Comments Add Comment

सुरक्षण मुद्रण जिटुजीबाट गर्न सञ्चार मन्त्रालयलाई अनुमति

१० पुस,काठमाडौं । सरकारले नोटदेखि पासपोर्टसम्म स्वदेशमै छाप्नका लागि आवश्यक सुरक्षण मुद्रण उपकरणहरु सरकार–सरकारबीचको समझदारीमा (जिटुजी)बाट खरिद गर्ने निर्णय गरेको छ ।

निजी कम्पनीसँग खरिद गर्दा मूल्यदेखि गोपनीयतासम्मको प्रश्न उठ्ने भएकाले जर्मनी वा फ्रान्समध्ये एउटा देशको सरकारसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा फ्रान्स र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये उपयुक्त प्रस्ताव स्वीकृत गर्ने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ । सार्वजनिक खरिद नियमावली बमोजिम जिटुजी बिधिबाटै खरिद गरिने मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

सुरक्षण मुद्रणसम्बन्धी उपकरणभित्र प्रेस सम्बन्धी मेसिन, औजार, प्रविधि, प्रणाली तथा अन्य भौतिक निर्माणसमेत पर्नेछन् । सुरक्षण मुद्रण उपलब्ध गराउन फ्रान्स र जर्मन सरकारले प्रस्ताव पठाएका छन् ।

दुई देशमध्ये जसको प्रस्ताव नेपालको लागि उपयुक्त हुन्छ त्यसैलाई छनौट गरिने मन्त्री बास्कोटाले बताए । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले खरिदसम्बन्धी सम्झौतानै नभई लेखा समितिले स्पष्टिकरण लिन बोलाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आफूले ठेक्का नपाउने देखिएपछि लेखा समिति र मिडियामा गएर एकतर्फी हल्ला चलाउने प्रचलन बढेको उनले बताए । सरकारसँगै खरिद गर्दा विश्वसनीयता हुने भएकाले जिटुजीमार्फत खरिद गर्न लागिएको उनले बताए । तर पछिल्लो समय आफूले कुनै ब्यापार ठेक्कापट्टा नपाउने भएपछि सरकारलाई निर्णय नै गर्न नदिने खालका प्रवृत्ति देखिएको र त्यस्तो दलालहरुले मिडिया प्रयोग गर्ने गरेको मन्त्रीको आरोप छ ।

उनले भने ‘सरकारले केही गर्न नहुने हो भने सरकार चाहियो ? पुलिसलाई हात हतियार किन किन्यो भनेर समेत प्रश्न उठाउन थालिएको छ । सेनालाई एम १६ अमेरिकाबाटै किन ल्याइयो भन्ने प्रश्न उठ्ला । एम १६ अमेरिकामै बन्छ त कहाँबाट ल्याउने ? स्याटेलाइट सम्बन्धी कुरा पनि चलिरहेको छ । म भन्छु मिडिया मालिकहरु स्वार्थ समूहबाट चल्नु भएन ।’

मन्त्री बास्कोटाले गोकर्ण रिसोर्ट प्रकरणमा एकतर्फी समाचार लेखेको भन्दै सन्तुलित हुन सञ्चार माध्यमलाई आग्रह गरे । मन्त्री बास्कोटाले भने ‘सरकारले गरेको निर्णयमा कानुन नियम नियमावली जे व्यवस्था छ, त्यहि अनुसार छ । अब त्यो रिसोर्ट अर्कोलाई चाहिएको थियो होला, अर्कैले लिइदियो भने के गर्न सकिन्छ र ? पख्नुस् न २०/३० वर्ष ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment