+
+
Shares

वीरगञ्जमा माघ ९ देखि प्रदेश स्तरीय क्यान इन्फोटेक मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १९:३३

२० पुस, वीरगञ्ज । वीरगञ्जमा पाँच दिने सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२० मेलाको आयोजना हुने भएको छ । प्रदेश स्तरीय दोस्रो संस्करण क्यान इन्फोटेक माघ ९ गतेदेखि १३ गतेसम्म वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल)मा आयोजना गर्न लागिएको हो ।  इन्फोटेकमा ३३ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान क्यानले गरेको छ ।

क्यान महासंघ प्रदेश २ को संयोजकत्व तथा कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) पर्साको आयोजनामा सूचना, प्रविधि र सञ्चारको ब्यापकतालाई समेट्न मेलाको आयोजना गर्न लागिएको आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।

यसले व्यवसायी र ग्राहकबीच मिलन गराउनुको साथै अन्तर्क्रिया गर्न र प्रविधिको बारेमा जानकारी आदान प्रदान गर्ने वातावरण निर्माण गर्ने आयोजकको दाबी छ ।

ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्ने क्यान महासंघ बाराका सचिव सञ्जय केशरीले बताए ।

मेला मार्फत स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु बीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि राखिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

क्यान इन्फोटेक २०२० मा आईसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने साहले जानकारी दिए ।

उनका अनुसार सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनी सहभागी हुनेछन् । ‘प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् । भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।’ उनले भने ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका ६० भन्दा बढी स्टल प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने क्यान महासंघ प्रदेश नं २ का अध्यक्ष आलोक कुमार चौरसियाले बताए ।

५० हजार भन्दा बढी अवलोकनकर्ता मेलामा आउने अपेक्षा गरिएको क्यानकै प्रतिनिधि आशु कुमार सर्राफले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?