Comments Add Comment
प्रधानमन्त्री ओलीसँग बालबालिकाको ‘सपना संवाद’ :

‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने आदर्शको स्रोत मेरी हजुरआमा’

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सपनामात्रै बाँड्ने गरेको आरोप लाग्ने गर्छ । रेल, पानी जहाज, घरघरमा ग्याँसको पाइपलाइन, देशभित्रै पेट्रोलियम पदार्थ उत्खनन्, अनि हावाबाट बिजुली यस्तै यस्तै सपना ।

प्रधानमन्त्री आफैंले भन्ने गरेका पनि छन्–म मुर्छित सपनाहरुलाई ब्युँताउन चाहन्छु । मैले देखेका र देखाएका सपनाहरु पूरा गर्नकै लागि हुन् । सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्नकै लागि हो ।

त्यसो भए प्रधानमन्त्री ओली राति निदाएको बेला कस्ता सपना देख्छन् त ? बुधबार नयाँ वर्षको अवसरमा नेपाल स्काउटले आयोजना गरेको प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रममा बालबालिकाहरुले ओलीसँग सपना संवाद गरे ।

एउटी बालिकाले प्रधानमन्त्रीलाई सोधिन्–हामी सबैलाई कहिले कस्ता सपनाले सताउँछन्, हजुरलाई पनि त्यस्ता नराम्रा सपना कहिल्यै आउने गरका छन् ? हजुर कस्ता सपना देख्नुहुन्छ ?

प्रधानमन्त्रीले भविष्यका कर्णधारमार्फत आफ्नो सपनाबारे खुलस्त बताए । उनले निदाएर देखिने सपनामा आफूलाई विश्वास नभएको भन्दै ननिदाइ देखिने सपनामा आफूलाई भरोस रहेको बताए ।

प्रधानमन्त्रीले सपना कसरी देखिन्छ भनेर बालवालिकालाई वैज्ञानिक तथ्य समेत सुनाए । निदाएपछि देखिने सपनासँग मुटुकको रक्तसञ्चार प्रणालीको सम्बन्ध रहेको भन्दै उनले रक्तसञ्चार राम्रोसँग हुन पाएन वा सुताई मिलेन भने विकृत सपनाहरु देखिने बताए ।

दुईथरी सपनाबारे प्रधानमन्त्रीले बालवालिकासँग यसो भने

हामी सपना भनेर दुई खालका सपनाका कुरा गर्छौं । एउटा निदाएर देखिने सपना, एउटा ननिदाई देखिने सपना । देश विकासको सपना निदाएर देखिने सपना होइन । आफ्ना सन्तानलाई असल र सफल बनाउने सपना निदाएर देखिन्न । निदाएर देखिने सपनाहरुका खासै अर्थ हुन्न । निदाएपछि र अचेतन मनमा आउने असाधारण र विकृत अवस्थाका परिकल्पनाहरु सपना बनेर देखिन सक्छ । कहिले कहिले रक्तसन्चारसँग,कहिले मुटुको अवस्थासँग, मुटु थिचिएर रक्तसन्चार राम्रोसँग हुन पाएन भने, भुटुबाट दिमागमा जाने रक्त प्रवाह मिलेन भने वा दिमागमा रगतको कमीले देखिने सपनाहरु दुस्वप्न हुन् ।

चेलीले सोधेको सपनाहरुको प्रकृतिका प्रश्नमा मैले पनि कहिले अरुले जस्तै सामान्य खालका सपनाहरु सुतेको बेला देख्छु । तर म निदाएर देखेका सपनाहरुमा विश्वास गर्दिन । विपनामा म सपनाहरु देख्ने गर्छु, जुन सपनाहरु यस धर्तिको सुरक्षा कसरी गर्ने ? हाम्रो भविष्य कसरी बनाउने ? बावातारण कसरी जोगाउने, नयाँ पुस्ताको लागि सम्बृद्ध नेपाल कसरी दिने ? त्यसका चित्रहरु बनाइरहेको हुन्छु ।

प्रधानमन्त्रीसँग व्भििन्न विद्यालयका विद्यार्थीले उनको बाल्यकाल, प्रेरणाको स्रोत, उनले देखेका सपनादेखि विद्यार्थीले राजनीति गर्न ठीक कि बेठिक भन्नेसम्मका प्रश्न गरे । प्रधानमन्त्रीले एकएक गरी उनीहरुका प्रश्नको सरल भाषामा जवाफ दिए । उनले भविष्यका राष्ट्रपति, प्रधानमन्त्री र देशका अब्बल नागरिक तपाईहरु नै हो भनी हौस्याए ।

एकजना बालिकाले प्रधानमन्त्रीलाई ‘तपाईको प्रेरणाको स्रोत को हो ?’ भनेर सोध्दा उनी अलि भावुक भए । प्रधानमन्त्री ओली ३ वर्षकै उमेरमा आमा गुमाएर टुहुरो भएका रहेछन् । उनको स्मृतिमा आमाको अनुहार सम्भवत छैन । उनी हजुरआमाको काखमा हुर्किएका रहेछन् । प्रधानमन्त्रीले आफ्नो जीवनको मुख्य प्रेरणाको स्रोत उनै हजुरआमा भएको बताए । आफूलाई सत्मार्गमा लाग्ने र शक्तिसँग नझुक्ने तथा सत्यसँग नलड्ने प्रेरणापनि उनै ममतमयी हजुरआमाबाट प्राप्त गरेको उनले बताए ।

मेरी आमा बित्दा ३ वर्षको थिएँ । मेरो मुख्य आदर्श हजुरआमा रहनुभयो । मैले साँचो बोल्ने,सदव्यवहार गर्ने, परोपकारी धारणा राख्ने,मान्छेलाई माया गर्ने कसैप्रति भेदभाव नराख्ने गुणहरु हजुरआमाले सिकाउनुभयो ।

श्रमलाई माया गर्ने, मेहनति हुनुपर्छ भन्ने र हामीले केही राम्रो काम गर्नुपर्छ र अरुको नजरमा नगिर्ने खालको ,अरुले नराम्रो नभन्ने खालको काम गर्नुपर्छ भन्ने शिक्षा र प्रेरणा मैले हजुरआमाबाट प्राप्त गरेँ । मेरो प्रेरणा मेरी हजुरआमा हो । हुन त अरु अभिभावक र शिक्षक शिक्षिकाहरुबाट पनि प्रेरणा पाएँ ।

मैले अहिले जुन भन्ने गर्छु, शक्तिसँग डराउनु हुँदैन,शक्ति आवधिक र अस्थायी हुन्छ,सत्य अस्थायी हुँदैन । सत्यको पालना गर्नुपर्छ त्यो कुरा मैले मेरी हजुरआमाबाट सिकेको थिएँ । मेरो जीवनमा सत्यसँग नलड्ने,शक्तिसँग नझुक्ने आदर्श हजुरआमा हो । मेरो जीवनलाई प्रभावित गर्ने मूल प्रेरणा हजुरआमाबाट प्राप्त गरेको हो ।

प्रधानमन्त्रीले आफ्नो बाल्यकालका दुःख र त्यो बेलाको नेपालको अवस्थाबारे पनि सुनाए । उनले दुःख कष्ट सहेर राजनीतिक संघर्षमा उत्रिएको क्षण सम्झिँदै प्रधानमन्त्री बन्ने सपना आफूले त्यो बेला नदेखेको बताए । प्रधानमन्त्रीले आफू सामान्य मान्छे भएको पटक पटक बताए ।

उनले साना बालवालिका र विद्यार्थीहलाई पढाइमै केन्द्रित हुन तर राजनीतिबारे जानकारी राख्न सुझाव दिए । भविश्यमा देशको जिम्मा लिने पुस्ताले राजनीतिबारे जानकारी राख्नुपर्ने, तर पढाइ छाडेर राजनीति गर्न नहुने सुझाव उनले दिए ।

नयाँ वर्षको अवसर पारेर नेपाल स्काउटले प्रधानमन्त्रीसँग बिभिन्न विद्यालयका बालवालिकाको साक्षात्कार गराएको स्काउटका सदस्य सचिव लोकवहादुर भण्डारीले बताए । भविष्यका कर्णधारसँग साक्षात्मकार गर्न पाउँदा आफू खुसी भएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्रीसँगै प्रथम महिला राधिका शाक्य पनि थिइन् ।

नियमित मृगौलाको डायलासिस गराइरहेका प्रधानमन्त्री ओली एपेण्डिक्सको शल्यक्रियापछि बालुवाटारभन्दा बाहिर सार्वजनिक कार्यक्रममा निस्किएको यो पहिलो हो । बालवालिकासँग प्रधानमन्त्री कार्यक्रम प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको थियो ।

प्रधानमन्त्रीसँगका बालबालिकाका केही प्रश्नोत्तर

प्रधानमन्त्रीज्यू,तपाईले सानोमा हामीजस्तै उमेरमा देशको प्रधामन्त्री हुने सपना देख्नुभएको थियो ?

मैले सानैमा म हुर्किएको समाजमा अनुचित कुराहरु देखेँ,बेठीक कुराहरु देखेँ । ती बेठीक कुरा आफैं ठीक हुँदैनन्, संघर्ष गर्नुपर्ने रहेछ । जनतामा चेतनता ल्याउनुपर्ने रहेछ । संगठित रुप दिनुपर्नेरहेछ । त्यसपछि म त्यसकाममा लागेँ । निरंकुशतन्त्र भएको व्यवस्थामा प्रधानमन्त्री हुन्छु भन्ने सोच्नु त धेरै परको कुरा थियो । बरु जेल जानुपरे जान्छु भनेर सामाजिक न्याय समानताको लोकतन्त्र ल्याउछु भन्ने सोचेर हिँड्ने उद्देश्य वैयक्तिक हुँदैनन् ।

मेरो उद्देश्य देशमा सकारात्मक परिवर्ततन ल्याउने, ,निरंकुशन्त्र ढाल्ने लोकतन्त्र ल्याउने थियो । प्रधानमन्त्री हुने कल्पना पनि थिएन । त्यसक्रममा गिरफ्तार हुने,जेल जाने भयो । जेलमा भएका बेला अहिले मार्छ कि,अहिले मर्छु कि भरे मर्छु जस्तो बेलामा प्रधानमत्री हुने सपना कसरी देख्ने ?

व्यवस्था परिवर्तन भएपछि पनि मेरो ध्यान चाहिँ त्यसमा गएन । व्यवस्था परिवर्तन भएपछि पनि देशमा कसरी सुशासन,विकासको बाटोमा कसरी लैजाने, आधुनिक विकसित नेपाल कसरी बनाउने,नेपाली कोही पनि भोकानांगा नहुन् । त्यसमै मेरो ध्यान गयो ।

मैले जुन ठाउँमा जुन जिम्मेवारी लिएको छु,आन्दोलनमा लाग्दा इमान्दारिताका साथ लागेँ । जेलमा बसिरहदा पनि निष्ठाका साथ लागे । प्रधानमन्त्रीका रुपमा मैले पहिलेदेखिनै योजना बनाएर होइन परिस्थितिले भएँ । अहिले देश बनाउने मौका पाएको छु । देशभित्र रहेका विकृति हटाउने,पछौटेपन हटाउने र देशलाई पुर्खाले परिकल्पना गरेको सबै खुसी हुने देश बनाउन चाहान्छु । त्यससैले मैले नारा लिएँ सम्बृद्ध नेपाल सुखी नेपाली ।

प्रधानमन्त्रीज्यू हामीजस्ता बालबालिकालाई के सल्लाह दिनुहुन्छ ? हामी कस्तो मान्छे बन्ने ?

म नानीहरुलाई अहिले त पढ्न र बुझ्न सल्लाह दिन्छु । देशको जिम्मेवारी तपाईहरुले लिने दिन आउछ । युवा अवस्थामै धेरै काम गर्नुपर्छ । बुढेसकालमा सगरमाथा चढ्न सकिन्न,पहाड चढ्न सकिन्न, युवा अवस्थामै चढ्नुपर्छ ।

बुढौतीमा अलिकति प्रवृति सम्झौतावादी हुन्छ र शिथिलता बढ्छ । युवामा सम्झौता गर्ने प्रवृत्ति कम हुन्छ । अनुचित कुरामा सम्झौता गर्ने प्रवृत्ति कम हुन्छ । अनुचितलाई उचित गर्ने प्रवृत्ति बढी हुन्छ ।

हामीले हेर्‍यौं भने अलेक्जेडर द ग्रेटले ३१ वर्षमा दुनियाँ हल्लाएर मरे । मोतीराम भट्ट ३१ वर्षमा बितेका थिए । ठूला ठूला मान्छेले ठूला कामहरु प्रायः युवा अवस्थामा गरेका छन् । युवा अवस्थामा बनाएका जगबाट पछि उनीहरुले त्यस आधारबाट माथि उठेका छन् ।

हामी दुनियाँ हल्लाउने दार्शनिक मार्क्स र एंगेल्सको कुरा सुन्छौं । उनीहरुले २७ र २९ वर्षको उमेरमा लेखेको कम्युनिस्ट घोषणापत्रले आजसम्म विश्व हल्लाएको  छ । उनीहरु २७ र २९ वर्षमा लेखेको कम्युनिस्ट घोषणापत्रले दुनियाँ हल्लाएको छ । अहिलेको समाज त्यही पुस्तकको पक्ष विपक्षमा अल्झेको छ । त्यसैले महत्वपूर्ण कामहरु उमेरमै गर्नुपर्छ । समय सबभन्दा महत्वपूर्ण छ । समयलाई सदुपयोग गर्नुपर्छ । हेर्दाहेर्दै समय घर्किसकेको हुन्छ । समयलाई घर्किन भन्दा पहिलेनै सदुपयोग गने ।

प्रधानमन्त्रीज्यूलाई खेलकुदतिर चाहिँ रुचि लागेन ?

खेलकुदमा मेरो रुचि थियो । खेलहरु खेलिन्थ्यो । तर खेलतिर लागेर बिग्रिन्छु कि भन्ने लाग्यो । खेल भनेको आज जति महत्वको विषय छ त्यतिबेला थिएन । निजी मनोरन्जनको विषयमात्रै थियो । त्यस्तो बेलामा अलि खेल्न मन लाग्थ्यो । तर साथीहरुसँग मिलेन ।

म झुठ बोल्न सक्दैन थिएँ । प्रायः साथीहरुका बीचमा कुरा लुकाउन नसक्ने भएकाले गोप्य कुरा साथीहरुले मलाई भन्दैन थिए । कुरा बिग्रियो भने लुकाउन नसक्ने भएकाले कहिले कहिले साथीहरुले बोल्यो भनेर आलोचना गर्थे । किन पोल लाइस् भन्थे ।

प्रधानमन्त्रीज्यू, फुर्सदको बेला के गर्नुहुन्छ ?

साधारणतया मलाई फुर्सको समय हुँदैन । मैले फुर्सदको समय जीवनमा थाहा पाएको छैन । मेरो फुर्सदको समय भनेको राति सुत्दाको समय हो । त्यो पनि अबेलासम्म पढ्ने गर्छु । राति अलिक बढी पढ्छु । दिउँसो पनि मैले फुर्सद भयो भने केही किताब,पत्रपत्रिकाबाट जानकारी लिन्छु । अहिले त इन्टरटेनहरु छ । वैज्ञानिक कुराहरु खोज अनुसन्धानका कुराहरु जानकारी लिन खोज्छु ।

अहिले नेपालमा विद्याथीहरुले पाइरहेको शिक्षा आजभन्दा १० बर्ष पछाडि प्राविधिक शिक्षाले विश्वको लागि उनीहरुलाई तयार गदैछ भन्ने लाग्छ ?

हाम्रो देश धर्तीको यो भुभाग शिक्षाको प्रारम्भ भएको ज्ञान भनेको के हो भन्ने कुराको संबाद भएको । हाम्रा भुमिबाटै सुरु भएको थियो । केही शताब्दी पछि पर्‍यो । खास गरेर उपनिवेशको कारण । त्यो जमानामा हाम्रा छिमेकका ठूला ठूला देश उपनिवेश भए पनि हामीले बढो मुस्किलले लडेर देशलाई एकीकृत गर्‍यो र स्वतन्त्र पनि रहयो ।

परिवशेहरुको चेपाइमा उपनिवेश राज्यहरुको विकासका सम्भावनाहरु कम भए त्यसमाथि तानाशाही भएर हामीले विकास गर्न सकेनौ । जसले गर्दा पुराना शिक्षा पनि छुट्यो । पुरानो शिक्षाबाट नयाँ शिक्षा हुनुपर्‍यो । नयाँ खालका शिक्षाको अवस्था पनि हामीकहाँ आउन पाएन ।

२००७ साल सम्म त विद्यालय खोल्न नपाइने, पढ्न नपाउने स्थिति थियो । अर्थात ६९ बर्ष अघि मात्रै हामीले पढ्न पायौं । २०१६ सालमा ६० बर्ष अगाडी हाम्रो विश्वविद्यालय एउटा मात्रै स्थापना भएको थियो । त्यस विश्वविद्यालयले लगभग ३० बर्षसम्म एक्लै देशलाई धान्यो । त्यसपछि अहिले हामीले केही विश्वविद्यालयहरु खोल्यौं । प्राविधिक शिक्षा हाम्रोमा इन्जिनियनिङ कलेज र मेडिकल कलेज अस्ति भर्खर मात्रै सुरु भएको हो । त्यस कारण सुरुवात नै ढिला भयो ।

त्यसप्रकारको शिक्षा हामीलाई आवश्यक छ । आफनो उन्नति र समाजका लागि २ वटा कुरा गर्न सक्ने होस नागरिकले योग्य हुन सकोस् त्यसप्रकारको शिक्षातर्फ हामी जादैछौं । जसले योजनाबद्ध ढगंले क्यापम्पस खोल्न मन लाग्यो खोल्यो, त्यो भनेको कहाँनेर नाफा हुन्छ भन्नेमात्र देखियो ।

कस्तो जनशक्ति चाहिएको छ त्यस अनुसार हामीले दश जनशक्ति कहाँ कुन ठाउँमा चहियो त्यसअनुसारको शिक्षा हामीले उपलब्ध गराउनुपर्छ । र त्यस शिक्षाले हामीलाई सामाजिक र राष्ट्रिय विकासमा मर्मत पुयाउछ ।

हजुर जस्तोसुकै प्रश्नको उत्तर सामान्य ढगंले दिनुहुन्छ । हजुर जस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला ?

विश्व ज्ञानको भण्डार हो । त्यसको हामीले सानो पनि पाउँदैनौं । भाइबहिनीहरुलाई लागेको छ,मसगँ अथाह ज्ञानको भण्डार छ भनेर त्यो होइन । यति ठूलो ज्ञानको भण्डार भएको विश्वमा एउटा विरुवाको मात्रै अध्ययन गर्ने हो भने सायद त्यो विरुवाको मात्रै पनि जानकारी पाइसक्दैन । त्यसको ज्ञानको बारेमा । जान्नुपर्ने कुरा धेरै छ ।

एउटा सानो विषय छान्छ । पढदै जान्छ र एउटा कुरा मात्रै अझ धेरै कुरा जान्न बाँकी हुन्छ । ज्ञानको भण्डार अथाह छ हामीले चाहिने ज्ञानहरु प्राप्त गर्ने कोशिस गनुपर्छ ।

आफनो विषयगत ज्ञानमा राम्ररी दक्षता राख्ने र प्राप्त गर्ने कोशिस गर्ने । हाम्रो उपलब्ध समयलाई ध्यानमा राखेर हामीले कसरी ज्ञान आर्जन गर्न सकिन्छ तय गर्ने । खास गरेर हामीले जान्न पर्ने कुरा के हो भने हामीले मानव जातिको, मानव जातिमा पनि आफ्नो देशको मानव जातिको बारेमा धर्तीको बारेमा बढी जान्नुपर्छ ।

मलाई नेपालको बारेमा सोध्यो भने अलि बढी थाहा छ र तर मलाई अर्को देशको बारेमा सोध्यो भने थोरै जानकारी छ । त्यसकाराण हामीलाई कुन चिज चाहिने हो । त्यसमा हामी बढि फोकस गर्ने त्यसबाहेकका विषयमा हामीलाई सामान्य ज्ञान चाहिन्छ ।

नेपाली समाजमा सानै उमेर देखिनै भविष्यको निधारण गरिन्छ । हाम्रो भविष्यको निर्णय किन यति सानै उमेरमा लिइन्छ ?

एउटा त पछोटेपनको कुराहरु छन । भविष्यको निर्धारण भनेको राम्रो पक्ष मात्रै होइन । त्यसमा नराम्रो पक्ष पनि छन । अहिलेसम्म पनि एउटा बालकबालिका उनीहरुले केही बुझ्नुभन्दा अघिनै बिहे गरेर श्रीमान श्रीमती बनाइदिन्छन् । उनीहरुको भविष्यको परिवारले निर्धारण गरिछ । ।

अहिलेसम्म पनि बालक बालिकाले केही बुझ्नुभन्दा पहिले विहे गरेर भविष्य निर्धारण गरिदिन्छन् । त्यो समाजको पछाटौटपन हो । बैज्ञानिक बन्ने बालबालिकालाई आमाको छेउमा राखेर गिटी कुट्न सिकाइन्छ । राम्रो विद्यालयमा गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा गिटी कुटेको हेर्ने र सिक्ने गरिरहेको हुन्छ । यो चाहिँ गरिवीको कारणले भएको हो ।

हेर्नुहोस् भिडियो

अलिकति सचेत ढंगले आफ्ना छोराछोरीलाई प्रेरित गर्न डाक्टर, इन्जिनियर नेता बन्न उत्साहित गराउन सकिन्छ । सबैको प्रतिभा सबैतिर हुँदैन । प्रतिभा चिनेर त्यसमा लगाउनुपर्छ । कुनै पनि बालबालिका लद्धु हुँदैन । रुची अनुसारको पढाइ र अवसर उपलब्ध गराउनुपर्छ । बवधा र अवसरबाट बन्चित गरिया भने उनीहरुले ठूलो उपलब्धी गर्न सक्दैनन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment