Comments Add Comment

संसद बैठक सूचना टाँसेर स्थगित

११ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित भएको छ ।

शुक्रबार १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ ।

सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । नेकपा अध्यक्ष पुष्पकमल प्रचण्ड बिहीबार चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो । तर प्रचण्डले काठमाडौं फर्किने कार्यक्रम रद्ध गरेपछि पार्टीमा छलफल हुन पाएन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन । प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री ओली भने सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । अब संसद झनै पेचिलो बन्ने भएकाले आफूले भर गर्ने र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना रहेको उनी निकट एक नेताले बताए ।

प्रचण्डलाई सभामुख नछाड्न पार्टीभित्रका पूर्वमाओवादीका केही नेताहरुको दबाब छ । प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेको बताइन्छ । सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र पम्फा भुसाल पनि छन् ।

पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजिनामा पनि सरेको छ । सभामुखमा टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा राजीनामा दिने उनको तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment