Comments Add Comment

नयाँ जीवन बीमा कम्पनीको बजार विस्तार आक्रामक

३ महिनामा २५ करोड दाबी भुक्तानी

२२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक रहेका चिरञ्जीवी चापागाईलाई सरकारले बीमा समितिको अध्यक्ष बनायो । उनी अध्यक्ष भएको केही समयमै १० वटा जीवन बीमा कम्पनीहरू थपिए ।

बीमा कम्पनीहरू धेरै हुँदाहुँदै नयाँ लाइसेन्स दिएको भन्दै अध्यक्ष चापागाईं केही समय आलोचितसमेत भए । तर, लाइसेन्स दिएको करिब २ वर्ष पुग्नै लाग्दा भने यसको सकारात्मक असर देखिएको छ ।

नयाँ बीमा कम्पनीहरूले आक्रामक बजार विस्तार गर्दा बीमामा नागरिकको पहुँच ह्वात्तै बढेको छ । नयाँ बीमा कम्पनीहरू सञ्चालनमा आउनु अघि ७ प्रतिशत नागरिकमात्रै बीमाको दायरामा थिए । यो संख्या बढेर अहिले २२ प्रतिशत पुगेको समितिका अध्यक्ष चापगाई बताउँछन् ।

अझ वैदेशिक रोजगार म्यादी बीमासमेत जोड्ने हो भने २७ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेका छन् । नयाँ बीमा कम्पनीहरूमा बीमा गर्नेहरूको आकर्षणसमेत राम्रै देखिएको छ ।

कुन कम्पनीको बीमा दाबी कति ?

सञ्चालनमा आएको २ वर्ष पुग्न नपाउँदै बीमा दाबी भुक्तानीको हिस्सा पनि नयाँ बीमा कम्पनीहरूको राम्रो देखिएको छ । चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो त्रैमासमा नै नयाँ बीमा कम्पनीहरूले २५ करोड ४० लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै रकम दाबी भुक्तानी युनियन लाइफ इन्स्योरेन्सले गरेको छ । युनियनले ३ महिनामा १७ करोड २७ लाख ७७ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । यसले ३ महिनामा ७९ करोड २१ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

युनियनले १७ करोड बीमा दाबी भुक्तानी गर्दा मुलुककै कान्छो बीमा कम्पनीको रूपमा गत वर्षदेखि सञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्यारेन्समा भने कुनै पनि दाबी परेको देखिँदैन । आर्थिक वर्षको ३ महिनामा महालक्ष्मीले १० करोड ३९ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

अन्य नयाँ बीमा कम्पनीहरूमा आइएमई लाइफ इन्स्योरेन्सले ७ लाख २९ हजार, ज्योति लाइफले १० लाख ९९ हजार रुपैयाँ र सन नेपाल लाइफले २१ लाख ७६ हजार रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् ।

यसैगरी रिलायन्स लाइफ ३४ लाख ७३ हजार रुपैयाँ, रिलायबल लाइफले ६ करोड २३ लाख ७१ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्यारेन्सले १ करोड ५ लाख ५६ हजार रुपैयाँ, सानिमा लाइफ इन्स्यारेन्सले ४ हजार रुपैयाँ र प्रभु लाइफ इन्स्योरेन्स ८ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी दिएका छन् । सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्यारेन्समा भने दाबी परेको छैन ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले ७० करोड ४८ लाख ५९ हजार रुपैयाँ बीमा दाबी भुक्तानी दिएको छ भने नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड ३८ लाख ४२ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

यसैगरी, नेपाल लाइफ इन्स्यारेन्सले १ अर्ब ६७ करोड ७ लाख ४७ हजार रुपैयाँ, लाइफ इन्स्यारेन्स कर्पोरेसनले ४९ करोड ८५ लाख ७ हजार रुपैयाँ, अमेरिकी लाइफ इन्स्यारेन्स कम्पनीले ९ करोड १४ लाख २१ हजार रुपैयाँ भुक्तानी दाबी गरेका छन् ।

उता एसियन लाइफ इन्स्यारेन्सले १ करोड १ लाख २० हजार रुपैयाँ, सूर्य लाइफले ९ करोड २९ लाख ८ हजार रुपैयाँ, गुराँस लाइफले ६ करोड ११ लाख ८१ हजार रुपैयाँ र प्राइम लाइफ इन्स्यारेन्सले १५ करोड २ लाख ७ हजार रुपैयाँ दाबी भुक्तानी गरे ।

२५ अर्ब बीमा शुल्क आर्जन

यस अवघिमा १९ वटै जीवन बीमा कम्पनीहरूले करिब २५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा शुल्क आर्जनमा पनि नयाँ जीवन बीमा कम्पनीहरूको राम्रै हिस्सा देखिन्छ । सञ्चालनमा आएको छोटो समयमा नै यी कम्पनीहरूले बीमा शुल्क आर्जनमा प्रगति गरिरेहका छन् ।

बीमा समितिका अनुसार सबै जीवन बीमा कम्पनीहरूले ३ महिनामा २४ अर्ब ९५ करोड ३४ लाख ७८ हजार रुपैयाँ संकलन गरेका छन् । धेरै वर्ष अघिदेखि सञ्चालनमा रहेका कम्पनीहरूको बीमा शुल्क धेरै आर्जन हुने भइहाल्यो । तर वृद्धि अनुपात हेर्ने हो भने नयाँ कम्पनीको प्रगति निकै राम्रो रहेको बीमा समिति बताउँछ ।

यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस कम्पनीले ३ महिनामा ८ अर्ब ८८ करोड ९३ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नयाँ कम्पनीहरू मध्येमा भने युनियन लाइफ इन्स्योरेन्स नै अगाडि देखिएको छ । यस कम्पनीले ७९ करोड २१ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment