Comments Add Comment

न्यू डायमन्ड कप महिला भलिबलमा ७ टिमले प्रतिस्पर्धा गर्ने

२० पुस, काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुने तेश्रो होङ्गान्जी न्यू डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टिमले भाग लिने भएका छन् ।

यही पुस २३ देखि २६ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता निश्चित भएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक न्यू डायमन्डसहित डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, नेपाल प्रहरी, पोखराको टप्स उमावि, त्रिभुवन आर्मी, कुलेश्वरको पारामाउन्ट इङलिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता हुनेछ । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा होङ्गान्जी बौद्ध समाज रहेको छ । गत वर्ष पनि मुख्य प्रायोजक रहेको होङ्गान्जीले यो वर्ष प्रायोजन वापत नगद र जिन्सी गरी जम्मा १५ लाख आयोजकलाई प्रदान गर्नेछ । गत वर्ष होङ्गान्जीले ५ लाख रुपैयाँ दिएको थियो ।

सम्झौता अनुसार होङ्गान्जीले पहिलो किस्ता वापत प्रथम र दोश्रो हुने टिमको नगद पुरस्कार होङ्गान्जीका कन्ट्री म्यानेजर सोनाम वाङ्दी भुटियाले हस्तान्तरण गरेको संयोजक राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ तथा उपविजेताले ३ लाख १ सय १ रुपैयाँ नगद पाउनेछन् । यस्तै तेश्रोले १ लाख ५१ हजार १ सय १ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तेश्रो पुरस्कारको राशी मुक्तिनाथ विकास बैंक तथा चौथो पुरस्कार निलगिरी युथ क्लबले प्रायोजन गर्ने भएको छ ।

त्यस्तै ब्ल्याक हर्स सुजले चौथो पुरस्कारको रकम बराबर आर्थिक सहयोग प्रदान गर्ने आयोजकले जनाएको छ ।

सात व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही ७ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आयोजक न्यू डायमन्डकी अध्यक्ष सुनकेशरी माली र संयोजक राईलाई सहयोग स्वरुप ५ थान भलिबल हस्तान्तरण गरे । ‘खेलाडी उत्पादनमा न्यू डायमन्डको योगदान त थियो नै । अब प्रतियोगिता गरेर भलिबलको विकासमा पनि सहयोग भएको छ । आर्थिक हिसाबले के सहयोग गर्न सक्छौं । त्यसमा पनि हामी छलफल गर्छौ ।’ महासचिव चन्दले भने ।

होङ्गान्जीका कन्ट्री म्यानेजर भुटियाले भविष्यमा पनि प्रतियोगितालाई साथ दिने प्रतिबद्धता जनाए । अध्यक्ष मालीले प्रायोजक सबैलाई धन्यवाद दिदै प्रतियोगिताको तयारी लगभग पूरा भएको जानकारी गराइन् । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment