Comments Add Comment

चितवन ट्राफिक प्रहरीलाई प्राप्त भयो घर बनाउने जग्गा

२१ पुस, चितवन । वर्षोंदेखि भाडाको अति जीर्ण घरमा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी चितवनले घर बनाउने जग्गा प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा ट्राफिक प्रहरीलाई कार्यालय बनाउने जग्गा प्राप्त भएको हो ।

प्राप्त जमिनमा करिब डेढ करोड खर्चिएर सुविधा सम्पन्न कार्यालय भवन बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र गिरीले जानकारी दिए । ‘विभिन्न निकायलाई हारगुहार गर्दा गर्दा कसैले जग्गा दिएन, यसअघिका कार्यालय प्रमुखहरुले समेत प्रयास गर्नुभयो’ ट्राफिक प्रहरी प्रमुख गिरीले भने, ‘अन्ततः जिल्ला प्रहरी कार्यालयकै परिसरमा ट्राफिक प्रहरी कार्यालय बन्ने निश्चित भएको छ ।’ बजेट निकासा हुनासाथ भवन निर्माण हुने प्रहरीले जनाएको छ ।

मासिक १८ हजार भाडा तिरेर ट्राफिक प्रहरी कार्यालय सञ्चालन हुँदै आएको छ । जिल्लामा ३१ जना ट्राफिक प्रहरीको दरवन्दी छ । अहिले ५५ जना काम गरिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा १० महिना नेतृत्व गरेर सरुवा भएका प्रमुख गिरीले यस अवधिमा निकै उल्लेखनीय कार्यहरु गरेको दाबी गरे । उनले आफ्नो पहलमा नै ट्राफिक प्रहरीका लागि नयाँ सवारी साधान ल्याउन सफल भएको जानकारी दिए । ट्राफिक प्रहरी प्रमुखको रुपमा गिरी गत वर्ष फागुनमा चितवन आएका थिए । ट्राफिक व्यवस्थापन, सवारी चालकलाई कारबाही गर्नेदेखि जनचेतना मूलक अभियानसम्मका विविध कार्यक्रम सञ्चालन गर्न प्रहरी सफल भएको प्रमुख गिरीको भनाइ छ ।

१० महिनामा २ करोड ५१ लाख राजश्व संकलन

विसं २०७५ साल फागुन २६ गतेदेखि २०७६ साल पुस २० गतेसम्म चितवनमा सवारी नियम उल्लंघन गर्ने ३२ हजार २७९ वटा सवारी साधनलाई कारबाही गरी दुई करोड ५१ लाख ७१ हजार ५०० राजस्व संकलन भएको छ । चितवनमा तोकिएको भाडादर भन्दा बढी भाडा लिने ६५ वटा सवारी साधनबाट २८२ जना यात्रुको ८५ हजार ५४० भाडा फिर्ता गराइएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत ट्राफिक प्रहरीले विभिन्न टोल विकास संस्था, स्कुल, कलेजहरुमा ७६ पटक सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकोमा जसबाट ८ हजार २५० जना लाभान्वित भएको प्रमुख गिरीले बताए ।

चितवनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि प्रहरीले साप्ताहिकरुपमा चालकसँग १ मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम पनि गरेको उनले बताए । विभिन्न संघसंस्था, अस्पताल तथा कार्यालयहरुको सहयोगमा ५३५ वटा सवारीको यान्त्रिक परीक्षण र एक हजार २३० जना चालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ ।

जनचेतना र ट्राफिक व्यवस्थापन मात्र नभएर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि यस अवधिमा विभिन्न कार्य भएको उनले बताए । जसअन्तर्गत नारायणी मोटर्स प्रालिका सञ्चालक बालगोपाल चुकेले २ थान बजाज कम्पनीका मोटरसाइकल र पिनाकल ट्रेडिङ कन्सर्न भरतपुरका सञ्चालक ईश्वर श्रेष्ठबाट एक थान ल्यापटप र प्रोजेक्टर सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा ६५ थान ट्राफिक संकेत बोर्डहरु, दुर्घटना स्थल बढी हुने गीतानगर जाने बाटोको सीतारामचोकमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment