Comments Add Comment

निक्षेप फिर्ता नदिएको भन्दै सिभिल सहकारीविरुद्ध उजुरी

Photo Credit : इच्छाराज तामाङ

२३ पुस, काठमाडौं । पूर्व सभाषद् इच्छाराज तामाङ संस्थापक रहेकाे सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । अधिक ब्याजको प्रलोभन देखाउँदै निक्षेप लिएको तर अहिले फिर्ता गर्न नमानेको भन्दै आफ्नै सदस्यहरुले उजुरी दर्ता गराएका हुन् ।

केहि समय अघिसम्म कवुल गरेको ब्याज र निक्षेप फिर्ता दिने गरेको भए पनि पछिल्लो समय साँवा र ब्याजसमेत नदिएको उनीहरुको गुनासो छ । निक्षेप रकम फिर्ता लिन जाँदा विभिन्न बहाना बनाएर नविकरण गर्न लगाएको उजुरीकर्ताले बताएका छन् ।

सहकारी विभागका उप-रजिष्टार शशीकुमार लम्सालले सिभिल सहकारीविरुद्ध उजुरी परेको पुष्टि गरे । अहिले विभागले यस विषयमा अध्ययन गरिरहेको उनले जानकारी दिए ।

‘यो नियमनले हेर्ने हो,’ उनले भने, ‘उजुरीको विषयमा अध्ययन गरेपछि मात्रै आवश्यक निर्णय हुनेछ ।’

लम्सालका अनुसार सिभिल सहकारी सहकारी केह महिनाअघि ठूलो समस्यामा परेको थियो । सहकारीले मनपरी लगानी गरेको, निक्षेप फिर्ता नदिएको गुनासाहरु आएको भन्दै उनले त्यसबेला संस्थालाई सचेत गराइएको स्मरण गरे ।

‘सहकारी संस्थाहरु भनेका सदस्यहरुको निर्णय अनुसार चल्ने हुन्, त्यसैले यसमा सदस्यहरु पनि चनाखो हुनुपर्छ,’ उनले भने ।

सहकारीकाे हाल सल्लाहकार समितिका संयाेजक रहेका इच्छाराजले  नै एकलौटी निर्णय गरेर संस्था चलाउने गरेको समेत उजुरीमा उल्लेख छ ।

सिभिल सहकारी पहिलेदेखि नै विभिन्न विवादमा पर्दै आएको छ । सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैले कर्जा लिएका छन् । राजनीतिक पहुँच देखाउदै उनले गैरकानूनी तरिकाले संस्था चलाउँदै आएको सदस्यहरु बताउँछन् ।

३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ । कर्जा लगानी भएको मध्ये ८३ प्रतिशत भन्दा धेरै रकम इच्छाराजले आफ्नै कम्पनीको नाममा लिएका छन् ।

सहकारी ऐन अनुसार ०७४ अनुसार सहकारी संस्थाले कम्पनीलाई कर्जा लगानी गर्न पाउँदैन । तर इच्छाराजले आफ्नै कम्पनीका नाममा अधिकांश कर्जा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment