+
+

कांग्रेसका जिल्ला सभापतिहरुले भने : बहुमतको निर्णय मान्य हुँदैन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ पुष २१ गते १९:०९

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिले पार्टी नेतृत्वले विधान विपरीत निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेतासँगको छलफलमा उनीहरुले बहुमतको आधारमा पार्टी नेतृत्वले गरेको महाधिवेशनलगायतको निर्णय मान्य नहुने बताएका हुन् ।

सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले पार्टी केन्द्रीय समितिले बहुमतले गरेको निर्णय जिल्ला सभापतिहरुले अस्वीकार गरेको बताए । ‘विधानभन्दा माथि कोही होइन । तर, उहाँ (देउवा) ले विधान मिचेर निर्णय गर्नुभयो । जिल्ला सभापतिहरुको भेलाले उहाँ अल्पमतमा परेको देखाउँछ ।’ भेलामा झण्डै ५० जिल्लाका सभापति सहभागी थिए ।

नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले संस्थापन पक्षले बहुमतका आधारमा गरेका निर्णय जिल्ला सभापतिहरुले नमान्ने सन्देश दिएको बताए । ‘५१ जिल्लाका सभापति भेला भएका छौं । सबैको एउटै स्वर छ, पार्टी विधान विपरित जान हुँदैन’ उनले भने ।

पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिस्कारका बाबजुद कांग्रेसको केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको मिति तोक्ने र विभाग गठन गर्ने निर्णय गरेको थियो । पौडेल पक्षले उक्त निर्णय अमान्य हुने बताएको थियो । यस विषयमा संस्थापन पक्षलाई दबाव दिन पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

सोमबारको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादव, नवीन्द्रराज जोशी, गगन थपालगायत सहभागी भए ।

पार्टी मुख्यालयबाटै नेतृत्वको आलोचना

यसअघि संस्थापनइतर समूहका नेताहरुको भेला पार्टी कार्यालय भन्दा बाहिर हुँदै आएका थिए । सोमबार भने वरिष्ठ नेता पौडेल समुहले पार्टी मुख्यालयमै जिल्ला सभापतिहरुको भेला बेलाएर नेतृत्वको आलोचना गरेको छ ।

संस्थापनइतर समूहका विद्यार्थीले समेत मुख्यालय परिसरमा नराबाजी गर्दै पार्टी सभापति देउवालाई ‘असक्षम नेतृत्वको’ संज्ञा दिए । भेलाका लागि जिल्ला सभापतिहरु पार्टी कार्यालय पुग्दा नेविसंघका विद्यार्थी नेताहरुले नारा लगाएका थिए, ‘असक्षम नेतृत्व चाहिँदैन, बहुमतको दम्भले पार्टी अब चल्दैन ।’

यस्तै नेविसंघमा ३२ वर्षको उमेर हद कार्यान्वयनको माग गर्दै एउटा समूह सानेपामा रिले अनसनमा छ । सभापति देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेका छन् । त्यही सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समुह गएको २० दिनदेखि अनसन बसिरहेको छ ।

पार्टी मुख्यालयमा भएका यस्ता घटनाले पनि सभापति देउवालाई दबाब पुग्ने धादिङका जिल्ला सभापति रमेश धमला बताउँछन् ।

‘यसअघि अरु रुपमा भेला गर्दा मुख्यालय बाहिर गथ्र्यौ । अहिले मुख्यालयमै प्रवेश गरेका छौं, यसबाट प्रष्ट हुन्छ, सभापति देउवा विधि विधान मिचेर जान सक्नुहुन्न’ धमलाले अनलाइनखबरसँग भने ।

‘महाधिवेशनलाई केन्द्रबिन्दु बनाऔं’

भेलामा सहभागी एक सभापतिका अनुसार जिल्ला सभापतिहरुले देउवाको मात्रै आलोचना गरेनन् । वरिष्ठ नेता पौडेलले समेत आलोचना खेप्नुपर्‍यो। उनीहरुले आफ्नो समूहको नेता चयन गरेर महाधिवेशनको तयारीमा लाग्न पौडेल समूहलाई आग्रह गरे ।

‘हाम्रै समूहले आगामी महाधिवेशन जित्ने गरी रणनीति बनाउनेबारे सोच्न पर्दैन ? खाली भागवण्डा मात्रै हेर्ने ? आगामी महाधिवेशनमा को–को कहाँ–कहाँ उम्मेदवार हुने हो टुङ्गो लगाएर सोहीअनुसार रणनीति तय गरौं’ ती जिल्ला सभापतिले भने ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले आगामी महाधिवेशनलाई केन्द्रविन्दु बनाएर जाने प्रस्ताव सभापतिहरुबाट आएको बताए । ‘विधान र विधिसम्मत जाऔं र महाधिवेशनलाई नै केन्द्रबिन्दु बनाऔं भन्ने उहाँहरुको कुरा आएको देखिन्छ’ पाण्डेले भने ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?