Comments Add Comment

यसरी हुँदैछ भ्रमण वर्षको उद्घाटन

६ देशबाट मन्त्री आउने निश्चित

१३ पुस, काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आउँदो बुधबार (१ जनवरी २०२०) देखि शुभारम्भ हुँदैछ । दशरथ रंगशालामा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्नेछिन् ।

उद्घाटन समारोहलाई भव्य बनाउन भ्रमण वर्ष सचिवालयले भरपुर कोशिस गरिरहेको छ । पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन समारोहले नै अन्तर्राष्ट्रियस्तरमा भ्रमण वर्षको चर्चा हुने दावी गरेका छन् । सचिवालयका अनुसार उद्घाटनमा मात्र करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

कार्यक्रमको तालिका अनुसार दिउँसो ३ बजेबाट आगन्तुकहरु रंगशाला प्रवेश गर्नेछन् । साँझ ४ बजे राष्ट्रपतिसहित अतिविशिष्ट पाहुना आइपुग्ने तालिका बनाइएको छ । समारोहमा पर्यटनमन्त्री योगेश भट्टराईले स्वागत भाषण गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन रहनेछ । त्यसपछि परेडको कार्यक्रम राखिएको छ ।

समारोहमा भाग लिन आएका विदेशी पाहुनाले समेत सम्बोधन गर्ने सचिवालय स्रोतले बतायो । उद्घाटनमा सांगीतिक कार्यक्रमसहित विभिन्न प्रस्तुतिहरु राखिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । सांस्कृतिक संस्थानले समेत सांगितिक प्रस्तुति दिनेछ ।

विदेशी पाहुना को को ?

उद्घाटन कार्यक्रममा विभिन्न देशबाट बढीभन्दा बढी विशिष्ट पाहुना सहभागी गराउनेमा मन्त्री भट्टराईले जोड लगाउँदै आएका थिए । तर, अहिलेसम्म ६ देशबाट मात्र मन्त्रीस्तरीय सहभागिता निश्चित भएको छ ।

मन्त्री भट्टराईको निर्देशनअनुसार भ्रमण वर्ष सचिवालयले ४० भन्दा बढी मुलुकका पर्यटनमन्त्रीलाई समारोहमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । उनीहरुमध्ये अधिकांशबाट सकारात्मक जवाफ नआएको सचिवालय स्रोतले जनायो । मन्त्री भट्टराईले अहिलेसम्म चीन, भारत, म्यानमार, जमैका, कम्बोडिया, भुटान र कतारबाट पर्यटनमन्त्री आउने निश्चित भएको बताएका छन् ।

१ जनवरीमा धेरै मुलुकमा नयाँ वर्ष मनाइन्छ । उनीहरुले त्यसबेला गर्ने भ्रमणको पूर्वतयारी गरिसकेका हुन्छन् । त्यसकारण नेपालको निमन्त्रण ढिलो पुग्दा पनि कतिपय मुलुकले उच्चपदस्थ व्यक्तिलाई नेपाल पठाउन नसकेको प्रतिक्रिया दिएका छन् । विदेशमा नयाँ वर्षमा हुने रौनककै कारण नेपाल बाहेकमा मुलुकमा भ्रमण वर्षको शुभारम्भ समेत ७ जनवरीमा आयोजना हुँदैछ ।

भ्रमण वर्ष मुल आयोजक समितिले परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित कूटनीतिक नियोग, दूतावास र गैरआवासीय नेपालीसँग सम्भव भएसम्म उद्घाटनमा उक्त मुलुकका राष्ट्रप्रमुख, सेलिब्रेटी, पत्रकारहरुलाई सहभागी गराउन निर्देशन दिएको छ ।

‘यसबेला धेरै देशमा बिदा हुने भएकाले सोचजति पाहुना आउन नसक्नु भएको हो,’ मन्त्री भट्टराईले अनलाइनखबरसँग भने, ‘त्यसकारण हामीले विदेशमा हुने उद्घाटनलाई समेत उत्तिकै महत्व दिएका छौं ।’

६५ करोड बजेट

भ्रमण वर्ष अवधिभर सरकारले कूल ६५ करोड रुपैयाँ बजेट छुट्याएको छ । भ्रमण वर्ष सचिवालयका अनुसार उद्घाटनमा मात्र करीव दुई करोड बजेट खर्च हुने अनुमान छ । ‘संसारमा अन्य मुलुकले गर्ने खर्चको तुलनामा हामीले निकै कम खर्चमा आयोजना गर्दैछौं,’ मन्त्री भट्टराईले भने, ‘कम खर्चमा पनि धेरै काम हुनेछन् ।’ भ्रमण वर्षका दौरान वर्षभर विविध कार्यक्रम आयोजना हुँदैछन् ।

भ्रमण वर्षको अवसर पारी विभिन्न निजी क्षेत्रका संघसंस्थाले छूट तथा सहुलीयत प्याकेज घोषणा गरेका छन् । तर, सरकारबाट भने अझै पनि कुनै प्याकेज घोषणा भएको छैन । सरकारले यसको तयारी भने गरिरहेको मन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार हिमालमा रोयल्टी छूटलगायत घोषणाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment