Comments Add Comment

अष्ट्रेलियामा आगलागी बन्यो झन् भयावह

प्रधानमन्त्रीले मागे माफी

काठमाडौं । दक्षिण पूर्वी अष्ट्रेलियामा आकाशको रंग रगत जस्तै रातो देखिन थालेको छ । अष्ट्रेलियामा नयाँ वर्षको सुरुवात पनि यस्तै रातो रंग र चिन्ताबाट भएको थियो ।

गत वर्ष सेप्टेम्बरदेखि यहाँको जंगलमा लागेको आगोबाट कम्तीमा २८ जनाले ज्यान गुमाइसकेका छन् भने कम्तीमा दुई हजार भन्दा बढी घर जलेका छन् । डेनमार्कभन्दा पनि ठूलो भूभाग आगजनीको चपेटामा परेको छ । जुन अवस्था एकदमै डरलाग्दो छ ।

सुख्खा जंगल र तातो बतासले जंगलमा फैलिएको आगोलाई झन् भयावह अवस्था बनाउँदै लगेको छ ।

यो महिना सिड्नीको तापक्रम ४९ डिग्री पुगेको छ । २०१७ पछि न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा वर्षा कम भएको थियो । वर्षा कम हुँदै गएपछि कृषि उत्पादनलाई मात्रै असर गरेन, जंगलमा लागेको आगोलाई फैलाउन ठूलो भूमिका खेलेको छ ।

न्यू साउथ वेल्समा करिब एक करोड एकड जमिनमा आगोले क्षति पुर्‍याएको छ ।

अष्ट्रेलिया गर्मी मौसममा सामान्यतया तातो र सुख्खा हुन्छ, तर मौसम परिवर्तनका कारण खडेरी र तातोपनको दायरा बढ्दै गएको छ । यस्तो अवस्थामा जंगलका झाडीहरु सबै सुकेर गए ।

अहिले अष्ट्रेलियाको प्रत्येक राज्य आगलागीबाट प्रभावित बनेको छ । तर सबैभन्दा बढी प्रभावित न्यू साउथ वेल्स छ । अष्ट्रेलियाका प्रमुख शहरहरू मेलबोर्न र सिड्नी पनि आगोले प्रभावित छन् ।

अष्ट्रेलियामा ग्रीष्म ऋतु डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम पत्रिकाकाअनुसार न्यू साउथ वेल्सको जंगलको करिब ३० प्रतिशत जलेको छ । आगामी एक सातामा ५० प्रतिशत भूभाग जलिसक्ने आशंका गरिएको छ ।

अष्ट्रेलियाको मौसम विभागका अनुसार २०१९ मा सबैभन्दा गर्मी रह्यो । अष्ट्रेलियाको तापमान १०१० पछि एक डिग्री सेल्सियसले वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

मौसम ब्यूरोकाअनुसार सन् १९५० पछि गर्मी बढ्न थालेको हो । डिसेम्बरमा दुई पटकसम्म तापक्रमले रेकर्ड तोडेको थियो । डिसेम्बर १७ मा औसत अधिकतम तापमान ४९ डिग्री सेल्सियस थियो । त्यस्तै अर्को दिन (डिसेम्बर १८)मा तापमान ४१.९ डिग्री सेल्सियस पुगेको थियो । २०१३ मा ४०.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

डिसेम्बर अन्तिमदेखि प्रत्येक राज्यमा ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड गरिएको थियो । तस्मानिया राज्यमा समेत ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड भएको थियो । जुन राज्य प्रायस् अन्य क्षेत्रहरू भन्दा चिसो हुन्छ ।

प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगो निभाउन अपनाइएको विधिप्रति दुःख व्यक्त गरेका छन् ।

आगलागी र जलवायु परिवर्तनको सवालमा प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको सरकारले कडा आलोचनाको सामना गर्नु परेको छ । आइतबार प्रधानमन्त्री मोरिसनले भनेका छन्, ‘जमीनको सतहमा मैले धेरै चीजहरू राम्रोसँग चलाउन सक्छु ।’

विगत केही हप्तादेखि प्रधानमन्त्री स्कट मोरिसनले न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको आगलागी प्रभावित क्षेत्रहरूमा भ्रमण गर्ने क्रममा विरोधको सामना खेप्दै आएका छन् । आगलागी प्रभावितको विरोधका कारण उनले आफ्नो भ्रमण बीचैमा रद्द समेत गर्नु परेको थियो । दुबै राज्य आगोले सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोरिसन जब न्यू साउथ वेल्सको कोबार्गो शहरमा आइपुगे, एक महिलाले आगो निभाउने थप स्रोत साधनको माग गर्न थालिन् । केही व्यक्तिले उनलाई ‘मूर्ख’ को संज्ञा दिँदै भने ‘तपाईंले यहाँबाट कुनै भोटहरू प्राप्त गर्नुहुने छैन ।’

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा मोरिसनले भने, ‘यी संवेदनशील परिस्थिति हुन्, धेरै भावनात्मक अवस्था हुन् । जनतासँग भेट गर्दा प्रधानमन्त्रीको पनि भावनाहरू हुन्छन्, कमजोरीहरू हुन्छन् । ’

उनले जंगलमा लागेको आगो निभाउनका लागि गरिने प्रयासको बारेमा अनुसन्धान गर्ने बताए ।

आगलागीका कारण मुलुक गम्भीर संकटमा फस्दै गइरहेको समयमा छुट्टी मनाउन हवाईयात्रामा निस्किएपछि गत महिना प्रधानमन्त्री मोरिसनले ठूलो आलोचनाको सामना गर्नुपरेको थियो । प्रधानमन्त्रीप्रति जनताको आक्रोश बढेको देखेपछि उनी बीचमै फर्कनु परेको थियो ।

जलवायु परिवर्तनमा प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री मोरिसन सरकारमाथि जलवायु परिवर्तनको असर कम गर्न पर्याप्त कदम नचालेको आरोप लगाइएको छ ।

जलवायु परिवर्तनप्रति सरकाररी रवैयाका कारण बारम्बार र भयानक आगलागी भइरहेको विज्ञहरुले आरोप लगाएका छन् । तर अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले आफ्नो सरकारी अवधारणाको बचाउ गरेका छन् । तर जलवायु परिवर्तनका कारण आगलागीमा असर परेको भन्ने कुरालाई स्वीकार गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘हामी लामो, तातो र सुख्खा गर्मीमा बाँचिरहेका छौं । यसले स्पष्ट रूपमा विस्तृत जलवायु परिवर्तनको प्रभाव पार्छ ।’

कार्बन उत्सर्जन घटाउने योजनामा जोड दिँदै उनले आफ्नो नेतृत्वको सरकार लक्ष्यहरू पूरा गर्ने दिशामा रहेको बताए ।

पेरिस जलवायु परिवर्तन सम्झौता अन्तर्गत, अष्ट्रेलियाले सन् २०३० सम्ममा २६ देखि २८ प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्ने प्रतिवद्धता जनाएको छ ।

यद्दपि उनले जलवायु परिवर्तनलाई रोक्न ‘विश्वव्यापी समाधान’ आवश्यक रहेको बताए ।

जलवायु परिवर्तनबारे हजारौंद्वारा विरोद प्रदर्शन

अष्ट्रेलियामा शुक्रबार हजारौं व्यक्तिले जलवायु परिवर्तनप्रति विरोध प्रदर्शन गरेका छन् ।

सिड्नी, मेलबोर्न र क्यानबेरा जस्ता शहरहरूमा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीलाई प्रारम्भिकदेखि चाँडो जीवाशेष इन्धनको विकल्प अपनाउन आग्रह गरेका थिए ।

अष्ट्रेलियाको वर्तमान अवस्था

शनिबार अष्ट्रेलियामा आगलागी केही कम थियो । दमकलकर्मीहरूले आगो निभएका कारण केही राहत पुगेको थियो ।

यद्दपि, अर्को हप्ता मौसम तातो हुने अपेक्षा गरिएको छ, जसले आगोको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । वर्षा नभएसम्म आगोलाई पूर्ण रूपले रोक्न नसकिने प्रशासनले बताएको छ ।

न्यू साउथ वेल्स (एनएसडब्ल्यू) मा १२ भन्दा बढी स्थानहरुमा आगो लागिरहेको छ । एनएसडब्ल्यू ग्रामीण अग्निशमन सेवाका अनुसार हालसम्म दुई हजार भन्दा बढी घरहरू जलिसकेका छन् । भिक्टोरियामा शनिवारसम्म ३२ ठाउँमा आगलागी हुने खतरा रहेको अनुमान गरिएको थियो । शनिबार आगो निभाउने क्रममा सोही ठाउँमा एक जना फायर फाइरको मृत्यु भएको थियो । उनको मृत्युसँगै आगलागीबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment