+
+

एमएम कपमा मलेसियाको सान्त्वना जित, सेमिफाइनल समिकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १९:३५

२८ पुस, काठमाडौं । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समूह चरणको खेलहरु सकिएका छन् ।

सोमबार इनरुवा रंगशालामा सम्पन्न समूह ‘डी’अन्तर्गतको अन्तिम खेलमा मलेसिया एघारले गण्डकी प्रदेशलाई १९२ रनको अन्तरले पराजित गरेको हो । जित हात पारेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो।

यसअघिनै दुइ खेलमा जित हात पारेको सुदूरपश्चिम प्रदेश समूह ‘डी’ को विजेता बन्दै सेमीफाइनल प्रवेश गरिसकेको छ। गण्डकी प्रदेशले भने दुवै खेलमा हार बेहोर्यो।

सुदूरपश्चिमसँगै दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी तथा प्रदेश नम्बर ३ सेमिफाइनलमा पुगेका हुन् ।

मलेसियाले दिएको २९९ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २७.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो ।

गण्डकीको लागि विपिन खत्रीले सर्वाधिक ४२ रन बनाए । यस्तै प्रविन ढकालले अविजित १९ रन तथा विधान श्रेष्ठले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाको बलिंगमा सुहारिल फेटरिले सर्वाधिक ४ विकेट लिए भने अनवर रहमान र भिजय उन्नीले समान ३ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २९८ रन बनाएको थियो।

मलेसियाको लागि ओपनर ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाए । उनले १११ बल खेल्दै ११ चौका प्रहार गरे । यस्तै अर्का ओपनर भुषण सेभ र भिरनदिप सिंहले समान ५० रन बनाए । भुषणले ३४ बल खेल्दै ८ चौका र १ छक्का तथा ४५ बल खेलेका भिरनदिपले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै एहमद फैजले ३१, मोहम्मद अरिफले २०, मोहम्मद हफिजले १५ तथा नजरिल रहमानले १३ रन बनाए।

गण्डकी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर विपिन खत्रीले १० ओभरमा ५३ रन खर्सचेर सर्वाधिक ३ विकेट लिए । चन्द्र कान्त पौडेलले २ तथा गोभिन्द प्रधानले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ऐनुल हकिम चुनिए।

प्रतियोगिता अन्तर्गत यसअघि भएको समूह डी को खेलमा सुदूरपश्चिमले मलेसियालाई ८ विकेटले र गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?