Comments Add Comment

देवघाटमा माघे सङ्क्रान्तिको रौनक

१ माघ, चितवन । तनहुँ, चितवन र नवलपुरको संगम पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति मेलाको अवसरमा भक्तजनहरु ठूलो भिड लागेको छ । मंगलबार राति नै देवघाटमा आएर रातभर जाग्राम बसी बिहानै त्रिशुली र कालीगण्डकी नदीको संगमस्थलमा नुहाउनेहरुको भिड निकै थियो । हरेक वर्ष माघ १ गते देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलामा देशका विभिन्न भागबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आउने गर्दछन् । वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको थियो । नुहाउँदा कुनैपनि दुर्घटना नहोस् भनेर नदी किनार छेउमा डोरी टाँगिएको थियो ।

डुंगा र ¥याफ्टिङ सयरमा असक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे सङ्क्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरू देवघाट आउने गरेको बताए ।  मेला भर्न आएका दर्शनार्थीहरु रातभर ध्वनी बालेर जाग्राम बसी नाचगान गर्नुका साथै धार्मिक प्रवचनमा सहभागि भएका थिए । देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने व्यवस्था मिलाइएको थियो भने, त्रिशुली नदीबाट आवातजावात गर्न सहजता होस् भनेर ४० वटा डुंगाको व्यवस्था गरिएको छ । तनहुँ र चितवन तर्फ सुरक्षाका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब पाँच सय सुरक्षाकर्मीको परिचालन गरिएको थियो भने, देवघाट क्षेत्र विकास समितिका दुई सय स्वंयसेवक खटिएका थिए । ट्राफिक व्यवस्थापनका लागि ३० जना ट्राफिक प्रहरी मेलामा खटिएका थिए ।

भक्तजनको सवारी पार्किङ गर्दा चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मोटरसाइकल, कार, बसको पार्किङ शुल्क तोकिएको छ ।

देवघाट दर्शनका लागि रामनगर ठिमुराको बाटो प्रयोग गरेर आँपटारीबाट निस्कने प्रवन्ध मिलाइएको छ भने, काठमाण्डौं, धादिङ, पोखरा लगायतका क्षेत्रबाट आउने भक्तजनहरुले दासढुंगाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मेला भब्य बनेको बताए । गत बर्षभन्दा पनि यसपटक भक्तजनहरुको संख्या समेत बढेको उनको भनाइ छ । यस वर्ष हालसम्म कुनै पनि अप्रिय घटना केही नभएको अध्यक्ष पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment