Comments Add Comment

सुदूरपश्चिममा पुनः हिमपात, जनजीवन प्रभावित

डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिउँ । तस्वीर : रासस

१८ पुस, बाजुरा । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ । पोरखे लेकमा बाक्लो हिमपात भएको बडीमालिका नगरपालिका–७ का स्थानीय धनलाल पाध्यायले बताए ।

यस्तै गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए । हिमपातले गर्दा बाहिर निस्कनसमेत मुस्किल भएको वडाध्यक्ष रोकायले बताए । उनका अनुसार हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ । गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पुर्याउन झनै समस्या भएको रोकायाले जानकारी दिए ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपात भएपछि विभिन्न रोग किरासमेत नष्ट भएर जाने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

लेकाली भेगका ठाउँमा चिसोबाट बच्न सतर्कता अपनाउन निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले आग्रह गरे । उनले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले आवश्यक औषधिको व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिएको बताए ।

पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण पूर्णरूपमा बन्द भएका छन् । हिमपातले चिसो हुने भएकाले बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय नै बन्द भएका हुन् ।

अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षासमेत प्रभावित हुने मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याले बताए । चिसोले विद्यार्थीलाई समस्या हुने भएकाले परीक्षा नै स्थगित गर्नुपर्ने हुनसक्ने प्रधानाध्यापक पाध्यायको भनाइ थियो ।

कर्णाली प्रदेशका जिल्लामा पनि हिमपात

कालिकोटमा परेको हिमपात । तस्वीर : दिवाकर प्याकुरेल/अनलाइनखबर

कर्णाली प्रदेशका जिल्लामा पनि वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट र सुर्खेत जिल्लाबासीको दैनिकी बढी कष्टकर बनेको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।

जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान पनि बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ ।

चिसोमै भए पनि बिहीबार जुम्लामा छाउगोठ भत्काउने महाअभियानको कार्यक्रम सम्पन्न गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । उनले सरकारी कार्यालयमा बिहीबारदेखि चिसो बढेकाले काम गर्न गाह्रो भएको बताए ।

‘जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको छ, यद्यपि आगो बालेर भए पनि नियमित सेवा प्रवाह हुन्छ’, उनले भनेका छन् । कतिपय आकस्मिक काम यही समय हुने भएकाले सेवाग्राहीलाई समस्या नहोस् भनेर कार्यालय खुला नै रहने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment