Comments Add Comment

रुपन्देहीको सियारीमा माछा महोत्सव सुरु

१ माघ, बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाको अमवामा पहिलोपटक माछा महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटनका अवसरमा माछा किसानहरुले मत्स्य नीति, राष्ट्रिय मत्स्य विकास बोर्ड र छुट्टै मत्स्य निर्देशनालय गठन गर्न माग गरेका छन् ।

मत्स्य नीतिको फाइल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पुगेर अड्केको वर्षौं भएको गुनासो गर्दै किसानहरुले नीतिको अभावमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि वार्षिक ५ अर्बको माछा आयात भइरहेको बताए ।

मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारले मत्स्य नीति नल्याउँदा भारतबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने ‘फर्मालिन’ प्रयोग गरिएका माछाको आयात हुने गरेको बताए । माछापालक किसानहरु अझै पनि पशुपंक्षी नीति अनुसार चल्नुपरेको अधिकारीले गुनासो गरे ।  ‘मत्स्य नीति बनाउन र विकास बोर्ड गठन नगर्दा आत्मनिर्भर हुने अवस्था हुँदा हुँदै पनि वर्षेनी पाँच अर्बको माछा आयात गर्नुपरेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘एकातिर वर्षेनी ठूलो धनराशी बाहिरिएको छ, अर्कोतिर उपभोक्ता गुणस्तरहीन माछा खान वाध्य छन् ।’ अध्यक्ष अधिकारीले तत्काल मत्स्य नीति ल्याइ भारतीय माछाको आयात नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । क्वारेन्टाइन र भन्सारमा कडाइ नहुँदा सस्तो दरमा भित्रिने भारतीय माछासँग नेपाली किसानले मूल्यमा प्रतिस्पर्धा गर्न कठिन भएको पनि अधिकारीले गुनासो गरे ।

मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले माछापालन र समग्र कृषि क्षेत्रका समस्याबारे तीनै तहका सरकारको ध्यानाकर्षण गराउन र किसानलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको बताए ।

अनुदानमा दुरुपयोग रोक्छौं : मन्त्री भुसाल

महोत्सव उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताए ।

कृषि अनुदानमा दुरुपयोग भएका कुराहरु आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताए ।

नेपालको कृषि क्षेत्रलाई आधुनिक ढंगले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको बताउँदै मन्त्री भुसालले किसानलाई व्यावसायिक बनाउन कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणको विकल्प नभएको बताए । बीउबीजन सम्बन्धी राष्ट्रिय नीति र गतिविधिहरुलाई संघीय ढाँचा अनुरुप बनाउन आवश्यक सबै खालको कानून संशोधन गर्ने पनि उनले बताए । माछा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्दै माछाको उत्पादन बढाउने नीति सरकारले लिने मन्त्री भुसालले बताए । ‘रुपन्देहीलाई माछा उत्पादनमा मुलुककै नमुना बनाउने गरी म लाग्छु, तपाईंहरु पनि लाग्नुस्,’ मन्त्री भुसालले भने, ‘माछाको बजारीकरण गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न र कृषि पर्यटनको समेत विकास गर्न सकिन्छ ।’

महोत्सव उद्घाटनका अवसरमा प्रदेशसभा सदस्य तुलसी चौधरीले माछाको सुपरजोन भविष्यमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले गुणस्तर वृद्धि गर्न र उत्पादन बढाउनतर्फ किसानहरुलाई प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने भन्दै लुम्बिनी आएका बाह्य पर्यटकलाई माछा महोत्सवमा ल्याउन लुम्बिनी विकास कोषले सहयोग गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका सञ्चालक समिति संयोजक गणेश शाहीले रुपन्देहीको उत्पादनले माछामा मुलुकलाई नै आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने सम्भावना रहेकाले सरकारले किसानमैत्री नीति बनाउनुपर्ने बताए ।

रुपन्देहीको सियारी, शुद्धोधन, मायादेवी र गैडहवा गरी चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिकामा प्रथम माछा महोत्सव आयोजना गरिएको हो ।

पाँच दिनसम्म चल्ने महोत्सवमा माछापालनसँग सम्बन्धित आधुनिक प्रविधि, दाना, माछाका भुरा लगायत मत्स्य सम्बन्धी ३६ वटा स्टल राखिएका महोत्सव सचिवालय संयोजक मत्स्य विकास अधिकृत रमेश जैसवालले बताए । महोत्सवमा माछाका परिकारहरु, स्थानीय थारु खानाका परिकार, बल्छी प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति आकर्षणको रुपमा रहने जैसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment