Comments Add Comment

दुग्ध किसानलाई मुख्यमन्त्रीको सुझाव : निर्वाहमुखी हैन व्यवसायिक उत्पादनमा जानुस्

१२ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्वाहमुखी पेशा छाडेर व्यवसाययिक उत्पादनमा जान दुग्ध किसान र डेरी व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले एक-एक जनाले निर्वाहमुखी तरिकाले पेशा व्यवसाय गर्नुको साटो सामूहिक लगानीमा ठूलो मात्रामा व्यवसायिक उत्पादनमा जान सुझाव दिएका हुन् । नेपाल डेरी एशोसियसनको २१  औ केन्द्रीय साधारण सभाको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुग्धजन्य वस्तुको व्यवसायिक उत्पादन, उत्पादनको विविधिकरण र ब्रान्डीङ गर्न सुझाव दिए ।

‘सानो लगानी र निर्वाहमुखी व्यवसाय छाडेर सामूहिक र ठूलो लगानी अनि व्यवसायिक उत्पादनमा जानुको विकल्प छैन’,मुख्यमन्त्री पोखरेलले भने-‘सामूहिक लगानी र व्यवसायिक उत्पादनबाट मात्रै उत्पादन लागत कम, मुनाफा बढी अनि गुणस्तर र मुल्यमा प्रतिस्पर्धा गर्न सकिन्छ ।’

दुग्धजन्य पदार्थ बालकदेखि बृद्धसम्म सबै उमेरका जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएकाले उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न व्यवसायीलाई मुख्यमन्त्रीले सुझाए ।

मुख्यमन्त्री पोखरेलले दूधको मूल्य पाएनौं भनेर दुध पोख्नु गलत भन्दै बरु विद्यालयमा गएर बालबालिकालाई वितरण गरेर पनि रचनात्मक विरोध गर्न सुझाव दिए । डेरी व्यवसायीले किसानलाई पनि सहभागी गराएर दानादेखि दुध उत्पादन, बजारीकरण र उत्पादकत्वमा समेत वृद्धि गर्न सकिने मुख्यमन्त्रीले सुझाए ।

अनुदानमा हुन सक्ने दुरुपयोग रोक्न प्रदेश सरकारले किसानलाई विना व्याजमा कर्जा प्रदान गर्ने गरी बैंकहरुसंग छलफल अघि बढाएको मुख्यमन्त्रीले उल्लेख गरे ।  कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन वानियाले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्राउन खोज्नु गलत भएको धारणा राखे । राष्ट्रिय सभा सदस्य लालकुमार केसीले दुग्ध किसानहरुको हक हितको लागि सरकार गम्भिर बन्नुपर्ने बताए ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारीले धानपछि कृषि षेत्रमा दुधको योगदान बढि रहेको उल्लेख गर्दै सरकारी संस्थान र नीजी व्यवसायीहरुबीचमा प्रतिष्पर्धा नगरी सहकार्य गरेर जानुपर्ने बताए ।

कार्यक्रममा नेपाल डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डेरी व्यवसायीका समस्या सम्बोधन गर्न संघीय, प्रदेश र स्थानीय सरकार इमान्दार  बन्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट डेरी व्यवसायीहरुलाई सम्मान गरिएको प्रदेश ५ का संयोजक कृष्णप्रसाद भट्राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment