Comments Add Comment

ए डिभिजन लिगको चौथो चरणका खेल दशरथ रंगशालामा नहुने

१३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा लिगको खेल गरिरहेको छ ।

तर दशरथ रंगशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकोले चौथो चरणको सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो ।

आगामी बुधबार नयाँ वर्ष २०२० को अवसरमा रंगशालामा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम दशरथ रंगशालामा गरिँदैछ ।

चौथो चरण अन्तर्गत सोमबार दुई खेल हुनेछन् । जसमा मछिन्द्र क्लब र न्यू रोड टिम (एनआरटी) बीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ । यस्तै मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

यसअघि तेस्रो चरणमा पहिलो खेल १२ बजे र दोस्रो खेल ३ बजे सुरु हुन्थ्यो । चौथो चरणमा खेलको समयमा पनि परिवर्तन भएको छ ।

चौथो चरणको सबै खेलको समय यसै अनुसार हुने एन्फाले जनाएको छ । सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले लिग फुटबल सातदोबाटोमा सारिएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

एन्फाले लिगको पाँचौ र छैटौँ चरणको खेलहरुको स्थान समय फेरबदल गरेको छ । अब पाँचौ र छैटौँ चरणको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइने भएको छ ।

लिग डिरेक्टर सञ्जीव मिश्रले पूर्वाधार अभावका कारण स्थान फेरबदल गर्नुपरेको बताए । एन्फा कम्प्लेक्समा एउटा मात्र ड्रेसिङ रुम रहेकाले एकै दिन दुई खेल हुँदा बीचमा समय चाहिने भएकोले पहिलो खेलको समय साढे ११ मा राखिएको बताए ।

उनले पाँचौँ र छैटौँ चरणका खेलहरु महत्वपूर्ण भएकोले दशरथ रंगशालमै खेलाउन लागिएको बताए । ‘तेस्रो चरणको अन्तिम खेलमा थ्री स्टार र एपीएफबीच खेल हुँदा रंगशालामा दर्शकको संख्या बढेको थियो । त्यसले एउटा माहोल ल्याएको छ’ मिश्रले भने, ‘त्यसैले अब पाँचौ र छैटौँ चरण लिगको क्लाइमेक्स हो र त्यसमा भाइटल म्याचहरु पनि हुन्छ त्यसैले दशरथ रंगशालामा खेलाउन लागिएको हो ।’

ए डिभिजन लिगमा कूल १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । कूल ९१ खेल हुने लिगमा एक चरणमा ७ खेल हुनेछ । जसमा तीन दिन २-२ खेल हुनेछ भने एक खेल १ खेल मात्र हुनेछ ।

लिगमा अहिलेसम्म तीन चरणको कूल २१ खेल भइसकेका छन् । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सबै तीन खेल जित्दै ९ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । कुनै गोल नखाएको मनाङ यस सिजन लिगमा खेलेको सबै खेल जित्ने एक्लो टिम हो । यस्तै मनाङलाई पछ्याइरहेको थ्री स्टारले ७ अंक जोडेको छ । अपराजित थ्री स्टारले २ खेल जित्दा १ खेल बराबरी खेलेको थियो ।

फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबले अहिलेसम्म जित हात पार्न सकेको छैन । सरस्वती क्लबले गोलको खातासमेत खोल्न सकेको छैन ।

सोमबारको खेल

एनआरटी विरुद्ध मछिन्द्र क्लब : बिहान ११:३० बजे

फ्रेण्ड्स विरुद्ध मनाङ मर्स्याङ्दी क्लब : दिउँसो ३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment