Comments Add Comment

घरेलु लिग खेल्न आतुर सन्दीप

२ माघ, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने ग्लोबल आइकन बनिसकेका छन् । त्यसैले विदेशी लिगहरुमै व्यस्त छन् । अहिले पनि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका छन् । उनको टिम मेलवर्न स्टार्स शीर्ष स्थानमा छ ।

गत वर्ष फाइनल पुगे पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएपछि स्टार उपाधिबाट बन्चित भएको थियो । यस सिजन सन्दीप र मेलवर्न दुवैले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेलबर्न स्टार्सले च्याम्पियन बन्ने छनक देखाइसकेको छ ।

गत सिजन एभरेष्ट प्रिमियर लिग (इपीएल) बीचमै छाडेर सन्दीप बीबीएल खेल्न अष्ट्रेलिया पुगेका थिए । ललितपुर प्याट्रिओट्सबाट २ खेल खेल्दै उनी ड्रिम लिग खेल्न गएका थिए । यो सिजन त्यही ड्रिम लिग खेलेपछि घरेलु लिग खेल्न आउँदैछन् ।

गतवर्ष पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गरेका सन्दीपले त्यसयता घरेलु लिग खेलेका छैनन् ।

यस पटक उनलाई काठमाडौं किंग्स ११ ले अनुबन्ध गरेको छ । ईपीएल चैत १ देखि १५ गतेसम्म हुँदैछ ।

प्लेअर ट्रेडमा काठमाडौंले सन्दीपलाई ललितपुरबाट लिएको हो । अनुबन्ध रकम खुलाइएको छैन ।

नयाँ सिजन नयाँ फ्रेन्चाइजमा अनुबन्ध भएपछि सन्दीपले खुशी व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत नयाँ सिजन काठमाडौंबाट खेल्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

‘आगामी ईपीएलको लागि काठमाडौं किंग्स ११ मा अनुबन्ध हुँदा खुशी छु । लामो समयपछि घरेलु लिग खेल्न लागेको छु । घरेलु दर्शकको अगाडि खेल्न पाउनु रमाइलो हुन्छ । धेरै प्रतीक्षा गर्न सक्दिन’ सन्दीपले ट्वीटमा लेखेका छन् ।

सन्दीपले यस सिजन बीबीएलमा स्टार्सका लागि ९ खेल खेल्दै ११ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिनेमा बलरहरुको सूचीमा आठौं स्थानमा छन् । सिड्नी थण्डरका ड्यानिएल साम्सले सर्वाधिक १७ विकेट लिएका छन् । मेलवर्न स्टार्सकै पाकिस्तानी खेलाडी हरिस राउफले पनि ७ खेलमा १६ विकेट लिएका छन् ।

सन्दीपले पछिल्लो पटक नेपालमा लिग खेल्दा पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । उनले ५ खेलमा १० विकेट लिए पनि विराटनगरले भने जम्मा १ खेल मात्र जित्दै लिग तालिकाको अन्तिम स्थानमा रहेको थियो । यस पटक आँखाको लेजर शल्यक्रिया गरेको नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत नखेलेका सन्दीपले दोस्रो संस्करणको पीपीएल पनि खेलेनन् । उनी बीबीएल खेल्न अष्ट्रेलिया गएकाले पीपीएल नखेलेका हुन् ।

उनको अनुपस्थितिमा प्रदीप ऐरीले विराटनगर टाइटन्सको कप्तानी गरेका थिए र विराटनगर फाइनलमा चितवन राइनोजसंग पराजित हुँदै उपविजेता बनेको थियो ।

सन्दीपले २०१७ मा ललितपुर प्याट्रिओट्सबाटै ईपीएल खेलेका थिए । उनले त्यसमा ७ खेल खेल्दै ९ विकेट लिएका थिए ।

२०१८ मा इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा छनोट भएपछि विश्वभर चर्चित बनेका सन्दीपले त्यसयता प्राय सबै देशमा फ्रेन्चाइज लिग खेलिसकेका छन् । उनले भारत र अष्ट्रेलियाका साथै क्यानडा, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र अबुधावी टी– १० लिगसमेत खेलेका छन् ।

यस्तै इंग्ल्याण्डमा हुन लागेको नयाँ फर्म्याटको दी–१०० बल क्रिकेटको लागि उनी छनोट भइसकेका छन् ।

सन्दीपले सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले ओडीआईमा ६ खेल खेल्दै १५ विकेट लिएका छन् भने टी–२०आईमा १८ खेलबाट २८ विकेट लिएका छन् । गत नोभेम्बरमा टीयू मैदानमै एमसीसीविरुद्ध फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका सन्दीपले डेब्युमै नटआउट ३९ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment