Comments Add Comment

जेएनयू आक्रमणको नेपालमा पनि विरोध, विद्यार्थी नेतादेखि साहित्यकारसम्मले भने- सत्ताको उन्माद

२१ पुस, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा भएको आक्रमणको नेपालका विद्यार्थी नेताहरूदेखि साहित्यकारसम्मले विरोध जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियू जेएनयूको घटनाले भारतको लोकतन्त्रमा कालो पोतिएको भनेर टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससम्बद्ध नेविसंघले प्राज्ञिक थलोमा भएको आक्रमण निन्दनीय भनेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने, ‘भारतमा नरेन्द्र मोदी जस्ता चिया पसलेको छोरो दोस्रो कार्यकालका लागि भारी मतले भर्खरै विजय भएको बेला ‘न्यायपूर्ण आवाजको वाचडग’ जेएनयूमाथि भएको यो नकावकाण्डले भारत र नरेन्द्र मोदीको लोकतन्त्रमाथि कालो पोतिएझैं भएको छ ।’

अनेरास्ववियूका सहसंयोजक तामाङले जेएनयू आक्रमणलाई विद्यार्थीहरुको आवाजसँग शासक डराएको भनेर टिप्पणीसमेत गरेका छन् । सहसंयोजक तामाङले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थीको आवाजसँग शासकहरु त्यतिबेला डराउँछन् र दमन षडयन्त्र गर्छन्, जतिबेला उनीहरुको शासन अन्तिम दिन गनिरहेको हुन्छ । हामी माग गर्दछौं, जेएनयू काण्डको न्यायिक छानबिन गरियोस्, अपराधी पत्ता लगाई कारबाही गरियोस् !’

यही जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएपछि विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो । रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद थियो । यही विषयलाई लिएर ५ जनवरीको दिन दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

यसैगरी नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पनि जेएनयूमा भएको आक्रमण बर्बरता र निन्दनीय भएको भन्दै विरोध गरेका छन् । उनले अनलाइनखबरसाग भने, ‘प्राज्ञिक संस्थामा कुनै पनि पक्षबाट यसरी धाबा बोल्ने कुरा, विद्यार्थीमाथि हमला गर्ने कुरा हुन्छ भने त्यो एकदमै निन्दनीय छ, बर्बरतापूर्ण हो ।’ उनले दोषीलाई कारबाही हुनुपर्नेसमेत बताए ।

अनेरास्ववियूकै अर्का नेता सुरेन्द्र बस्नेतले सत्ताबाट संरक्षित जत्थाले आक्रमण गरेको दाबी गरेका छन् । उनले यसलाई सत्ताको उन्मादमा मच्चाइएको आततायी र निन्दनीय घटना भनेर टिप्पणी गरेका छन् । बस्नेतले आक्रमणको भ्रत्सना गर्दै लेखेका छन्, ‘सत्यतथ्य बाहिर ल्याई दोषीलाई कडा कार्वाही गर्न भारतीय सरकार समक्ष जोडदार अपिल गर्दछु ।’

साहित्यकार बुद्धिसागरले पनि संसारभर सत्ताको पागलपन मच्चिएको भन्दै जेएनयूमा भएको आक्रमण पनि शक्तिको चरम दुरुपयोग भएको बताएका छन् ।

कसले गर्‍यो आक्रमण ?

कपडाले अनुहार छोपेका करिब ५० जनाको समूहले गएराति भारतको प्रतिष्ठित जेएनयूका विद्यार्थी र प्राध्यापकहरुमाथि आक्रमण गरेको थियो । आक्रमणबाट जेएनयू विद्यार्थी प्रमुख आईसी घोषसहित ३४ विद्यार्थी घाइते भएका छन् ।

आक्रमणबाट घाइतेहरु अधिकांशको टाउको फुटेको छ । घाइतेहरुले भारतीय मिडियाहरुलाई बताएअनुसार नकाबधारी समूहले जम्मु-काश्मीर क्षेत्रका विद्यार्थीहरु बसेको कोठा छानीछानी आक्रमण गरेको थियो । वाम पृष्ठभूमिका विद्यार्थीहरु पनि निर्घात कुटिएका छन् ।

आक्रमणको विरोधमा विद्यार्थीहरुले मध्यरातसम्म विश्वविद्यालय र दिल्ली प्रहरी मुख्यालयको गेट अगाडि प्रदर्शन गरेका थिए । जेएनयूमा भएको आक्रमणको विरोध गर्दै मुम्बई, कर्नाटकलगायतका भारतका विभिन्न स्थानमा विद्यार्थीहरु स्वतःस्फूर्त प्रदर्शनमा उत्रिएका छन् ।

आक्रमण कसले गर्‍यो भन्ने एकीन भइसकेको छैन । तर, आक्रमणमा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)सम्बद्ध अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) को हात रहेको आशंका गरिएको छ ।

यद्यपि सत्तारुढ भाजपाले ट्वीट गरेर आक्रमणको विरोध गरेको छ । भाजपाले ट्वीट गरेर अराजकता फैलाउन चाहने एक हतास हरकत भनेर टिप्पणी गरेको छ । उसले विश्वविद्यालय शिक्षा आर्जन र अध्ययनको स्थान हुनुपर्ने उल्लेख गरेको छ । भाजपा नेतासमेत रहेका गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

निशानामा मोदी सरकार

यसैगरी कांग्रेस अध्यक्ष सोनिया गान्धीले जेएनयू आक्रमण सत्ताको आडमा विद्यार्थीहरुमाथि हिंसा गरिएको भन्दै निन्दा गरेकी छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले जेएनयूमाथिको आक्रमण लोकतन्त्रमाथि खतरनाक हमला हो भन्दै यस्तो स्थिति आफूले कहिल्यै नदेखेको बताएकी छन् । ‘यो लोकतन्त्रमाथि खतरनाक हमला हो । जसले विरोध गर्छ, उसलाई पाकिस्तानी वा देशको दुश्मन भनिन्छ । हामीले यस्तो स्थिति कहिल्यै देखेका थिएनौं ।’

होस्टेल वार्डेनले दिइन् राजीनामा

यो घटनापछि जेएनयूको एक होस्टेल साबरमती होस्टेलको वार्डेन आर मीणाले पदबाट राजीनामा दिएकी छन् । उनले विद्यार्थीहरुको सुरक्षा गर्न नसकेको भन्दै राजीनामा दिएकी हुन् । आफूहरुले ‘कोसिस गरेको तर सुरक्षा दिन नसकेको’ व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment