Comments Add Comment

जंगली जनावरको मात्र सुरक्षा गर्ने ऐन संशोधन हुन्छ : प्रचण्ड

'साथीहरुले बाहिर नजानु भनेका थिए, म माडी आएँ'

२९ पुस, चितवन । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन संशोधन हुने बताएका छन् । यो ऐनले जंगली जनावरको मात्रै सुरक्षाको कुरा गरेको तर जनताको सुरक्षामा कम ध्यान दिएको प्रचण्डको भनाइ छ ।

माडीमा सोमबार आयोजित खिचरा महोत्सवमा बोल्दै प्रचण्डले भने, ‘म यो खिचरा महोत्सवमा आउने समय भएर चाहिँ आएको होइन, ‘काठमाडौंमा तपाईंहरुले देख्नुभएको छ, केन्द्रीय राजनीति अलिअलि जटिलताजस्ता देखापर्न खोज्छन् कहिलेकाहीँ, तिनलाई समाधान गर्नका निम्ति लगातार छलफल गर्नुपर्ने थियो । मलाई साथीहरुले यस्तो बेला बाहिर नजान भनिराख्नुभएको थियो । आज बेलुका यहाँबाट फर्केर मैले थुप्रो मिडिङहरु गर्नुछ । तर, म यहाँ आएपछि निकै खुशी छु ।’

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडीका जनतालाई राष्ट्रिय निकुञ्जका जनावरले दुःख दिएको बताउँदै प्रचण्डले भने ‘राष्ट्रिय निकुञ्जको ऐन परिवर्तनका लागि वनमन्त्री, प्रधानमन्त्रीसँग कुरा गरिराखेको छु । मैले अहिले धेरै भन्नु उचित पनि छैन । ऐन संशोधनको प्रक्रियामा छ । २०२९ सालको ऐनले जंगली जनावरको सुरक्षालाई त ध्यान दियो, मानिसको सरक्षालाई कम ध्यान दिएको छ, त्रुटि त्यहीँ छ ।’

अध्यक्ष प्रचण्डले माडीका जनताको पीडा समाधानका लागि लगातार बहस र संघर्षमा रहेको बताउँदै भने, ‘म माडीका जनताको प्रतिनिधि पनि हो । राष्ट्रिय पार्टीको प्रमुख पनि हो । दुईपटक प्रधानमन्त्री भएको व्यक्ति पनि हो । यदि मेरो कुरा सुनिँदैन, मैले भनेको कुरालाई ध्यान दिइँदैन भने म माडी जान्छु र जनतासँगै म आन्दोलनमा हुन्छु, मलाई कुनै पर्वाह छैन भनेर मैले भनेपछि मात्रै केही कुराहरु अगाडि बढेका छन् । तपाईहरुको मलाई निरन्तर सहयोग चाहिन्छ ।’

अध्यक्ष प्रचण्डले ठोरीदेखि केरुङ जोड्ने बाटोको प्रक्रिया अगाडि बढेको भन्दै माडीलाई मणि बनाउन सकिने बताए । उनले भने, ‘अझै सपना पूरा भएको छैन, पाँच वर्षमा जति काम गर्ने भनेको हो, दुई वर्ष भयो, अब तीन वर्ष बाँकी छ । मैले माडाीका लागि केन्द्रमा के गरिराखेको छु भन्ने तपाईहरुले देख्नुभएको छ ।

प्रचण्डले अगाडि थपे, ‘हाम्रो परम्परा, हाम्रो संस्कार हाम्रो कार्यशैली अझै पनि त्यति राम्रो भइसकेको छैन । हाम्रा सरकारी सबै संयन्त्रहरु तदारुकताका साथ जनताको काम गर्ने शैलीमा रुपान्तरित अझै भएका छैनन् । यसमा तपाईहरुको निरन्तर साथ रह्यो भने म जुन ठाउँमा छु, केही वर्षभित्र एउटा नयाँ वातावरण बनाउन सकिन्छ भन्ने विश्वासका साथ म अगाडि बढेको छु ।’

हामी नेपालको इतिहासको पनि एउटा असाध्यै महत्वपूर्ण अवसर र ठूलो चुनौतीको वीचबाट अगाडि बढेका छौं भन्दै प्रचण्डले नयाँ मूल्य मान्यताअनुसार नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षाका साथ अगाडि बढिराखेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment