Comments Add Comment

प्रदेश ३ को राजधानी विवाद : हृवीप लगाउनुअघि शीर्ष नेतृत्वसँग छलफल

२१ पुस, काठमाडौं । प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु बिभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ ।

दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ ।

प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केेन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए ।

राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शान्ति पौडेललगायतका पूर्वएमालेका नेताहरुले पार्टी हृवीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिएका थिए ।

पूर्वमाओवादीका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम नेवा ताम्सालिङ हुनुपर्ने भनेका छन् भने पूर्वएमालेका उपत्यकाका सांसदले नेपाल मण्डल हुनुपर्ने बताएका छन् । यद्यपि नामका सन्दर्भमा ठूलो विवाद नरहेको नेकपा नेताहरुले बताए ।

राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुस २३ गतेलाई सारेर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं आएका छन् । उनीहरुले शीर्ष नेतृत्वलाई भेटेर सबै कुरा अवगत गराउने र नेतृत्वको अनुमतिपछि ह्वीप लगाउने तयारी छ ।

नेकपाका एक नेताले भने-नाम वाग्मती र राजधानी हेटौंडानै कायम हुन्छ । तर माथिबाट निर्देशन लादियो, हामीसँग सल्लाह भएन भन्ने गुनासो छ । एकपटक केपी ओली र प्रचण्डसँगै हामी छलफल गर्छौ र पार्टीको निर्णय कार्यान्वयन गराउन प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलेनै संसदीय दलमा हृवीप लगाउने नेतृत्व गर्नुहुन्छ ।

नेकपा संसदीय दलको बैठकमा पार्टीको निर्देशन मान्ने कि नमान्ने भन्नेमा प्रदेशसभा सदस्यहरु बिभाजित देखिएका छन् । सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु नपर्ने धारणा राखेका छन् ।

पूर्वएमालेको माधव नेपाल पक्ष राजधानीको सन्दर्भमा बिभाजित भएको छ । राजेन्द्र पाण्डे, पशुपति चौलागाई, रचना खड्कालगायतले हृवीप नमान्ने चेतावनी दिएका छन् । केपी ओली पक्षधर प्रदेशसभा सदस्यहरु पार्टी निर्णयप्रति असन्तुष्ट रहे पनि हृवीप उल्लंघन गर्ने भनेर बोलेका छैनन् ।

यद्यपि काभ्रेका चन्द्र लामालगायतले काभ्रेपलान्चोक नै राजधानी हुनुपर्न अडान छाडेका छैनन् । उपयत्काभित्रका प्रदेशसभा सदस्यमध्ये भक्तपुर र ललितपुरका सबैले पार्टी निर्णय मान्ने भनेका छन् भने काठमाडौंका कुसुमकुमार कार्की, प्रकाश श्रेष्ठ, उर्मिला कर्माचार्यलगायतले नमान्ने चेतावनी दिएका छन् ।

धादिङका राजेन्द्र पाण्डे र नुवाकोटका हिरानाथ खतिवडा बाहेक अन्यले पार्टी निर्णय मान्नुपर्ने बताएका छन् । पार्टीमा प्रष्ट दृष्टिकोण नबनाइ संसदमा जाँदा नेकपाकै सांसदहरु बिभाजित भएमा नराम्रो सन्देश जाने भन्दै प्रदेश पदाधिकारीले शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् ।

पार्टी नेतृत्वले प्रष्ट अनुमति दिएपछि हृवीप लगाएर पार्टी निर्णय कार्यान्वयन गराइने नेकपाका एक पदाधिकारीले बताए । यद्यपि रामेछापका शान्ति पौडेललगायतले प्रदेश सभा सदस्य पद छाड्ने तयार हेटौंडा राजधानी नमान्ने भनेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment