Comments Add Comment

पर्यटनकर्मीको अनुभव : जापानी पर्यटक नम्र, भारतीय अप्ठ्यारा !

१७ पुस, काठमाडौं । बुधबारबाट औपचारिक रूपमा नेपाल भ्रमण वर्ष आरम्भ भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले सुरु गरेको भ्रमण वर्षले पर्यटन व्यवसायी निकै उत्साहित बनेका छन् ।

देशभित्रको आन्तरिक द्वन्द्व र त्यसपछि ०७२ सालमा आएको भूकम्पले नेपालको पर्यटन क्षेत्र थिलथिलो भयो । अहिले विस्तारै बौरिन थालेको छ । त्यसैले भ्रमण वर्षले पर्यटन व्यवसायमा बहार ल्याउने आशा व्यवसायीहरूले पालेका छन् ।

नेपालमा पर्यटक यति उति भित्र्याउने चर्चा भइरहँदा कस्ता पर्यटक ल्याउने भन्नेमा चाहिँ त्यति विमर्श भएको पाइँदैन । खासगरी लामो समय बस्ने र धेरै खर्च गर्ने पर्यटक नेपालको आवश्यकता हो । अन्यथा संख्यामात्रै बढेर केही नहुनेमा व्यवसायी पनि सहमत छन् ।

यहाँ हामीले नेपाल आउने पर्यटकका बानी ,व्यवहार र खर्च गर्ने स्वभावबारे पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेका छौं । उनीहरूको अनुभव जस्ताको तस्तैः

जापानका पर्यटक विनम्र
किसन गुरुङ, सञ्चालक, होटल गुरुङ कटेज घान्द्रुङ

मेरो अनुभवमा त यहाँ घुम्न आउने पर्यटकहरूमध्ये सबैभन्दा धेरै खर्च गर्ने पर्यटक नेपाली नै हुन् । खान र सुविधाका लागि नेपालीले पैसा तिर्न कुनै कन्जुस्याइँ गर्दैनन् ।

खर्च गर्ने स्वभावमा जापानीहरू सचेत देखिन्छन् तर उनीहरूको व्यवहार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा राम्रो हुन्छ । उनीहरू कसैलाई पनि अवरोध हुने काम गर्दैनन् । सानो स्वरमा बोल्छन्, विनम्र रूपमा प्रस्तुत हुन्छन् ।

प्रायः सबै देशका विद्यार्थी पर्यटकहरूले कम खर्च गर्छन् । सेवा निवृत्त भएर घुम्न आएका अमेरिकन, युरोपियनहरू पनि खर्च गर्न डराउँदैनन् ।

खासगरी दक्षिण एसियाली मुलुकका पर्यटकहरू गाउँ र शहर कहाँ छु भनेर छुट्याएर व्यवहार देखाउँदैनन् । घान्दु्रङ गाउँ हो, तर उनीहरू पैसा तिर्छु यस्तो सेवा लेऊ भन्छन् ।

सेवा लिने विषयमा अमेरिकन, युरोपियनहरू तौलिएर मात्रै व्यवहार गर्छन् जस्तोकि आफू कस्तो ठाउँमा छु ? यहाँ के–के सुविधा अधिकतम् पाउन सकिन्छ त्यो विचार गर्छन् । यस्तो व्यवहार दक्षिण एसियालीहरूमा कम पाइन्छ ।

पछिल्लोपटक चिनियाँ पर्यटकको संख्या बढेको छ । उनीहरू सुविधा अनुसार पैसा खर्च गर्न तयार मनस्थितिको रहेको मैले पाउँछु ।

युरोपका पर्यटक उत्कृष्ट
राजेन्द्र लामा, म्यानेजिङ डाइरेक्टर, फ्रेण्डस् एडभेञ्चर टिम

म पर्यटन व्यवसायमा सक्रिय रहेको २० वर्ष भयो । सुरुवाती चार वर्ष कामदारको रूपमा र पछिल्लो १६ वर्ष व्यवसायी भएर काम गरेको अनुभव छ । मेरो कम्पनीले वार्षिक सयौं पर्यटकहरूलाई हिमाल आरोहणदेखि पथ प्रर्दशन गराउँछ ।

भर्खंरै घुमफिर थालेका कारण खानपिनमा चिनियाँहरू बढी सौखिन हुने गरेको पाएको छु । तर, उनीहरूको भ्रमण अवधि प्रायः छोटो नै हुन्छ । नेपालीहरूले निकै सस्तोमा उनीहरूलाई प्याकेज बेच्छन्, जसले गर्दा नेपालमा चिनियाँहरू पाँचतारेमा बस्छन् र सस्तो मूल्यमा घुमफिर गर्छन् ।

युरोपियन र अमेरिकनहरू एकदमै व्यालेन्समा खाना खान्छन् । मिलाएर खाना खाने सवालमा यूरोपियनहरू संसारकै उत्कृष्टमध्यमा पर्छन् । सबैभन्दा खर्चालुचाहिँ अमेरिकन हुन् ।

युरोपियन र अमेरिकनको तुलनामा चाइनिजको खर्च एक तिहाइ कम हुन्छ । तर अरु खर्च बचाएर एक पटकको भ्रमण त हो नि भनेर चिनियाँहरू धेरै खर्च किनमेलमा गर्छन् । युरोपियनको बसाइँ लामो हुने भएकाले उनीहरूको हिसाब किताब गरेर मात्रै खर्च गर्छन् ।

यस क्षेत्रमा काम गर्ने मान्छेलाई गर्ने व्यवहारको हिसाबले अमेरिकनहरू संसारकै उत्कृष्ट मानिन्छन् । भ्रमण क्रममा राम्रो व्यवहार गर्नेमा युरोपियनहरू पनि पर्छन् । त्यस्तै अष्ट्रेलियनहरू पनि राम्रैमा गनिन्छन् ।

व्यवहारको हिसाबले जापानीहरू संसारकै उत्कृष्ट हुन्, तर नेपालमा जापानी पर्यटकहरू निकै कम भइसकेका छन् । चाइनिज, इजरायली र दक्षिण एसियाली मुलुकका मानिसहरूले भर्खरै भ्रमण गर्न थालेकाले उनीहरू अलि सिकारुजस्ता लाग्छन् । चन्चले जस्ता पनि देखिन्छन् ।

क्यालेन्डर बनाएर भ्रमण गर्ने वर्षौंदेखिको संस्कृति नै भएका कारण युरोपियनहरू उत्कृष्टमा पर्छन् । ‘एक पटकको साथी सधैंको साथी’ भन्ने भावनाले भ्रमण गर्ने भएकाले पनि युरोपियनहरू दोहोर्‍याएर नेपाल आइरहन्छन् ।

अमेरिकी र ब्रिटिश पर्यटक खर्चालु
चेवन देवकोटा, मनास्लु एड्भेन्चर ट्रेक्स

पछिल्लो समय एशियन पर्यटकहरूको संख्यामा उलेख्य वृद्धि भएको छ । उनीहरूले भर्खरै भ्रमण गर्न थालेका कारणले हुन सक्छ, खर्च गर्न नडराएको देखिन्छ ।

राम्रो खर्च गर्ने पर्यटकहरू अमेरिकी र ब्रिटिस नै हुन् ।

एशियनहरूको भ्रमण छोटो हुनु एउटा समस्या जस्तो बनेको छ । पछिल्लो वर्षहरूमा बीमाको समस्याका कारण युरोपियनहरूको आवागमन कम देखिन थालेको छ ।

भ्रमणमा प्रदर्शन हुने व्यवहारका आधारमा पनि युरोपियन र अमेरिकन गुणस्तरीय हुन्छन् ।

बेलायतका पर्यटक रमाइला
विकास तामाङ, माउण्टेन लिडर

नेपाल आउने पर्यटकसँग एकाधबाहेक हाम्रो पहिलोपटक नै भेट हुन्छ । धेरैसँग पहिलो भेटमा नै पारिवारिक जस्तो सम्बन्ध बन्छ । केही त झोले पनि हुन्छन् ।

४० देखि ६५ वर्ष उमेर समुहका युरोपियन पर्यटकहरू खर्च गर्न र घुमफिरका लागि रमाइला हुन्छन् र प्रशस्त समय लिएर आउने गरेको मैले पाएको छु । युवाहरू छोटो भ्रमणमा आउँछन् । समय अभावका कारण धेरै रमाइलो गर्न पाउँदैनन् ।

मैले धेरैजसो बेलायती पर्यटकसँग ट्रेकिङ गर्ने भएकाले उनीहरूको स्वभाव धेरै हदसम्म राम्रो लाग्छ । खर्च गर्न उनीहरू डर मान्दैनन् । मानिससँग बोल्ने, प्रकृतिसँग रमाउने स्वभाव पनि बेलायतीको राम्रो लाग्छ । जानी–नजानी नाच्नेदेखि रिसाएर हिँड्ने पनि पर्यटक हुन्छन् । पर्यटकको व्यवहार कस्तो हुने भन्ने कुरा कम्पनी र गाइडमा पनि भर पर्छ ।

भारतीय र इजरायली पर्यटक अप्ठ्यारा

भीमसेन रिमाल, म्यानेजिङ डाइरेक्टर, द नेष्ट एट लुक्ला होटल, सोलुखुम्बु

पथ प्रर्दशक र मजदुरलाई गर्ने व्यवहारको हिसाबले अमेरिकीहरू स्तरीय हुन्छन् । उनीहरू खर्च पनि गर्छन् गुणस्तर पनि खोज्छन् । युरोपियनहरू पनि राम्रा पर्यटक हुन् । युवाहरू अलि धेरै बोल्ने भए पनि पाका मान्छेहरू स्तरीय लाग्छन् । युरोपियनहरू एकदमै नियममा चल्छन् । खानामा निकै होसियार हुन्छन् ।

भारतीय र इजरायलीहरू अलि अप्ठ्यारा हुन्छन् । जे कुरामा पनि उनीहरू सहुलियतको माग गर्छन् । सोझो र इमानदारिताका हिसाबले जापनिजहरू संसारकै सबैभन्दा राम्रा पर्यटक हुन् ।

उनीहरू आफ्नो कारणबाट कसैलाई दुःख नहोस् भन्ने ठान्छन् । तर खर्च गर्न भने किफायती हुन्छन् । पछिल्लो समय ताइवानी पर्यटकहरू दोहोर्याएर नेपाल आउनेमध्येमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment