+
+
Shares

पर्सामा सुरक्षित नागरिक आवास कार्यक्रम : ५ सय फुसको घरमा जस्ता लगाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १९:४९

२३ पुस, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा फुसको छाना भएका घरमा बसोबास गर्दै आएका ५ सय घरको छानो फेरिने भएको छ ।

सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत ५ सय घरका लागि जस्ता दिने भएपछि घरको छाना फेरिने भएको हो ।

‘निकट भविष्यमा क्षेत्र नम्बर १ मा कुनै पनि फुसको छाना भएको घर रहने छैन । त्यसका लागि पहिलो चरणमा ५ सय परिवारको छानो फेर्ने योजना अघि सारेका छौं,’ सुरक्षित नागरिक आवास कार्यक्रमका क्षेत्रिय संयोजक समेत रहेका सांसद प्रदीप यादवले भने, ‘असहाय, गरिब परिवारले सुख, शान्तिपूर्ण तथा सहज रुपमा जीवनयापन गर्न सकुन्, असहायले पनि व्यवस्थित र सुरक्षित घर पाउन भन्ने उद्देश्य हाम्रो छ । सोही अनुसार लाभग्राही छनौट गर्छौं ।’

पर्सा क्षेत्र नम्बर १ मा मात्रै ३ हजार भन्दा बढी खर, फुसले छाएको घर रहेको अनुमान छ । पर्सा क्षेत्र नम्बर १ र २ दुवैमा वीरगञ्ज महानगरपालिका पर्दछ ।

महानगर प्रमुख विजय कुमार सरावगीले कार्यविधि अनुसार निवेदन लिएर क्षेत्र नं १ मा सुरक्षित आवास कार्यक्रमको लाभग्राही छनौट गरिएको बताए । उनले क्षेत्र नं २ मा भने लाभग्राही टुंगो लाग्न बाँकी नै रहेको जानकारी दिए ।

गरिबीको रेखामुनी रहेका पराल, खर वा छ्वालीको छाना भएका घर परिवारलाई जस्ता पाताको छानामुनी ल्याउने उद्देश्यले सरकारले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि छनौट भएका परिवारलाई टहरा र छाना बनाउन ५० हजार रुपैयाँ उपलब्ध गराउने लक्ष्य सरकारको छ । उनीहरुलाई पहिलो किस्तामा ३० हजार रुपैयाँ र कार्य प्रगतिका आधारमा बाँकी दोस्रो किस्तामा बैंक मार्फत भुक्तानी हुने योजनाका ईन्जिनियर धिरेन्द्र यादवले बताए ।

जिल्ला समन्वय समिति पर्साका सभाहलमा बुधबार बसेको बैठकमा सांसद यादवसहित जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी र महानगर प्रमुख सरावगी समेतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?