Comments Add Comment
स्थलगत रिपोर्ट :

उखु : बाली नगदे, कारोबार उधारो !

ट्याक्टरमुनि किसानको बास

१६ पुस, सर्लाही (हरिवन) । सर्लाहीको हरिवन बजार कटेर पूर्वतर्फ लाग्दै गर्दा दुर्गन्ध आउन थाल्छ । यो गन्ध ईन्दुशंकर चिनी उद्योगको हो । चिनी उद्योग चल्न थालेपछि पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्नेहरूको नाकले यो उद्योगको गन्ध थाहा पाइहाल्छ । राजमार्गबाट सय मिटर भित्र उद्योग छ ।

दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ् गर्ने क्षमताको उद्योग यो वर्ष पुस ११ गतेदेखि सञ्चालनमा आएको छ । मेसिनमा खराबी नआउँदा सिजनमा चाैबीसै घण्टा उद्योग चल्छ ।

मंगलबार मध्यरातमा हरिवन बजार सुतिसकेको थियो । तर, उद्योग परिसरमा चहल-पहल थियो । सर्लाही र आसपासका जिल्लाका किसानहरूले ट्याक्टरमा ल्याएको उखु रातारात कााटा गरेर उद्योगलाई बुझाउँदै थिए ।

कोही किसानहरू पालो पर्खेर चिसो रातमा ट्याक्टरमुनि उखुकै ओछ्यान लगाएर आराम गरिरहेका देखिन्थे भने कोही उखु बोक्ने ट्याक्टरमै निदाएका देखिन्थे । उनीहरू पातलो च्यादर ओढेर सुतेका देखिन्थे । कोही आफ्नै घरबाट ल्याएको परालको आगोमा शरीरलाई न्यानो बनाउने प्रयास गरिरहेका थिए ।

उखुको तौल गराउन घण्टौं लाइनमा बस्नुपर्दोरहेछ । उद्योग परिसरमा लाइन लागेका किसानहरू चिसो छल्न र रात कटाउन आगो ताप्दै गफमा व्यस्त देखिन्थे ।

नजिकका चिनी उद्योगले पैसा नदिएपछि…

सर्लाहीको गोडैता नगरपालिका- १० सिसौटियाका किसान राजकिशोर मण्डल मंगलबार मध्यराति चिसो छल्न उद्योग परिसरमा उखुका पात बालेर ताप्दै थिए । वरिपरि अन्य किसान पनि थिए । उनीहरूको भीडमा हामी अनलाइखबरकर्मी पनि मिसियौं । परिचय सकिएपछि सोध्यौं, ‘गोडैतादेखि किन यति टाढाको मिलमा उखु ल्याएको त ? नजिकै अरु मिल छैनन् र ?’

‘धनकौलमा दुई वर्षअघिकै ५० हजार जति र बगदहमा ३ लाख रुपैयाँ लिन बाँकी छ । चिनी बिकेपछि दिन्छु भनेको, अहिलेसम्म दिएका छैनन्’ मण्डलले भने, ‘बाजेका पालादेखि उखु खेती गर्दै आएका छौं । गरुडा, रामनगर, धनकौल, बगदहका उद्योगमा उखु बेचिसकेका छौं । सबैले चिनी बिकेपछि पैसा दिन्छु भन्छन् । कत्तिले त नदिएरै झुलाउँछन् ।’

इन्दुशंकरले ढिलै भए पनि भुक्तानी दिने गरेकाले ढुवानी खर्च र समय बढी लागे पनि यहीँ उखु ल्याएको मण्डलको भनाइ छ । ‘गाउँमा नजिकै उद्योग छ, त्यहाँ ४० रुपैयाँ प्रतिक्विन्टल खर्च गरेर १ घण्टामा उद्योगमा उखु पुर्‍याउन सकिन्छ । तर, पैसा नदिँदा त्यहाँ उखु दिएर के गर्ने ?’ मण्डलले अनलाइनखबरसँग भने, ‘त्यसैले ८० रुपैयाँ प्रतिक्वीन्टल ढुवानी खर्च गरेर ४ घण्टा समय लागे पनि यहीँ ल्याइयो ।’

लगानी नगदमा, बिक्री उधारोमा

उखु नगदेबालीका रुपमा चिनिन्छ । तर, उद्योगलाई उखु बुझाउँदा किसानले तत्कालै नगद पाउँदैनन् । यसका निम्ति कम्तीमा चार/पाँच महिना कुर्नैपर्ने हुन्छ । उद्योगले उखु क्रसिङ गरेर, चिनी बनाएर बिक्री गर्न थालेपछि मात्रै किसानको खातामा रकम जम्मा गर्न शुरु गर्छ । पुस माघमा उखु बुझाएका किसानले चैत वैशाखतिर भुक्तानी पाउँछन् ।

समयमै बिक्री गर्न नसके उखु खेतमै सुक्ने डर किसानलाई हुन्छ । त्यसैले ऋण गरेरै भए पनि उखु काटेर मिलसम्म पुर्‍याउनुपर्ने बाध्यतामा आफूहरू रहेको किसानले सुनाए ।
चिसो मौसमको मध्यरातमा उखु लिएर मिलमा आएका बागमती नगरपालिका-४ का भुवन प्रसाईंले यस वर्ष ६ विगाहा जग्गामा उखु लगाएको सुनाए । उखु बेच्नका लागि कृषि विकास बैंकमा जग्गा धितो राखेर ३ लाख रुपैयाँ ऋण लिएको पनि उनले सुनाए ।

‘नगदेबाली हो, अरु खेतीमा जस्तो मेहनत पनि छैन भनेर उखु लगाउने गरेको छु’ प्रसाईं भने ‘तर मलखाद, मजदुरको पैसा नगदै तिर्नुपर्छ । उखु भने उधारोमा बिक्री गर्नुपर्छ । कम्तीमा ४/५ महिना लगानी फसाएर बैंकलाई ब्याज दिनुपर्छ ।’

सरकारले दिने भनेको ६५ रुपैयाँ अनुदान अझै नपाएको उनको गुनासो छ । उद्योग परिसरमा फेला परेका अर्का किसान सर्लाहीकै बलरा नगरपालिका ३ का उमेश साह र बसबरियाका हुसनारायण राय पनि खेती गर्ने क्रममा शुरुदेखि नै हाताहाती लगानी गर्नुपर्ने बताउँछन् ।

उखु लगाउने समयदेखि नै गोडमेल, मल किन्न र मजदूरलाई नगदै रकम दिनुपरेको उनीहरूले सुनाए । शुरुमा ऋण गरेरै बाली लगाइए पनि उखु बेच्दा तत्कालै रकम पाउन नसकिएको उनीहरूको गुनासो छ ।

उमेश साहले मलखादको समस्या पनि धेरै झेल्नुपरेको बताए । उनले नेपालमा समयमा मल नपाउँदा भारतबाट झन्झट मोलेर ल्याउनुपर्ने बाध्यता सुनाए ।

चिनी मिलमा भेटिएका किसानहरूका अनुसार एक बिगाहा जग्गामा ४ सयदेखि ५ सय क्वीन्टलसम्म उखु उत्पादन हुन्छ । यसपालि सरकारले ५३६ रुपैयाँ ५६ पैसा प्रति क्वीन्टल मूल्य निर्धारण गरेको छ । इन्दुशंकर सुगर मिलले सरकारी अनुदान बाहेक ४७१ रुपैयाँ प्रतिक्वीन्टलमा चलान पूर्जी काटेको छ ।

सुनसरी, मोरङ, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारालगायत जिल्लामा गरी देशभर १४ वटा चिनी उद्योग सञ्चालनमा छन् । तराईका २२ जिल्लामध्ये १६ जिल्लामा यसको खेती हुने गरेको छ । उखुलाई रासायनिक परिवर्तन गरेर यसको रसबाट चिनी, मिश्री, सख्खर आदि गुलियो पदार्थको उत्पादन गर्ने गरिन्छ । तर, वर्षेनी गुलियो उखु बिक्रीका लागि किसानले खल्लो अनुभव बटुल्ने गरेका छन् ।

तस्वीरहरू : सुमित मिश्र

यो पनि पढ्नुहोस उत्पादन लागत बढ्यो, उखुको मूल्य बढेन यो पनि पढ्नुहोस ‘ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएका हौं’ यो पनि पढ्नुहोस ‘किसानमारा’ चिनी उद्योगलाई सहुलियतमाथि सहुलियत यो पनि पढ्नुहोस सरकार, हामी किसानलाई भोकभोकै मार्ने ? यो पनि पढ्नुहोस उखु उद्योगीको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र यो पनि पढ्नुहोस उखु उद्योगीको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment