Comments Add Comment

प्रदेश ३ प्रदेशसभामा आज मतदान, नाम र राजधानी छिनोफानो हुने

२७ पुस, काठमाडौं । प्रदेश ३ ले आज आफ्नो नाम र स्थायी राजधानी पाउने भएको छ । लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आइतबार नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको हो ।

प्रदेश नं. ३ प्रदेशसभा सचिवालयले आइतबार बिहान बस्ने संसद् बैठकले मतदानमार्फत नाम र स्थायी राजधानी टुंगो लगाउने जनाएको छ ।

शनिबार बसेको बैठकमा स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ । सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका हुन् ।

प्रदेश ३ को ११० सदस्यीय सभामा नेकपाका ८० र कांग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १/१ सांसद् छन् । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ । बहुसंख्यक सांसद् हेटौंडाको पक्षमा देखिएकाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने पक्का छ ।

प्रदेश ३ को नाम र स्थायी राजधानीलाई लिएर सत्तारूढ दल नेकपामै विवाद भएको थियो । नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । सांसदहरूबीच मतैक्यता नभएपछि नेकपा सचिवालय बैठकले नै नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई बनाउन निर्देशन दिएको थियो । यद्यपि, सांसदहरूले सुरुमा यसबारे असहमति जनाएका थिए । पछि नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले पार्टी सचिवालयकै निर्णय सदर गरेको थियो । लामो समय अनिर्णित रहेको कांग्रेसले भने अन्तिममा आएर नेकपाकै प्रस्तावमा सहमति जनाएको थियो ।

प्रदेश ३ को आइतबारको बैठकले नाम र स्थायी राजधानीबारे टुंगो लाएमा यो नाम र स्थायी राजधानी टुंगो लगाउने चौथो प्रदेश हुनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशले नाम र स्थायी राजधानी पाइसके पनि प्रदेश १, २ र ५ ले अझै पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment