Comments Add Comment

ठूलो गोदाममा केही परिमाण बिग्रनु सामान्य, गुणस्तरहीन खाद्यवस्तु बेचेका छैनौं : खाद्य

१७ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले ठूलो परिमाणमा कारोबार हुने कम्पनीमा केही खाद्यवस्तु बिग्रनु सामान्य घटना भएको भन्दै आफ्नो बचाउ गरेको छ । साथै उसले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरहीन खाद्यवस्तु नबेचेको प्रस्टीकरण पनि दिएको छ ।

गत आइतबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित थापाथलीस्थित गोदाममा गरेको अनुगमनका क्रममा ४ सय ८७ क्विन्टल कुहिएको बास्मती चामल भेटिएको थियो । त्यस्तै, उपभोग्य मितिसमेत नभएको ४ वर्ष पुरानो चामल तथा सिमीलगायतका खाद्यवस्तु पनि फेला पारेका थिए ।

अनुगमनपछि समितिले गोदाममा खाद्यवस्तु थुपारेर बिगारेको तथा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै संलग्नमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।

तर खाद्यले संसदीय समितिले निकालेको निष्कर्षको खण्डन गर्दै आफ्नो बचाउ गरेको छ ।

‘ठूलो परिमाणमा खाद्यान्न कारोबार गर्ने कम्पनीको मौज्दातमा रहेको केही परिमाण खाद्यान्न विभिन्न कारणले बिग्रने अवस्था सिर्जना भए पनि कम्पनीले त्यसरी गुणस्तर ह्रास भएका र मानव उपभोगको लागि अयोग्य खाद्य वस्तुहहरू उपभोक्तालाई बिक्री–वितरण गर्ने नगरिएको र भविष्यमा पनि नगरिने व्यहोरा जानकारी गराउँछौं’, खाद्यद्वारा जारी सूचनामा लेखिएको छ ।

खाद्यले बिग्रेको चामल जापान सरकारले उपलब्ध नगराएको पनि प्रष्ट पारेको छ । यसअघि गोदाममा कुहिएका चामल जापान सरकारले अनुदान दिएको खबर प्रकाशमा आएको थियो ।

कर्णालीको सिमी, विभिन्न किसिमका चामल र इन्डक्सन चुल्हो उपयोगका दृष्टिले गुणस्तरयुक्त रहेको भन्दै ढुक्क भएर उपभोग गर्न पनि खाद्यले उपभोक्तालाई अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस निर्देशन दिने अधिकृत, पालना गर्नुपर्ने सचिवले !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment