Comments Add Comment

ए डिभिजन लिग : सन्तोषको १०० गोल, पुलिस र च्यासल बराबरी

२३ पुस, काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएको दिन नेपाल पुलिस र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपाल पुलिसले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले नै गरे ।

२०६० सालमा थ्री स्टारबाट खेल्दै लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन लिगमा संकटाविरुद्ध पहिलो गोल गरेका थिए ।

बुधबार खेलको पाँचौं मिनेटमै नीरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । भोला सिलवालको पासमा च्यासलका डिफेण्डर अलर्ट नभएको अवस्थामा निरले गोल गरे । तर अग्रता लामो समय टिकेन ।

१७ औं मिनेटमा सन्तोष साहुखलले च्यासलका लागि बराबरी गोल फर्काए । जारी लिगमा चौथो गोल गर्दै सन्तोषले ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बने ।

हेमन्त थापा मगरले प्रहार गरेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाउन नसकेपछि सन्तोषले देब्रे खुट्टाले गोल गरे ।

४० औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई फेरि अग्रता दिलाए । पहिलो हाफको अन्तिममा पुलिस अग्रता बढाउने अवसर गुमायो । पुलिसका नीरकुमार राईको फ्रिकिक क्रस बारमा लागेर फर्केको थियो ।

पहिलो हाफमा पछि परेको च्यासलले दोस्रो हाफको शुरुमै गोल गर्‍यो । ४९ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को स्थितिमा पुर्‍याए । वर्षाका कारण भिजेको मैदानमा त्यसपछि गोल हुन सकेन र खेल बराबरीमै सकियो ।

बराबरीपछि पुलिसले ५ खेलबाट ८ र च्यासलले समान खेलबाट ५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment