Comments Add Comment

‘भारतीय गाडीमाथि रोक सिन्डिकेट होइन, सुधार हो’

'एकराते पर्यटक'ले पोखरालाई कुनै फाइदा हुँदैन

१२ पुस, पोखरा । करिब २ वर्षअघि मुस्ताङमा बाहिरी सवारी साधन लैजान नपाइने र त्यहीँका स्थानीय बस प्रयोग गर्नुपर्ने ‘यातायात सिन्डिकेट’ थियो । मुस्ताङमा सिन्डिकेट हुँदा पोखराबाट जाने स्वेदशी तथा विदेशी पर्यटक समस्यामा परेको भन्दै पोखरेली पर्यटन यातायात व्यवसायी समितिले विरोध गरेको थियो ।

पछि सो सिन्डिकेट हट्यो र सबै प्रकारका बस मुस्ताङ निर्वाध रुपले आउजाउ गर्न पाए । मुस्ताङ जाने बसमाथि एकाधिकार जमाएको आरोप लगाएको पोखरेली पर्यटन व्यवसायीले अहिले सोही किसिमको निर्णय गरेको छ- ‘भारतीय सार्वजनिक बसबाट साइट सिन हेर्न पाइँदैन, स्थानीय यातायातका साधन प्रयोग गर्नुहोस् ।’ यसको अगुवाई गरेको छ, पोखरा पर्यटन परिषदले ।

भ्रमण वर्ष २०२० को मुखमा भारतीय सार्वजनिक बसमाथि रोक लगाउँदा पर्यटकको आगमनमा कस्तो असर पर्ला ? के यो निर्णय लिनु उचित थियो ?  पोखरा पर्यटन संघसंस्थाका छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलसँग अनलाइनखबरकर्मी विकास रोकामगरले गरेको कुराकानी ।

नेपालमा आउने ४० प्रतिशत पर्यटक भारतीय हुन्छन् भनेर तपाईंहरु नै भन्नुहुन्छ । नेपाल भ्रमण वर्ष घोषणा हुन अब केही दिनमात्रै बाँकी छ । यसबेला आएर परिषदले किन यो निर्णय लिनु पर्‍यो ?

हामीले राम्रो काम गर्दागर्दै पनि बाहिर गलत सन्देश गयो । यसलाई सही ट्रयाकमा ल्याउन जरुरी छ । हामी राम्रा कुरा टिपेर राम्रो माला बनाउन जानेनौं । सधैं नराम्रै मालामा अल्झिइरह्यौं ।

अब भारतीयमात्रै नभनौं । ठूला सार्वजनिक सवारी साधन भनेका हौं । तिनै ठूला सवारी साधनका भरमा पोखरामा साइट सिन गर्न खोजियो । तिनीहरुले विन्ध्यवासिनी मन्दिर र गुप्तेश्वर गुफाबाहेक केही पनि देखाउने भएनन् । यसले पोखराका वरिपरि भएका अन्य पर्यटकीय गन्तव्य ओझेलमा परे ।

पोखरामा नयाँ-नयाँ पर्यटकीय ठाउँ विकास हुँदैछन्, त्यसबारे जानकारी दिनु पनि पर्यटन परिषदको काम हो । पोखरा आएर २ ठाउँमात्रै घुमेर फर्किंदा वास्तविक पोखराको अनुहार देखिँदैन । पोखरा हिमाल र तालमात्रै हेर्न आउने त होइन, अरु पनि छन् ।

अर्को कुरा भनेको पर्यटकको बसाइँ दर हो । उनीहरुलाई जति धेरै पोखरामा बसाल्न सकियो त्यति धेरै प्रतिफल लिन सकिने हो । एकराते पर्यटक आएर पोखरालाई कुनै फाइदा हुनेवाला छैन । पोखरालाई नजिकबाट चिन्न त धेरै बस्नु पर्‍यो । त्यसका लागि मुख्य समस्याका रुपमा ठूला सवारी साधन भइदिए । ठूलो बस छोड्दै नछाडेपछि कसरी हुन्छ ।

ठूला बसले पार्किङदेखि दुर्घटनासम्मको समस्या निम्त्याए । उनीहरुले ठूला बस छोडेर यहाँका साना गाडी प्रयोग गरेमात्रै लेन्थअफ स्टे बढ्ने हो । पोखरा एक रातमै सकिने ठाउँ होइन नि !

बाह्य सवारी साधन रोकेर संस्थालाई के फाइदा हुन्छ त ? ठूला बसबाट ओर्लिएर मात्रै बसाइँ दर बढ्छ भन्ने ग्यारेन्टी त छैन होला नि ?

यसमा संस्थाको कुनै इन्ट्रेस्ट जोडिएको छैन । फाइदा भनेको पर्यटन व्यवसायीलाई नै हो । लेन्थअफ स्टे जरुर बढ्छ । जब उनीहरुले पोखरालाई नजिकबाट चिन्न थाल्छन्, त्यसपछि बढ्छ ।

लेन्थ अफ स्टे बढ्यो भने होटेलको व्यापार बढ्छ, रेस्टुरेन्टको व्यापार बढ्छ, यहाँको भेइकलले काम पाउँछन्, कपडा पसलदेखि किराना पसलसम्मको व्यापार बढ्छ । यसले छुने पाटा धेरै छन् ।

त्यही गाडीमा आयो, त्यही गाडीमा फर्किने भने त पर्यटक आएको के काम लाग्यो ? पर्यटन खाली देख्नका लागिमात्रै होइन नि ? त्यो त पैसा आउने ठाउँ पनि हो । हाम्रो धारणा भनेकै त्यही हो । अब यसलाई कसरी बुझ्नुहुन्छ !

केही समयअघि मुस्ताङमा पनि बाहिरी गाडीमाथि रोक लगाइएको थियो । त्यतिबेला सिन्डिकेट भयो भनेर पोखरेली पर्यटन यातायात व्यवसायी नै बढी विरोधमा उत्रेका पनि थिए । त्यो घटना र यो प्रसंगबीच केही ‘कनेक्सन’ पो छ कि ?

प्रष्ट छ त्यो र योमा कुनै कनेक्सन छैन । हामीले कुनै सिन्डिकेट लागू गर्न खोजेका होइनौं ।

भारतीय पर्यटकहरु हाम्रो पर्यटनका मूल आधार हुन् । नेपालमा आएका ११ लाख पर्यटकमध्ये २ लाख त भारतका मात्रै छन् । त्यति मेजर भ्यालु बोकेको पर्यटन बजारलाई माइनस गर्ने पक्षमा छैनौं ।

यो एउटा व्यवस्थापनमात्रै हो । सिन्डिकेट होइन । यसबाट उनीहरुलाई नै फाइदा छ । पोखरालाई राम्रोसँग चिन्ने मौका पाएका छन् । यो कुनै ठूलो विषय नै होइन । कसैलाई बाजा बजाउनुपर्ने विषय होइन ।

पोखरामा भारतीय गाडी रोक हुनुमा पर्यटन यातायात समितिको केही भूमिका छ र यसमा ?

पर्यटन यातायात व्यवसायी समितिको भूमिका छ । यहाँको टयाक्सी, नगरबसको जस्तो भूमिका छ उनीहरुको पनि त्यस्तै भूमिका छ ।

उनीहरु हरियो नम्बर प्लेटमा गुड्छन् । ठूला गाडीहरु ‘नाट्टा’ अन्तर्गत चल्छन् । साना गाडीहरु नेपाल टुरिस्ट भेइकल एसोसिएसन अन्तर्गत चल्छन् । साइट सिनमा ठूला बस प्रयोग हुन थालेपछि हरियो नम्बर प्लेटका साना गाडी कामविहीन हुन्छन् । यसले त उनीहरुलाई फाइदा पुग्दैन ।

जब विदेशी ठूला गाडी नचलेर साना गाडी लिनुपर्ने हुन्छ । तब उनीहरु काम आउँछन्, यही हो भूमिका । योभन्दा अर्को इन्ट्रेस्ट छैन ।

रोक नै लगाउनुपर्ने जरुरी थियो र ? अरु किसिमले पनि त व्यवस्थापन गर्न सकिन्थ्यो नि ?

अहिलेलाई भारतीयमात्रै नभनौं । स्वदेशी या विदेशी ठूला भेइकलले साइट सिन गराउँदा पोखरा छुट्यो । हामीले यहाँ आउन रोक लगाएको होइन, ठूला बस नल्याउन आग्रह गरेका हौं ।

यहाँ कि भारतको भन्नुहोस्, कि चीनको या थर्ड कन्ट्रीको भन्नुहोस् । कुनै पनि पर्यटकलाई निरुत्साहित गराउने पक्षमा छैनौं । उनीहरुलाई व्यवधान खडा गर्ने कल्पना पनि गर्न सक्दैनौं । मात्रै त्यहाँबाट आएका पर्यटकलाई पोखरा राम्रोसँग चिनाउन भनेका हौं ।

ठूला बस नल्याऊ भनेको होइन, हाम्रा बाटा साँघुरा र साना छन् त्यसलाई कुनै ठाउँमा व्यवस्थापन गर र पोखरा मजाले घुम भनेको हो ।

पोखरामा त अरु देशका गाडी पनि देखिन्छन् । भारतीय गाडी भनेरै किन तोकियो त उसो भए ?

सुरुमा हामीले भारतीय गाडीमात्रै भन्यौं । तर, अब सबै विदेशी गाडी भनेर अर्को विज्ञप्ति निकाल्दैछौं । एउटामात्रै मुलुकको नाम तोक्दा केही गलत सन्देश गएको पक्का हो । अब गल्ती सुधार गर्दैछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment