Comments Add Comment

मलेसियामा पनि नेपाल भ्रमण वर्ष शुभारम्भ

नेपाल विश्वका पर्यटकको रोजाइमा पर्ने मलेसियाका पर्यटनमन्त्रीको विश्वास

२२ पुस, काठमाडौं । मलेसियामा पनि नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भ भएको छ । नेपाली दूतावासको कार्यालय, क्वालालम्पुरमा विशेष कार्यक्रमको आयोजना गरी  मंगलबार नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको हो ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउनु मलेसियामा कार्यक्रम शुभारम्भ गरिएको नेपाली दूतावासले जनाएको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडियालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने विश्वास व्यक्त गरे ।

साथै पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचारप्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्नेमा मन्त्री केतापीले जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारीलगायतका विषयमा प्रकाश पारेका थिए ।

राजदूत पाण्डेले मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै मलेसिया भ्रमण वर्ष २०२० को सफलताको शुभकामनासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment