Comments Add Comment

पेटको रोग कसरी लाग्छ ?

खाना खाएको केही समय बित्न नपाउँदै अधिकांश मानिस पेटसम्बन्धी विभिन्न समस्या भोग्न बाध्य छन् । समयमै खानेकुरा नखाने र मदिरा सेवन गर्ने व्यक्तिहरुमा पेट दुख्ने, पेट ढाडिने, अमिलो डकार आउनेजस्ता समस्या देखिन्छ । यस्ता रोगमा बाहिरबाट चिनिने कुनै खास लक्षणहरु हुँदैनन् । तर रोगीले चालै नपाइने गरी भित्रभित्रै रोग बढ्दै गएर अन्ततः रोगीको ज्यानै जाने खतरा हुन्छ ।

शरीरमा लाग्ने सानातिना रोगहरु खानपानमा परिवर्तन, व्यायाम, रहनसहनबाट पनि ठीक हुन्छ भन्ने कुरा आधुनिक चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ । खाना कुन राम्रो र कुन नराम्रो भन्ने कुरामा हाम्रो स्वास्थ्य पूर्णरुपमा निर्भर रहन्छ । पेटमा लाग्ने दर्जनौं रोगको मुख्य कारण नै मानिसको खानपान हो ।

शरीरमा खाना पचाउन आवश्यकभन्दा बढी मात्रामा हाइड्रोक्लोरिक भन्ने रासायनिक अम्ल उत्पादन भई आमासयको कमलो मांसपेसीलाई क्षति पुर्‍याउँछ । यसको कारणले पेट पोल्ने र दुख्ने लक्षणका अतिरिक्त वाकवाक लाग्ने, मुखमा अमिलो पानी आउने हुन्छ । कसै–कसैलाई अरुचि र कब्जियतसमेत हुन्छ ।

पेटसम्बन्धी रोगले जटिल रुप लिन थाल्यो भने अल्सर र क्यान्सरसमेत हुनसक्ने भएकाले सुरुमै लक्षणहरु देखा पर्नासाथ जाँच गराइहाल्नुपर्छ ।

भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो । त्यसका लागि खानपानमै ध्यान दिनुपर्छ । प्रमुख चार खानेकुरा कम गर्‍यो भने पेटको रोग लाग्नबाट जोगिन सकिन्छ ।

१. चिनी

हरेक घरमा हुने चिनीलाई हामी ‘मोडर्न एज पोइजन’ अर्थात् आधुनिक युगको विष पनि भनिन्छ । चिनीले लगातार प्यान्क्रियाटिक बेटा सेल (विशेष किसिमको कोष)लाई उत्तेजित गरेर धेरैभन्दा धेरै इन्सुलिन उत्पादन गर्दछ । आवश्यक्ताभन्दा बढी चिनी बोसोमा परिणत भएर कलेजो र मुटुमा संचित भएर बस्छ ।

२. फाष्ट फुड, फ्याट र ट्रान्स फ्याट

हामीलाई थाहा छ धेरै मात्रामा फ्याट शरीरको लागि खतरा हो । यो मुटुको लागि अझ हानिकारक हुन्छ । फ्याटलाई धेरै तापक्रममा धेरैबेर पकाइयो भने त्यो ट्रान्स फ्याटमा परिणत हुन्छ । कुनै खानेकुरालाई पटक–पटक तताएर खाइन्छ भने स्वास्थ्यका लागि झन् हानिकारक हुन्छ । समोसा, पकौडा लगायतका खानेकुरा पटक पटक तताउँदा ट्रान्स फ्याट बन्छ । ट्रान्स फ्याट प्याकिङ गरिएका खानेकुराहरुमा पनि पाइन्छ ।

३. प्याकिङ गरेका खानेकुरा

कुनै पनि प्याकिङ गरेका खानेकुरालाई लामो समयसम्म राखिराख्न विभिन्न ट्रिटमेन्ट गरिएको हुन्छ जसले गर्दा खानेकुरामा कुनै किटाणुहरु पलाउदैनन् र धेरैसमय टिक्छ । तर, त्यो ट्रिटमेण्टले मानिसलाई उल्टो असर पर्छ ।

यदि आल्मुनियमको फाइलमा खाने कुरा प्याकिङ गरिएको छ भने झनै हानिकारक हुन्छ । खाना जति बढी मसलादार छ, त्यति नै बढी आल्मुनियम ग्रहण गर्छ । यसको बढी प्रयोगले अल्मराइजबाट पीडित मानिसको ब्रेन टिस्युमा आल्मुनियमको मात्रा बढ्छ । अनुसन्धानले भनेको छ कि आल्मुनियमले दिमागको विकासलाई प्रभावित तुल्याउँछ ।

हाडको समस्याबाट ग्रसित मानिसका लागि पनि आल्मुनियम घातक बन्छ । यो हाडको समस्या थप बल्झाउने कारक बन्छ । विश्व स्वास्थ्य संघको रिपोर्टअनुसार प्याकिङ गरेको आल्मुनियमको फाइलबाट खानामा आवश्यकभन्दा बढी आल्मुनियम सर्छ ।

४. रातो मासु

रातो मासु नखानुको धेरै कारण छ । यसमा स्याचुरेटेड फ्याट धेरै हुन्छ । रातो मासुले ‘मृर्गौला रोगी, कोलेस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लोको मात्रा बढी भएका मानिसहरुलाई समस्यामा पार्छ । मासुमा अत्यधिक प्रोटिन हुने भएकाले यसले मधुमेह, हृदयाघात, उच्च रक्तचाप जस्ता समस्याहरु उत्पन्न गराउँछ ।

मासुमा मानव स्वास्थ्यका लागि आवश्यक भए पनि कति, कसरी र कस्तो मासु खाने भन्ने राम्रोसँग ज्ञान नभएकाले अहिले धेरै मानिसहरु विभिन्न रोगबाट पीडित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment