+
+
Shares

योगलाई अन्धविश्वाससँग नजोडौं

गिरिराजमणि पोखरेल गिरिराजमणि पोखरेल
२०७६ माघ २ गते १२:५३

माघ १ गतेलाई हामीले राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएका छौं । सबैभन्दा पहिले सम्पूर्णलाई योग दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

हुनत नेपालले औपचारिक निर्णय गरेर राष्ट्रिय योग दिवस मनाएको यो पाँचौं वर्ष हो । तर जनस्तरमा माघ १ गते योग दिवस मनाएको चार दशक भैसकेको छ । प्राचिनकालको आफ्नै खोजी ‘योग-ध्यान’लाई आधुनिककालमा जनजनमा पुर्‍याउने अभियानमा लाग्नु यो दिवसको मुल उद्देश्य हो । सरकार, गैरसरकारी क्षेत्र र योग ध्यानमा लाग्नुभएका सबै अभियन्ताहरु एकताबद्ध हुन सकियो भने सार्थक अभियान अगाडि बढ्नसक्छ ।

‘योग’ संस्कृत शब्द ‘युज’ बाट प्रादुर्भाव भएको मानिन्छ । यसको अर्थ हो व्यक्तिगत चेतनाको ब्रम्हाण्डीय चेतनासँग एकता हुनु । शरीर, मन र भावनाबीचमा सन्तुलन कायम राख्ने र मान्छे-प्रकृतिबीच गहिरो एकता गर्ने सशक्त माध्यम ‘योग-ध्यान’ हो । ‘योग-ध्यान’ ले समष्टिगत प्रणालीलाई अभिव्यक्त गर्दछ । यो केवल व्यायाम नभएर जीवनसँग आवद्ध भौतिक, मानसिक, भावानात्मक र आत्मिक पक्षलाई समेट्ने समग्र स्वास्थ्यको आवश्यक प्रक्रिया हो । त्यसैले ‘योग-ध्यान’ लाई जीवन पद्धती र जीवनशैलीको रुपमा लिइन्छ ।

हुनत योग विज्ञानलाई १० हजार वर्ष पुरानो मानिन्छ । यस सम्बन्धमा अध्ययन जारी छन् । खोजीहरु जारी छन् । जे होस् यो दक्षिण एसियाको प्राचिन बिज्ञान हो । सिन्धु सरस्वती सभ्यता अध्ययन गर्नेहरुले त्यो बेलाका ठूला शहरमा ‘मुलबन्द आसन’मा बसेको मान्छेको छाप फेला पारेका छन् । भारतीय अध्ययनकर्ता एमएस भाटको अध्ययनमा ४ हजार २ सय वर्ष पहिले हरप्पामा शिवलिङ्ग फेला परेको थियो । यी सबै तथ्यले योग प्राचिन विद्या हो भन्ने पुष्टि गर्छ ।

मानव जातिका पीडा अहिले मात्र होइन पहिले पनि थिए । त्यही पीडाबाट मुक्त हुन त्यो बेला योग ध्यानको खोजी भयो । यस्तो खोजी गर्ने पहिलो योगी आदि योगी मानिन्छन् । बोलिचालीमा शिव, पशुपति, भोलेबाबा पनि भनिन्छ । नेपाल हिमवत खण्डको एक भाग भएकाले योग ध्यानको जन्म नेपालमा भएको प्रवल सम्भावना छ । यसको अध्ययन, अनुसन्धानका लागि अध्येता र विश्वविद्यालयहरुको ध्यान जान जरुरी छ ।

बुद्ध, जनक, कपिल जन्मेको देश यही हो । विभिन्न कालखण्डमा उहाँहरुले गर्नुभएको योगदान ‘ध्यान र योग’सँग सम्बन्धित छ । योग ध्यानका लागि नेपाल उत्कृष्ट स्थान हो । यही कारण प्राचिनकालमा यहाँको वातावरण, भौगोलिक र अन्य पक्षलाई सदुपयोग गरेेर नै यी महान व्यक्तित्वहरुले यो विज्ञानको निर्माण गरेका हुन् । यो प्राचिन विज्ञान हो । हाम्रै भूखण्डमा हाम्रै अग्रजहरुले प्रतिपादन गरेको यो प्राचिन विज्ञानलाई आधुनिक विज्ञानले खोजी गरेका निष्कर्षहरुसँग संयोजन गरेर समृद्ध बनाउनु छ ।

हाम्रो गिदीमा रहेका ८६ अरब न्युरोनको अनियन्त्रित गतिविधिलाई शान्त पार्न योग ध्यानले मद्दत पुर्‍याउँछ । मुलत केन्द्रीय स्नायु प्रणाली को गतिविधिलाई सन्तुलन राख्नु ‘योग-ध्यान’ को मुख्य काम हो

योगको विषेशता भनेकै सबै व्यक्तिले यसलाई लागू गर्न सक्नु हो । प्रौढ होस् वा युवा, स्वस्थ होस् या बिरामी सबैले यसलाई अभ्यास गर्न सक्छन् । योगको लाभको सम्बन्धमा सम्पूर्ण विश्व नै एकमत छ । घृणा, वितृष्णा, लालसा, क्रोध, इर्ष्या, मोह तथा अशान्तिबाट निरन्तर अक्रान्त मान्छे प्रेम, शान्ति र स्वस्थता कायम गर्न चाहन्छ । यस सन्दर्भमा ‘योग-ध्यान’ले असामान्य भूमिका खेल्छ भन्ने कुरामा विश्व एकमत भएको छ । त्यसैले अहिले राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय योग दिवस मनाइएका छन् । र यो दिशामा सार्थक प्रयत्न पनि भइरहेका छन् ।

भौतिक सुखको खोजीमा भौतारिएको मान्छेसँग यत्तिखेर दम, मधुमेह, अल्जाइमर्स, उच्च रक्तचाप जस्ता रोगहरु बढिरहेका छन् । नेपालमा पनि कहालीलाग्दा दृश्यहरु देखिरहेका छन् । युवाहरु आत्महत्या, मानसिक तनाव, भावनात्मक आक्रमण जस्ता घटनातर्फ अघि बढिरहेका छन् ।

यस्तो अवस्थामा ‘योग-ध्यान’ ले रोगमुक्त भएर स्वस्थ रहन, मोटोपन कम गर्न, मानसिक तनावबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, शरीरमा लचिलोपन ल्याउन, एकाग्रता वृद्धि गर्न, कार्यसम्पादनमा सक्षमता ल्याउन सहयोग गर्ने कुरा तथ्यहरुले बताएका छन् । तर यसको अर्थ योगलाई स्वास्थसँग मात्र जोडेर हेर्नु हुँदैन । ‘योग-ध्यान’, व्यायाम, आसन तथा स्वासप्रश्वास लिने एक प्रणाली मात्र नभएर यो मनोदहिक (psycho-somatic) रुपमा स्वस्थ रहने मानव जीवन पद्धति हो ।

व्याकुलतामा रहेको मनले केही गर्न सक्दैन । अस्थिर मनले विश्रान्ती प्राप्त गर्न सक्दैन । यस्तो स्थितिमा ध्यानले मन र मस्तिष्कलाई एकाग्रता प्रदान गरेर वर्तमान मनलाई ‘न-मन’ को अवस्थामा पुर्‍याउन सहयोग गर्छ । ध्यानबाट चित्त शान्त भएर जान्छ । मन एकाग्र भएर जान्छ । मस्तिष्क तथा शरीरको कायाकल्प भएर जान्छ । ऊर्जा स्तरमा बढोत्तरी हुन्छ । प्रशन्नता वृद्धि हुन्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । अध्ययनले देखाएको छ, ध्यान गर्ने विद्यार्थीहरुमा आत्मबल वृद्धि हुने गरेको छ । बढी ऊर्जाशील हुने र परीक्षामा राम्रो सफलता हासिल गर्ने गरेका छन् ।

ध्यान मुलतः स्थुल, ज्योतिर्मय र सुक्ष्म तीन प्रकारका छन् । तर यसका वरीपरी हजारौं प्रकारका ध्यानहरुका पद्धति विकसित भएका छन् । यस विषयमा अझै खोजी भइरहेको छ । हालको अध्ययनबाट के कुरा ज्ञात भैसकेको छ भने अकेन्द्रिभूत मस्तिष्क (brain fog) चिकित्साको लागि ध्यान एक उपयुक्त उपाय हो । ध्यानले तीक्ष्ण स्मरण शक्तिको वृद्धि मात्रै गर्दैन, नसासम्बन्धी धेरै समस्याहरु पनि हल गरेको छ । मनोचिकित्सा रिसर्च जर्नलले हार्डवर्ड विश्वविद्यालयबाट गरेको एक अध्ययनलाई प्रकाशित गरेको छ । अध्ययन रिपोर्टअनुसार आठ हप्ता मात्र गरेको ध्यानले Hippocampus को मोटाइको आकार ठूलो भएको देखाएको छ । Hippocampus दिमागको तल्लो भाग हो जसले भावना र सोचाइको प्रक्रियालाई अघि बढाउँछ ।

पूर्वमा विकसित भएको योग ध्यान र पश्चिममा भएका वैज्ञानिक खोजहरुलाई जोडेर लैजानु यतिखेर योग दिवसको महत्वपूर्ण पक्ष हो । प्राचिन र अर्वाचिन दुवै वैज्ञानिक सोचहरुलाई मिलाएर नै आधुनिक जीवनका समस्यालाई समाधान गर्न सकिन्छ । हाम्रो गिदीमा रहेका ८६ अरब न्युरोनको अनियन्त्रित गतिविधिलाई शान्त पार्न योग ध्यानले मद्दत पुर्‍याउँछ । मुलत केन्द्रीय स्नायु प्रणाली को गतिविधिलाई सन्तुलन राख्नु ‘योग-ध्यान’ को मुख्य काम हो ।

धेरै शान्त मनमा ठूला आनन्द मात्रै होइन ऊर्जा शक्ति पनि प्राप्त हुन्छ । तपस्या गर्नु भनेको नै ‘योग-ध्यान’ हो । हाल विज्ञानले के पनि खोजी गरिसकेको छ भने हाम्रो दिमागले शरीरले प्रयोग गर्ने ऊर्जाको लगभग ३२ प्रतिशत ऊर्जा उपयोग गर्छ । यही ३२ प्रतिशत ऊर्जालाई २० प्रतिशत घटाएर १२ प्रतिशत जोगाउन सकियो भने त्यसले एउटा मान्छेलाई दिनभर प्रफुल्ल, शान्त बनाउन योगदान दिन्छ ।

अध्ययनहरु बिचित्र छन् । ५० वर्षको मान्छेलाई २५ वर्षे जस्तै ताजा र युवा दिमागी बनाइएका सच्चाइहरु फेला परेका छन् । नियमित ‘योग-ध्यान’ले आयु लम्बिएका तथ्यहरु पनि फेला परेका छन् । यी सबै पक्षहरुलाई हेरेर हामीले एकातिर योग र ध्यानसँग सम्बन्धित काम गर्न योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्दैछौं । अर्कोतिर विद्यालय शिक्षामा नै योग, आयुर्वेद, जडिबुटी, प्राकृतिक चिकित्सा पढाउने पाठ्यक्रम तयार गरेका छौं । साथै हरेक नागरिकलाई योगसँग जोड्न योगाभ्यास पुस्तिका पनि तयार गरेका छौं ।

योगलाई अन्धविश्वाससँग जोडेर यसको मूल मर्मलाई बिगार्ने कार्यहरु पनि भइरहेका छन् । यसप्रति सचेत हुन जरुरी छ । त्यो भनेको हामीले वैज्ञानिक चिन्तन, दृष्टिकोण, संस्कार निर्माण गर्नु हो । यसका लागि नै योग दिवस अपरिहार्य भएको छ । योग दिवसको मूल उद्देश्य योगलाई वैज्ञानिक जीवनको एउटा अभिन्न अंग बनाउनु हो । यो एउटा शुद्ध विज्ञान हो । यसलाई जीवनपद्दती बनाऔं । यो कुनै चमत्कार नभएर एउटा मानवका लागि कल्याणकारी विज्ञान हो । यसलाई आत्मसात गरौं । यस सन्दर्भमा आफैंले अनुभूत गरी यसको मर्म बुझ्न जरुरी छ । स्वयमले अभ्यास गर्नुपर्छ । आफ्नै जीवनमा प्रयोग गरौं । आफ्नै जीवनमा स्वयम् अनुभूति गरौं ।

(पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?