Comments Add Comment

काठमाडौंमा एलिभेटेड मेट्रो रेल चलाउन डीपीआर तयार गरिँदै 

१५ पुस, काठमाडौं । सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो ।

यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिए । उनका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन तयार गर्नेछ ।

यो परियोजनामा डीपीआरका लागि विभागले चाइना रेल्वे सियुआन एन्ड डिजाइन ग्रुप, डीओएचडुब्लुए-डीएमईसी जेभी, सिस्त्रा मेनहाडर्ट जेभी, दोम उदय जेभी, बार्सिल-युसिन-एफसीबी जेभीलाई सर्ट लिस्टमा राखेको थियो । यीनै कम्पनीमध्ये एउटाले यो परियोजनाको डीपीआर तयार गरेर सरकारलाई बुझाउनेछ ।

यो रुटमा सन् २०११ मा विभागले सम्भाब्यता अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसैगरी विभागले सातदोबाटोबाट खोकना र नारायणगोपालचोकबाट बूढानीलकण्ठसम्म पनि मेट्रो रेल बनाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । त्यसका लागि विभागले परामर्शदाता छनोटको गर्न लागेको छ । सम्भाब्यता अध्ययनपछि मात्रै यी दुई खण्डको डीपीआर तयार गर्ने प्रक्रिया अघि बढ्नेछ ।

कसरी बन्दैछ रेलमार्ग ?

सरकारले दीर्घकालमा बूढानीलकण्ठ-नारायणगोपालचोक-रत्नपार्क-सातदोबाटो-खोकना खण्डमा मेट्रोरेल कुदाउने योजना बनाएको छ । लगानी बोर्डले २०७४ मा गरेको अध्ययनले निर्माण थालेको चार वर्षभित्र काठमाडौंमा रेल गुडाउन सम्भव रहेको देखाएको थियो ।

काठमाडौंमा मेट्रो रेलको सम्भाव्यताबारे अध्ययन गर्न बोर्डले एक उच्चस्तरीय कमिटी गठन गरेको थियो । कमिटीको प्रतिवेदनअनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग सम्भव देखिएको छ, जसको लागत त्यतिबेला करिब तीन खर्ब १६ अर्ब हुने उल्लेख गरिएको थियो ।

अध्ययनले काठमाडौंमा दुईवटा रुटमा रेलमार्ग सम्भव देखाएको थियो । पहिलो प्रस्तावित रुटले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेल जोड्छ भने दोस्रोले बूढानीलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं-तराई द्रुतमार्गको प्रस्थान विन्दु (खोकना) जोड्छ । नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेल जोड्ने रेलमार्गको अध्ययन अहिले लगानी बोर्डले गरिरहेको छ ।

२५ पुस ०७३ को बोर्ड बैठकले सम्भाव्यतासँगै मेट्रोको मोडेल र अनुदानबारे अध्ययनका लागि उक्त कमिटी गठन गरेको थियो । सरकारले यस्तो रेल सार्वजनिक-निजी-साझेदारीअन्तर्गत बुट मोडेलमा निर्माण गर्ने योजना बनाएको छ ।

बोर्डको अध्ययनअनुसार काठमाडौंमा दैनिक ४० लाख यात्रु एक ठाउँबाट अर्को ठाउँसम्म ओहोरदोहोर गर्छन् । ३० लाखभन्दा बढी यात्रुको चाप रहेका शहरमा रेलबाहेकका सार्वजनिक सवारीले धान्न नसक्ने यातायात इन्जिनियरिङको मान्यता छ ।

काठमाडौंमा मेट्रो रेलबारे पटक-पटक अध्ययन भइसकेका छन् । तर, ती कुनै कार्यान्वयन चरणमा प्रवेश गरेका छैनन् । यसअघि जापान सहयोग नियोग (जाइका), रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले अध्ययन गरेका थिए । ती सबै प्रतिवेदनलाई आधार बनाएर बोर्डले सो रिपोर्ट तयार पारेको थियो ।

यसबीचमा भूमिगत रेलमार्गको पनि चर्चा नभएको होइन । तर, बोर्डले भूमिगत पार्किङ नभई एलिभेटेड अर्थात् सडकमाथि पुल राखेर निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको थियो । अध्ययन पनि यसैअनुरुप हुन लागको हो ।

लगानी बोर्डका अनुसार नागढुंगा-धुलिखेल रुट ४५ किलोमिटर र बूढानीलकण्ठ-खोकना ५४ किलोमिटर लम्बाइका हुनेछन् । दुवै मार्गका लागि ३५ मेगावाट विद्युत आवश्यक पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नागढुंगा-धुलिखेल रेलबाट दैनिक एक लाख ५८ हजार र बूढानीलकण्ठ-खोकना रेलबाट दुई लाख यात्रुलाई सुविधा दिन सकिने कमिटीको अनुमान छ । काठमाडौँ महानगरपालिकाले पनि चक्रपथमा मोनो रेल निर्माणको लागि डीपीआर बनाउन एक चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment