Comments Add Comment

गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली मोहीलाई मुआब्जा दिएर कमिसन खाएको आरोप

२० पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पाण्डेसहित गुठी संस्थान जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, विचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा सत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

धनुषाको साविक भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठी संस्थानको जग्गामा कीर्ते मोही खडा गरी मुआब्जा वितरण गरी विचौलिया र आफूले समेत कमिसन लिएको आरोपमा उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्‍ता प्रदीप कोइरालाले जानकारी दिए ।

दुई जना मोही खडा गरी कार्यालयले मुआब्जा भुक्तानी दिएको र विचौलियाले उनीहरुसँग कमिसन लिई कर्मचारीलाई पनि बाँडेको देखिएको अख्तियारको भनाइ छ । अख्तियारले कार्यालय प्रमुख पाण्डेविरुद्ध १९ लाख ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

त्यस्तै गुठी संस्थान जनकपुरका तत्कालिन सहायक प्रशासक मनोजकुमार आचार्यले ६ लाख ५० हजार, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले ४ लाख ३० हजार रुपैयाँ,  विचौलिया सुमनकान्त ठाकुरले पटक-पटक गरी ६३ लाख ३६ हजार ६६७ रुपैयाँ लिएको अख्तियारले जनाएको छ । ठाकुरले मोहीलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी मोहीलाई दबाबमा पारी कर्मचारीहरुलाई प्रलोभनमा राखी लिनेखाने गरी घुस/रिसवत लिए/दिएको अख्तियारको भनाइ छ ।

नक्कली मोही गायत्री देवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट रकम लिई विचौलिया सुमनकान्त ठाकुरलाई र गुठी संस्थानका कर्मचारीलाई कमिसन दिएका थिए ।

गुठी संस्थान जनकपुर कार्यालयले २०६९ जेठ १६ गते गायत्रीदेवीलाई ७७ लाख १ हजार ६६७ रुपैयाँ र असार २७ गते सत्रुधनलाई १२ लाख ५० जार रुपैयाँ भुक्तानी गरेको थियो ।  सत्रुधनले लिएको १२ लाख ५० हजार रुपैयाँमध्ये ठाकुरले विचौलियाको भूमिका निर्वाह गरिदिएवापत ७ लाख ३५ हजार रुपैयाँ लिएका थिए । ठाकुरले लिएको रकम गुठीसंस्थानका कर्मचारीसम्म पुगेको अख्तियारले जनाएको छ ।

त्यस्तै गायत्रीदेवीले लिएको ७७ लाख १ हजार ६६७ रुपैयाँ मुआब्जामध्ये ठाकुरलाई२ कमिसनबापत ५६ लाख १ हजार ६६७ रुपैयाँ दिएकी थिइन् । जुन रकम कर्मचारीलाई पनि बाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment