Comments Add Comment

रानीपोखरी शिलान्यासको ४ वर्ष पूरा, १२ वैशाखमा सकिएला ?

२ माघ, काठमाडौं । १९९० साल माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा नेपालको धर्ती जोडले हल्लिएको थियो । यसलाई आज पनि ‘९० सालको भुइँचालो’ भनेर सम्झिने गरिन्छ ।

त्यही भुइँचालोको सम्झनामा हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालियो । तर २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान गयो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । चार वर्षअघि यही दिवस पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । तर, अहिलेसम्म पुनर्निर्माण सकिएको छैन ।

विभिन्न समयमा आएका बाधा–अवरोध र सरकारी ढिलासुस्तीका कारण पनि रानीपोखरीको पुनर्निर्माण लम्बिएको हो । पहिले काठमाडौं महानगरपालिकाले आफैं पुनर्निर्माण शुरु गरेको थियो । महानगरले निर्माण गरिरहँदा पुरातात्विक सम्पदामा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गरिएको भन्दै तीव्र आलोचना भयो । यतिसम्म कि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी नै दुई कित्तामा उभिए ।

त्यसबेला विरोधकर्ताहरुको माझमा उभिएर उपमेयर खड्गीले रानीपोखरीमा तालासमेत लगाइन् । अन्ततः रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइयो । अहिले भने काम धमाधम भइरहेको छ । प्राधिकरणका अधिकारीहरुले आगामी वैशाखमा काम सकिने दावी गरेका छन् ।

किन भयो ढिलाइ ?

गत वर्ष पुसमा रानीपोखरी पुनर्निर्माणको विषय निकै चर्चामा थियो । रानीपोखरीमा कंक्रिट प्रयोग गरिएको भन्दै संरक्षणकर्मीले त्यसको खुबै आलोचना गरे ।

सम्पदा संरक्षण अभियन्ताहरुको आन्दोलमा उपमेयर खड्गीले समेत साथ दिइन् । उनकै उपस्थितिमा रानीपोखरीको गेटमा ताला लाग्यो । पुरातत्व विभागको स्वीकृतिविना बनेको भन्दै रानीपोखरीमा ताला लगाइएको उमपेयर खड्गीले बताइन् ।

त्यसको २४ घण्टा पनि वित्न नपाउदै महानगरका मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगे र गेटमा लगाएको ताला फोड्न लगाए । त्यसयता पनि विभिन्न समयमा नयाँ–नयाँ समस्या आइलागे । तर गत असारमा प्राधिकरणले कामको जिम्मा लिएपछि भने अवरोध आएको छैन ।

मेयर शाक्य महानगरको विरोधकै लागि रानीपोखरीमा अवरोध सिर्जना गरिएकाले पुनर्निर्माणमा ढिलाइ भएको बताउँछन् । त्यसबेलाको विरोधमा राजनीतिक स्वार्थसमेत देखिएको उनको आरोप छ । उनले भने, ‘महानगरले बनाउँदा विभिन्न बहानामा विरोध भए । अहिले मज्जाले काम भइरहेको छ । महानगरकै चाहिँ किन विरोध गर्नु परेको ?’

८० प्रतिशत काम सकियो

प्राधिकरणका अनुसार अहिले रानीपोखरी पुनर्निर्माणको काम ८० प्रतिशत सकिएको छ । ०७२ को भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माण एक वर्षभित्रमै सक्ने गरी राष्ट्रपति भण्डारीले सोही वर्ष पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।

प्राधिकरणले पोखरीको काम स्थानीय उपभोक्ता समितिमार्फत रानीपोखरी सहजीकरण समितिलाई जिम्मा दिएको थियो भने बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको लागि सीए तुलसी कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । बालगोपालेश्वर मन्दिर र पुल पुनर्निर्माणको जिम्मा पाएको सीए तुलसी कन्स्ट्रक्सनले पुलको काम ८० प्रतिशत सकिएको र मन्दिरको काम ३५ प्रतिशत सकिएको बताएको छ ।

त्यस्तै पोखरी सम्पन्न गर्ने जिम्मा पाएको रानीपोखरी सहजीकरण समितिले पोखरीको माथिल्लो भागमा बुट्टेदार इँट्टा लगाउने र ढुंगामाथि माछाकाँडे बुट्टा भर्ने काम भइरहेको जनाएको छ । बुट्टा भर्ने काम सकिएपछि पोखरी वरिपरी बगैंचा बनाउने काम बाँकी छ ।

पुलको काम आधाभन्दा बढी सकिए पनि पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरमा भने काठ ठड्याउने काम भइरहेको छ । सामान समयमा नै आइपुगे आगामी वैशाखसम्म काम सकिने सीए तुलसी कन्स्ट्रक्सनका साइट इन्जिनियर सनम श्रेष्ठले बताए ।

उनले भने, ‘भर्खरै मन्दिरको पहिलो चरणको काम सुरु भएको छ । मन्दिरमा आवश्यक इँटा, ढुङ्गा, काठ लगायतका सामान समयमा आइपुगेमा हामीले सम्झौताअनुसार काम सक्छौं ।’

प्रताप मल्लकै पालाको इँट्टा प्रयोग

सीए तुलसी कन्स्ट्रक्सनले पोखरी र मन्दिर पुनर्निर्माणको काम सक्न प्राधिकरणसँग १३ करोड रुपैयाँको सम्झौता गरेको थियो, जसअनुसार ४ करोड ५५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

मन्दिरसम्म पुग्ने पुलमा भने प्रताप मल्लकै पालाको इँट्टा पनि प्रयोग गरिएको छ । पुरानो इँट्टा बलियो हुने भनेर प्रयोग गरिएको कन्स्ट्रक्सनका साइट इन्जिनियर श्रेष्ठ बताउँछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गत असारमा ठेक्का पाएको सीए तुलसी कन्सट्रक्सनले आगामी वैशाखसम्म मन्दिर र पुलको काम पूरा गरिसक्नुपर्ने छ ।

यसअघि पोखरीमा पानी अड्याउनको लागि भक्तपुरका महिला कलिगढहरुलाई खटाइएको थियो । भक्तपुरबाट आएका ६० जना महिला कामदारहरुले पोखरी वरपर गाह्रो लगाउने, झार उखेल्ने, माटो मुछ्ने लगायतका काम गरेका थिए । गाह्रो लगाउने काम सकिएपछि जमिनमा माटो मुछ्नका लागि उनीहरुलाई नै लगाउने भनिएको थियो । तर हातैले माटो मुछ्दा ढिला हुने भएकाले महिला कामदारहरुलाई विदा दिएर प्राधिकरणले माटो मुछ्न डोजर लगायो ।

केही सम्पदाविले डोजर लगाउँदा रानीपोखरीभित्र रहेको ऐतिहासिक बस्तुहरु नाश हुने भनेर विरोध गरे । अर्कोतिर भक्तपुरबाट आएका महिला कामदारहरुलाई काम नसकी विदा गरेको भनेर उपभोक्ता समिति रुष्ट बन्यो । प्राधिकरणले भने डोजर लगाएर माटो मुछ्ने काम जारी राखेको छ । हाल जमिनमा पानी अड्याउनको लागि कालोमाटो ओछ्याएर इँटा छाप्ने काम भइरहेको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बैशाख १२ गते उदघाटन गर्ने गरी काम सक्ने तयारी भइरहेको बताए । ‘हाम्रो लक्ष्य भनेको बैशाख १२ गते उदघाटन गर्ने हो । अहिलेसम्मको प्रगति हेर्दा त्यो कठिन छैन,’ उनले भने ।

बोरिङ गरेर पानी भर्ने योजना

उपभोक्ता समितिले पोखरीमा कालोमाटो लगाउने र इँट्टा छाप्ने काम सक्न लाग्नेवित्तिकै बोरिङ खनेर रानीपोखरीमा पानी भर्ने भएको छ । उपभोक्ता समितिले पोखरीभित्रबाटै २ वटा बोरिङ खनेर पानी भर्ने प्राविधिक राजुमान महर्जनले बताए ।

‘माटो ओछ्याउने काम सकिएपछि पोखरीको माथिल्लो डिलमा २ सय मिटर बोरिङ गरेर पानी भर्ने काम गर्छौं, त्यसका लागि प्राधिकरणमा कुरा राखिएको छ,’ उनले भने । महर्जनका अनुसार पोखरीमा राखिने पानी पोखरीबाटै तानिने हो । बाहिरबाट हाल्नुपर्दैन ।

हाल बगैँचा सौन्दर्यकरणकोे काम पनि अघि बढिसकेको छ । तत्कालीन राजा प्रताप मल्लले मल्लकालीन शैलीमा बनाउन लगाएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा तयार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment