Comments Add Comment

दुनियाँले थाहा नपाएको बेलफास्ट सडकमुनिको रहस्य

उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टको सडकमा हरेक दिन हजारौं मान्छेहरू यात्रा गर्दछन् । तर तीमध्ये सायद कमैलाई थाहा होला कि आफूले टेकेको सडकमुनि १ सय ७० वर्ष पूरानो एउटा रहस्य लुकेको छ ।

यो जगमगाउँदो सहर ठ्याक्कैमुनि फारसेट नदी बग्दछ । सोही नदीको नामबाट बेलफास्ट सहरको नाम रहेको हो । बेलफास्टको विकास र समृद्धिमा पनि यो नदीको ठूलो योगदान छ । तर आज यो नदी दुनियाँको नजरबाट लुकेर जमिनमुनि सुरुङबाट बग्न बाध्य छ ।

आयरल्याण्डको प्राचीन इतिहासका प्राध्यापक तथा रिभर अफ बेलफास्ट : ए हिस्ट्रीका लेखक डेस ओ रायलीका अनुसार सहरको व्यापारिक केन्द्र हाइ स्ट्रिटमा हिँडिरहेको कुनै व्यक्तिलाई यदि आज यो नदीबारेमा सोधियो भने सायद कसैले यसको जवाफ दिन सक्ला । बेलफास्टको सहरको स्वरूपलाई अहिलेको झल्मलाउँदो अवस्थामा पुर्‍याउने मौका फारसेट नदीले नै प्रदान गरेको हो भन्ने कुरा अहिलेका मानिसले भुलिसकेका छन् ।

हाइ स्ट्रिट र भिक्टोरिया स्ट्रिट इलाका अहिले बेलफास्टका सबैभन्दा समृद्ध इलाकाहरू हुन् जो कुनै समय लगान र फारसेट नदीको मुहानको रूपमा थिए । त्यहाँ अहिले चर्चित ससेन्ट जर्ज चर्च छ । उक्त चर्च पनि प्राचीन गिर्जाघरको ठाउँमा बनाइएको हो ।

इतिहासकारहरूका अनुसार ८ सय वर्षमअघि श्रद्धालुहरू त्यहाँ प्रार्थना गर्नका लागि आउँदथे । उनीहरूको चाहना हुन्थ्यो कि उनीहरू सुरक्षित रूपमा फारसेट नदी पार गर्न सकियोस् । किनकि उक्त नदीको मुहानमा प्रायः दलदल माटो जम्मा हुन्थ्यो र पानीको बहाव तीव्र हुन्थ्यो । जब नदीमा पानीको लहर कमजोर हुन्थ्यो, त्यसै बेला डुंगा चलाइन्थ्यो ।

सन् १६०० मा स्कटल्याण्ड र इंगल्याण्डबाट प्रोटेस्टेन्ट धर्म मान्ने मानिसहरू त्यहाँ आउन सुरु गरे । समयक्रम सँगै उनीहरूले फारसेट नदीमा जहाजको घाट बनाउन सुरु गरे । हाइस्ट्रिट क्षेत्रमा कुनै समय जहाजहरू रोकिने बन्दरगाह थियो । जहाजहरू रक्सी, मसला तथा तमाखुले भरिएका हुन्थे ।

जहाजबाट सामान ओरालेर डुंगामा हालेर पूरै आयरल्याण्डसम्म पुर्‍याइन्थ्यो । स्कटल्याण्ड र इंगल्याण्डबाट त्यहाँ आएका अधिकांश व्यापारी वर्गका थिए । उनीहरूकै कारण बेलफास्टमा व्यापारिक गतिविधि बढ्यो । मदिरा कारखाना, कपडा कारखाना तथा अन्य उद्योगहरू खुल्न थाले । जसका कारण बेलफास्टमा औद्योगिक क्रान्तिको सुरुवात भयो ।

अठारौं शताब्दीको अन्त्यसम्ममा फारसेट नदीले नै बेलफास्टलाई विश्वको सबैभन्दा धेरै कपडा उत्पादन गर्ने सहरको रूपमा स्थापित गर्‍याे । त्यस समय बेलफास्टका कपडा उद्योगमा ५० हजार मजदुरले काम गर्दथे । त्यहाँ यातायातको प्रमुख माध्यम बेलफास्ट नदीमै चल्ने जहाज तथा डुंगा नै थिए ।

जुन नदीले बेलफास्टको तस्वीर बदलेको थियो, त्यहीँ नदी अहिले जमिनमुनि लुकेर नहरजस्तै गरी बगिरहेको छ ।

इतिहासकारका अनुसार कारखानाबाट निस्किने फोहोरकै कारण फारसेट नदी मृत बनेको थियो उही बेला । उन्नाइसौं शताब्दीको सुरुवातमै नदी दुर्गन्धिन बनेको थियो र सहर प्रशासनले उक्त नदीलाई छोप्न योजना अघि सार्‍याे । सन् १८४८ मा दश लाख इँटाको प्रयोग गरी नदीलाई छोपियो ।

यद्यपि यो नदी अझै लोप भइसकेको छैन । जमिनमुनि कुलोको रूपमा बगिरहेको छ । हालै फारसेट नदीको गौरवगाथाको उत्सव मनाउनका लागि बेलफास्ट नगर परिषदले पूरै सहरमा कार्यक्रमको आयोजना गरेको थियो । केही अभियन्ताहरू यो नदीलाई पुनर्जीवन गर्ने र खोज गर्ने अभियानमा लागेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment