
१७ पुस, काठमाडौं । नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान नयाँदिल्लीमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।
उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले भारतले नेपालमा गरेको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका खेलेको बताइन्छ ।
प्रतिनिधिसभा पुनःस्थापनालगत्तै उनी नेपाल आएका थिए । पहिलो जनआन्दोलनताका पनि राजीव गान्धीको दूतको रुपमा पनि उनी नेपाल आएका थिए । त्यतिबेला उनले नेपालमा पञ्चायती शासन अन्त्य हुने भविष्यवाणी गरेका थिए ।
त्रिपाठीले ‘नेपाल ट्रान्जिसन ए वे फरवार्ड’लगायतका धेरै किताबसमेत लेखेका छन् ।
राजीव गान्धीको प्रिय भए पनि सोनिया गान्धीसँग मत नमिलेपछि उनले कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टीमा लागेका थिए । उनी जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षसमेत थिए ।
प्रतिक्रिया 4