+
+
Shares

खानेपानी मन्त्रालयको मोटरसाइकल महिनौंदेखि झाडीमा अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १२:४९

२ माघ, गोरखा । खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा फालिएको छ ।

बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल केही महिनादेखि झाँडीमा अलपत्र अवस्थामा छाडिएको स्थानीयले बताएका छन् । सो ठाउँका नवराज अर्यालले उक्त मोटरसाइकल ल्याएर छाडेको स्थानीयको भनाइ छ ।

अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम गर्थे । मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो । जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाँडीमा अलपत्र छाडेर उनी वेपत्ता छन् ।

‘अर्यालले यो मोटरसाइकल दशैंअघि नै यही नजिकैको दशमुरे खोलामा छाडेको थियो,’ स्थानीय मायानाथ अर्यालले भने, ‘कसले खोलामा पल्टाइदिएछ, यही गाउँका मान्छेले खोलाबाट उठाएर यता राखिदिए ।’ उक्त मोटरसाइकल सम्बन्धित निकायमा बुझाइदिन आग्रह गरे पनि नवराजले वेवास्ता गरेको स्थानीयले बताएका छन् ।

‘सरकारी बाइक मरेको मान्छे जस्तै अलपत्र भएर बसेको छ, घर लगेर राखे पनि हुन्थ्यो, यसरी झाडीमा विजोग बनाएर राखेको छ,’ स्थानीय डम्बरबहादुर दमाइले भने । प्रहरीलाई खवर गर्दा पनि फोटो मात्र खिचेर लगेको उनले बताए ।

सरकारी मोटरसाइकल गाउँमा अलपत्र अवस्थामा रहँदा नराम्रो सन्देश गएको वडाध्यक्ष राम बहादुर वोगटी बताउँछन् । ‘सम्बन्धित निकायले ध्यान नदिएको हो कि, राज्यको सम्पत्ति यसरी अलपत्र छाड्दा पनि किनवास्ता नगरेको हो,’ उनले भने ।

अलपत्र अवस्थामा रहेको उक्त मोटरसाइकललाई घाम र पानीबाट जोगाउन स्थानीयले जस्ता र कुटले छोपिदिएका छन् । महिनौंदेखि मोटरसाइकल अलपत्र अवस्थामा हुँदासमेत मन्त्रालयले चासो दिएको छैन ।

मन्त्रालयका कर्मचारी दीपेन्द्र केसीलाई सम्पर्क गर्दा उनले मोटरसाइकल कहाँ छ भन्ने थाहा नभएको बताए । ‘नवराज भन्नेलाई हामीले जागिरबाट निकालिसक्यौ, मोटरसाइकल कहाँ लग्यो भन्ने थाहा थिएन, अब थाहा भयो हामी लिन पठाइहाल्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?