेसम्म बलात्कारका ४४ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् । बलात्कार प्रयासका ३ वटा उजुरी छन् । बलात्कारमा पनि १८ वर्ष भन्दा कम उमेरका बालिका माथि भएको बलात्कारका २५ वटा घटना छन् ।

जबकी मुलुकी अपराध संहिताले अठार वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै हुने करणीलाई समेत जबर्जस्ती करणी मानेको छ । उमेर समूहका आधारमा करणी गर्नेविरुद्ध ५ वर्षदेखि आजिवन काराबासको सजाय तोकेको छ ।

त्यसैगरि हत्याका ८, बहु विवाहका ६, मानव बेचविखनका ४, बाल विवाहका २, बाल यौन दुराचारका २ वटा घटना छन् । एक वर्षमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, अपहरण, मानव बेचविखन, बहु विवाह, बाल विवाह, लगायतका ६९ वटा दर्ता भएको इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानेले बताए ।

‘यो वर्ष बलात्कारका घटना ह्वात्तै बढेको अभिलेखबाट देखिएको छ । बहुविवाह विरुद्ध उजुरी परेका छन् । मानव बेचबिखनका घटना पनि सुरक्षा निकायमा आइका छन ।’ प्रतिनिधि लामिछानेले भने ‘बाल यौन दुव्र्यबहार, एसिड प्रहार, बोक्सी आरोपमा अमानवीय ब्यवहारका घटना पनि यस वर्ष घटे । ५ देखि १८ वर्ष उमेर समूहका बालिका बढी बलात्कारमा परेको तथ्याङ्क छ । १४–१५ बर्षका किशोर र किशोरी त प्रेममा परेर भागेको पनि देखिन्छ, तर त्यो भन्दा कम उमेरका बालिका आफन्तजन, नजिकका मान्छेहरुबाटै बलात्कृत भएका छन् । यो एकदमै दर्दनाक अवस्था हो ।’

इन्सेक पर्साको २०१८ को तथ्याङ्क हेर्ने हो भने पर्सामा १८ वर्ष मुनिका बालिका बलात्कारको १८ वटा घटना सहित २३ वटा बलात्कारका उजुरी प्रहरीकोमा परेको थियो । ‘अपराध नसहने प्रवृत्तिसँगसँगै समाजमा कानुन प्रति विश्वास बढेको तथ्याङकले देखाउँछ ।’ नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष समेत रहेका लामिछानेले भने ।

यो पनि पढ्नुहोस पर्सामा २९ वटा मानवअधिकार उलंघनका घटना

समीक्षा गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले प्रहरी अपराध नियन्त्रणमा नेपाल प्रहरी ९४ प्रतिशत सफल रहेको बताए । ‘खुल्ला सीमा भएका कारण सुरक्षा व्यवस्थामा केही चुनौती छ । तर पनि प्रहरी सक्रियता बढाएर अपराध नियन्त्रणको निरन्तर प्रयास भइरहेको छ ।

अपराध अनुसन्धानमा पनि सफल छ, यस क्षेत्रमा अपराध नियन्त्रणमुखी अभियान सञ्चालन आवश्यक छ । उनले मानव अधिकारको न्यूनतम क्षति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment