Comments Add Comment

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा चार पदका लागि आठ जनाको उम्मेदवारी

२१ पुस, जनकपुरधाम । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा तामझामका साथ दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश २ मा सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरी संयुक्त उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनुषामा र्‍यालीसहित पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन हुन लागेको हो ।

प्रदेश २ मा राष्ट्रियसभाको महिला सदस्य १ दलित सदस्य १, अल्पसंख्यक १ र अन्य खुल्ला सदस्य १ पदका लागि निर्वाचन हुँदैछ ।

नेकपा र राजपाको गठबन्धनबाट अल्पसंख्यकबाट शेखरकुमार सिंहले उम्मेदबारी दिएका छन् । उनको प्रस्तावकमा प्रदेश २ का भौतिक पूर्वाधार विका मन्त्रीसमेत रहेका राजपा संसदीय दलका नेता जितेन्द्र सोनल र समर्थकमा नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डल रहेका छन् ।

यो गठबन्धनबाट महिला सदस्यमा पदमा नेकपाकी तुलसा दाहालले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा नेकपाका प्रदेश सांसद शत्रुधन महतो र समर्थकमा राजपा सचेतक परमेश्वर साह छन् ।

दलित सदस्य पदमा राधेश्याम पासवानले यो गठबन्धनबाट उम्मेदबारी दिएका छन् । उनको प्रस्तावकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल र समर्थकमा प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावारण मन्त्री रामनरेश यादव छन् ।

अन्य खुल्ला सदस्यमा गठबन्धनबाट मृगेन्द्रसिंह यादवले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह र समर्थकमा नेकपाका सचेतक सुन्दरबहादुर विक छन् ।

उम्मेदवारी दिँदा नेकपा उम्मेदवारको प्रस्ताव राजपा र राजपा उम्मेदवारको प्रस्तावक नेकपाका प्रतिनिधि बसेका छन् ।

कांग्रेस–समाजवादीबाट को–को ?

कांग्रेस–समाजवादी गठबन्धनबाट अल्पसंख्यक पदमा कांग्रेसका भोला पञ्जियारको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र कांग्रेस नेता धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डल समर्थक रहेका छन् ।

महिला सदस्य पदमा कांग्रेसकै नगीना यादवको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा कांग्रेस सांसद शिवचन्द्र चौधरी र समर्थकमा सबैला गाउँपालिकाका प्रमुख विजयशंकर प्रसाद साह छन् ।

दलित सदस्य पदमा समाजवादी पार्टीका रामप्रित पासवानको उम्मेदवारी परेको छ । उनी यसअघि पनि यही पार्टीबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनको प्रस्तावकमा प्रदेश सांसद अशोक यादव र समर्थक रामाशिष यादव छन् ।

खुल्ला अन्य पदमा समाजवादी पार्टीका अनिरुद्व यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा समाजवादीका सचेतक शैलेन्द्र यादव र समर्थकमा सांसद चमेलीदेवी दास छन् ।

नेकपा–राजपाको संयुक्त र कांग्रेस–समाजवादीको छुट्टाछुट्टै र्‍याली

उम्मेदवारी दर्ता गर्ने क्रममा दलहरुले भव्य जुलुससहित तामझाम प्रस्तुत गरेका छन् । यी चारै पार्टीका आठवटै जिल्लाबाट आएका नेता/कार्यकर्ताले जुलुसमा सहभागिता जनाएका छन् ।

नेकपा र राजपाका नेता/कार्यकर्ताले संयुक्त र्‍याली निकाले जनकपुरधामस्थित नेकपाको कार्यालयमा जम्मा भएका यी दुबै पार्टीका नेता/कार्यकर्ताले चारै जना उम्मेदवारलाई अगाडि राखेर र्‍याली प्रदर्शन गर्दै निर्वाचन कार्यालयसम्म पुगेका थिए ।

कांग्रेस र समाजवादीले भने र्‍याली पनि छुट्टाछुट्टै निकालेका छन् । आ–आफ्ना उम्मेदवारलाई अगाडि राखेर उनीहरुले अलग्गै अलग र्‍याली प्रदर्शन गरेका हुन् ।

दाजुभाइ लड्ने

राष्ट्रियसभा निर्वाचनका लागि एकै परिवारका दुई दाजुभाईले छुट्टाछुट्टै दलबाट उम्मेदवारी दर्ता गराएका छन् ।

समाजवादी पार्टीबाट अनिरुद्व सिंह यादव र राजपाबाट मृगेन्द्र सिंह यादवले उम्मेदवारी दिएका छन् । यी दाजुभाई खुल्ला अन्य समूहमा उम्मेदवारी दर्ता गराएका छन् ।
सप्तरीको बोदे बर्साइन नगरपालिका ५ निवासी यी दाजुभाई लामो समयदेखि छुट्टाछुट्टै पार्टीबाट राजनीति गर्दै आएका छन् ।

यस्तो छ प्रदेशको गणित

प्रदेश २ मा जम्मा ३ सय ७९ जना मतदाता छन् । राष्ट्रियसभाको निर्वाचनमा १ सय ३६ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय ७२ जना र प्रदेशसभाका १ सय ७ जना सांसदले मतदान गर्नेछन् ।

कुल मतदातामध्ये नेकपा र राजपाको स्पष्ट बहुमत रहेको छ । नेकपाको प्रदेशसभामा ३२ जना सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ८३ जना छन् ।

यस्तै राजपाको प्रदेशसभामा २५ सांसद र स्थानीय तहका ४४ जना प्रमुख, उप–प्रमुख छन् । यी दुबै मत जोड्दा १ सय ९४ हुन्छ । जसले यो गठबन्धनलाई सहजै जिताउन सक्छ ।

कांग्रेसको प्रदेशसभा १९ र स्थानीय तह ८१ तथा समाजवादीको प्रदेशसभा ३० तथा स्थानीय तहमा ५२ जना मतदाता छन् । स्थानीय तहमा २ जना नेपाली जनता दलका छन् भने संघीय समाजवादी पार्टीका एक जना प्रदेशसभामा सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment