Comments Add Comment

रौतहटमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

१६ पुस, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् । सुरेन्द्रको जिल्ला अस्पताल गौरमा र राजेन्द्रको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना ३८ प ५१५३ नम्बरको मोटरसाइकललाई ना ५ त ७३४५ नम्बरको ट्याक्टरले मंगलबार बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ अमखैया जंगलमा गएराति मिनीबस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भारतीय नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको म २ प ९०२७ नम्बरको मोटरसाइकल गएराराति सवा ९ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ३ का ४४ वर्षीय जय बहादुर रानाको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा गएराति नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र मिनीबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर र काठमाडौंमा भएका दुर्घटनामा ३ घाइते

यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे पुल नजिकै गएराति स्कुटर पल्टिँदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक भक्तपुरको लोकन्थली बस्ने १९ वर्षीय सिरेश श्रेष्ठ र पछाडि सवार काठमाडौंको शान्तिनगर बस्ने १८ वर्षीय विमोचन खनाल छन् । घाइते भएका श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा र खनालको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार भैरहेको छ । गएराति करिब सवा ११ बजे, प्रदेश ३, ०२-००४ प ७६६४ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

यस्तै, काठमाडौको तारकेश्वर नगरपालिका ६ जितपुर फेदीमा पनि गएराति साढे १२ बजे, ठेलागाढामा प्रदेश ३, ०२-००३ प २२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । काठमाडौंको जरंखु बस्ने नुवाकोटका २५ वर्षीय मनोहर अधिकारी घाइते भएका हुन् । उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment