Comments Add Comment

साढे दुई वर्षमा भरतपुर महानगरमा ३०९ किलोमिटर सडक कालोपत्रे

२९ पुस, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधीसभाका सदस्य पुष्पकमल दाहाल प्रचण्डले हरेकपटक जिल्लामा हुने कार्यक्रममा एउटा कुरा भन्न छुटाउँदैनन्, ‘पाँच वर्षको अवधिमा भरतपुरका अधिकांश ठूला र महत्वपूर्ण सडक कालोपत्रे हुन्छ, जनताले धुलो खानुपर्दैन ।’ उनको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका अधिकांश भित्री तथा महत्वपूर्ण सडकहरु धमाधम कालोपत्रे भैरहेका छन् ।

महानगरपालिका, सांसद विकास कोष, शहरी विकास मन्त्रालय तथा सडक डिभिजन कार्यालयले यी क्षेत्रका सडकलाई वर्गीकरण गरेर बजेट छुट्टाएका छन् । महानगरका भित्री तथा महत्वपूर्ण सडक कालोपत्रेको काम तीव्र पारिएको छ । कुनै बेला पिचको कालोपत्रे टेक्न भरतपुरको चौबिसकोठी आउनुपर्ने महानगरको ग्रामिण भेगका बासिन्दा अधिकांशको घर अगाडि नै पिच बाटो पुगेको छ ।

महानगरपालिकाका २९ वटा वडामध्ये १, २, ३, ४, ५, १०, ११, १२ र २९ नम्बर वडा बाहेक अधिकांश प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । महानगरपालिकाले दिएको जानकारीअनुसार साढे २ वर्षको अवधिमा भरतपुर महानगरपालिकामा ३०९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । शहरी विकास मन्त्रालयबाट ६५ किलोमिटर र बाँकी महानगरको बजेटबाट कालोपत्रे गरिएको मेयर रेनु दाहालले बताइन् । भरतपुरको चौविसकोठीदेखि पश्चिम लाग्ने दुई महत्वपूर्ण सडक यही अवधिमा कालोपत्रे भएका छन् ।

केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन्

वर्षौंदेखि बिग्रिएर जनताले दुःख पाएको भरतपुर–रामपुर–चनौली–मेघौली सडक धमाधम कालोपत्रे भैरहेको छ । भरतपुरबाट चनौलीसम्म कालोपत्रे गरेर सकिएको छ । चनौलीबाट मेघौलीसम्मको काम जारी छ । पश्चिम चितवनका अधिकांश जनताले यही सडक प्रयोग गर्छन् ।

भरतपुर–१९ का कांग्रेस नेता विष्णु ढकालले सडक पिच भएको भन्दै खुुसी व्यक्त गरे । ‘बर्खामा माछा पाल्ने मिल्नजस्तो पोखरी बन्थ्यो, हिउँदमा धुलो भएर हैरान थियौं, १२ वर्षसम्म निकै दुःख पाइयो, बल्ल मुक्तिको सास फेर्ने अवस्था आयो,’ ढकालले भने, ‘गाउँका भित्री सडकहरु पनि धमाधम पिच भैरहेका छन्, खुसी छौं ।’ उनले मेयर रेनु दाहालको पहलमा भरतपुर–१९ भित्रका मुख्य सडक धमाधम कालोपत्रे भैरहेको बताए ।

यता, भरतपुरको चौबिसकोठीबाट गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकसमेत कालोपत्रे भएपछि यात्रा गर्न निकै सहज भएको छ । पकौडी बजारदेखि भरतपुरको अन्तिम सीमाविन्दु कसरा पुलसम्म सडक कालोपत्रे यसै वर्ष गरिएको हो । यो सडक बिग्रदा गीतानगर, शिवनगर, पटिहानी, जगतपुर, माडी, ठोरी जाने यात्रुले दुःख पाएका थिए ।

भरतपुर–२२ की सीता पराजुलीले सडक पिच भएपछि ३० मिनेटमै सजिलै नारायणगढ बजार पुग्न सकिएको भन्दै खुसी व्यक्त गरिन् । ‘वर्षौंसम्म दुःख पाइयो, धुलोले गर्दा लुगा सुकाउन पनि पाइन्थेन,’ विगत सम्झिँदै पराजुलीले भनिन्, ‘अहिले त धेरै राहत मिलेको छ ।’

महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरदेखि पकौडी बजारसम्म कालेपत्रे गरिए पनि सडक साँघुरो भएकाले यसलाई तत्काल विस्तार गर्ने योजना रहेको बताइन् । यो सडकखण्डमा दर्जनौं सवारी साधन चल्ने गर्दछन् ।

महानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड १०५ किलोमिटरमध्ये १० किलोमिटर सडकखण्ड डीपीआरसँगै निर्माणको काम अघि बढिरहेको छ । रिङरोडलाई जोड्ने १५ वटा लिंक रोडको काम पनि धमाधम अघि बढेको महानगरको भनाइ छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । पश्चिम चितवनको मंगलपुरबाट दक्षिण हुँदै महेन्द्रचोक, शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौली नजिकको तलौली निस्कने झन्डै २१ किलोमिटर लामो सडकको काम अघि बढिरहेको छ । यसलाई ‘प्रचण्ड मार्ग’ भनिन्छ । यो सडकलाई तीन खण्डमा बाँडेर प्याकेज १ र २ मा ठेक्का लगाइएको छ । यसलाई पश्चिम चितवनको अर्को रणनीतिक सडकका रुपमा हेरिएको छ । केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा थप एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ । महानगरका योजना शाखा प्रमुख असिम रेग्मीले महानगरमा स्तरीय ग्राभ्रेल करिब एक सय किलोमिटर गरिएको बताए । महानगरपालिकाले सडकलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन खण्डमा बाँडेको छ । सडक अधिकार क्षेत्र ५० मिटरसम्म भएका राजमार्गका सडकलाई ‘ए’, १६ मिटरसम्म भएका सडकलाई ‘बी’ र ६ मिटरदेखि १६ मिटरसम्मका सडकलाई ‘सी’ भनेर वर्गीकरण गरिएको महागरका इन्जिनियर सूर्यप्रकाश लामाले जानकारी दिए ।

महानगरले सडकसँगै कल्भर्ट बनाउने कामलाई पनि प्राथमिकतामा राखेको छ । योजना शाखा प्रमुख रेग्मीले चालु आर्थिक वर्षमा सडक कल्भर्ट २० वटा बनाउने योजना रहेको बताए । गत वर्ष १२ वटा कल्भर्ट बनाइएका थिए । महानगर प्रमुख रेनु दाहालले वर्षौं ट्याक खुलेका तर अहिलेसम्म पनि पिच नभएका सडकहरुलाई कालोपत्रे गर्ने अभियान नै चलाइएको बताइन् । ‘जनताको पनि अपेक्षा यही छ, उहाँहरुको भावना बुझेर नै कालोपत्रे गर्न बढी रकम खर्च गरेका छौं,’ प्रमुख दाहालले भनिन् ‘महानगरले पनि सडक विकासलाई प्राथमिकतामा राखेको छ ।’

गोन्द्राङ–पुल्चोक छ लेन, बाइपास सडक चार लेन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडकलाई ब्यूटिफिकेसनसहित ६ लेन बनाउने प्रकृया अघि बढेको छ । सडक विभागले यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर ठेक्का लगाउने तयारी थालेको छ । सडक विस्तारका लागि बाटो खाली गर्ने काम सुरु भएको छ ।

सडक आसपासमा पर्ने रुखहरुलाई हटाउने र बिजुलीका पोलहरु सार्ने प्रकृया सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । अहिले भरतपुर विमानस्थलको उत्तरतर्फको सडक छेउमा पर्ने रुख वन कार्यालयसँगको समन्वयमा हटाउने काम भइरहेको छ । ‘ठेक्का लागिसकेपछि करिब दुई वर्षमा काम सक्ने अनुमान गरेका छौं’, कार्यालयका प्रमुख अधिकारीले भने,‘ बिजुली र खानेपानी व्यवस्थापनका लागि पनि सम्बन्धित निकायसँग सहमति भइसकेको छ ।’ उनका अनुसार ६ लेनको बाटोका लागि सडकको बीच भागबाट दायाँ–बायाँ ५० मिटरभित्र पर्ने संरचना हटाइने छ ।

भरतपुर महानगरपालिकाले पनि ६ लेनको सडक निर्माण भइसकेपछि भरतपुर–नारायणगढको स्वरुप नै बदलिने बताएको छ । यसलाई महानगरपालिकाले महत्वपूर्ण परियोजना भनेको छ ।

यस्तै, भरतपुर बाइपास सडकलाई सर्भिस लेनसहित चार लेनको बनाइँदै छ । भरतपुर केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको सडकलाई चार लेनको बनाउने गरी सडक विभागले दोस्रो खण्डको ठेक्का निकालेको छ । झण्डै १४ करोडको ठेक्कामा निर्माण कम्पनीले सम्झौता भएको दुई वर्षभित्र सडक तयार गरिसक्नुपर्ने हुन्छ ।

यो सडकको पहिलो खण्डको काम अहिले जारी छ । पहिला यसलाई दुई लेनको बनाउने भनेर ठेक्का लगाइएको थियो । तर, पछि चार लेनको बनाउने भनेपछि करिब ४.६ किलोमिटर लामो सडकको आधा भाग २.२ किलोमिटर विस्तारको जिम्मा गौरीपार्वती निर्माण सेवा काठमाडौंलाई दिइएको छ ।

गौरीपार्वती निर्माण सेवाले केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्म सडक विस्तार गर्दैछ । आगामी चैतसम्म २.२ किलोमिटर सडक तयार गरिसक्नुपर्ने सम्झौता छ । सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको र पिचमात्रै १४ मिटरको हुनेछ । यी सबै सडकमा आधुनिक सडक बत्ति राख्न विद्युत प्राधिकरणले झण्डै २१ करोड खर्च गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment