Comments Add Comment

ललिता निवास जग्गा प्रकरणमा शोभाकान्तको भूमिका के ?

२ माघ, काठमाडौं । बालुवाटारमा ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकालको नागार्जुन–१, नर्सरी चोकस्थित घरमा बुधबार बम विस्फोट भयो ।

विस्फोटको जिम्मा लिएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पम्पलेटमा ढकाललाई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपञ्च गर्नेमध्येका मुख्य योजनाकार भनिएको छ । गैर–कानूनी काम गरेको आरोप लागेका ढकालविरुद्व विप्लव समूहले गैरकानुनी हर्कत नै गरेको देखिन्छ ।

यो हर्कतले पूर्वप्रधानमन्त्रीहरू, मन्त्री, प्रभावशाली नेता, व्यावसायी, कर्मचारी लगायतको नाम जोडिएको बालुवाटार जग्गा अनियमितता प्रकरणमा ढकालको भूमिका के हो त ? भन्ने प्रश्नलाई अझ चर्काइदिएको छ ।

घोषित भूमाफिया

पूर्व सचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको छानबिन समितिले डा. ढकालको नामै किटेर कारवाही गर्नुपर्ने सुझाव दिएको छ । समितिका अनुसार उनले सरकारी, सार्वजनिक र गुठीको जग्गा आफू र आफ्नो परिवारका सदस्यहरुको नाममा दर्ता गरेका थिए ।

‘ललिता निवास क्याम्पा भित्रको जग्गाका सम्बन्धमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूलाई विभिन्न किसिमको प्रभावमा पारी सरकारी, सार्वजनिक तथा गुठी समेतका जग्गाहरू व्यक्ति (आफू र आफ्नो परिवारका सदस्य लगायतका नाउँमा समेत) को नाममा दाखिल खारेज गर्न सहयोग गर्ने डा. शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदी समेतको संलग्नता देखिएको’ समितिले प्रतिवेदनमा भनिएको छ, ‘र यस्ता भूमाफियाहरूले नेपालका अन्य स्थानहरूमा समेत यस किसिमको हर्कत गरेको हुनसक्ने सम्भावना समेत रहेकोले निजहरूका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत अनुसन्धान गर्ने ।’

जानकारहरुकाअनुसार रामकुमार सुवेदी र डा. ढकाल बीच तीन दशक पुरानो मित्रता छ । बालुवाटारको जग्गा हडप्ने क्रममा सुवेदीले नक्कली मोही खडा गर्ने काम गरेको जानकारहरू बताउँछन् ।

ऋण खोजेर घुस

त्रिताल छानविन समितिका एक सदस्यका अनुसार राजनीतिक तहबाट मिलाउनुपर्ने सम्पूर्ण कुराको जिम्मा डा. ढकालले लिएका थिए । ती सदस्य भन्छन्, ‘नेता, मन्त्री, अदालत, कर्मचारीलाई हातमा लिने काम ढकालले गरेको देखिन्छ ।’

सरकारी जग्गा हडप्न आवश्यक सम्पूर्ण रकमको जोही पनि ढकालले नै गरेका थिए । उनले कालोधन सेतो बनाउन खोजिरहेका व्यवसायीको रकम प्रयोग गरेको ती सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

जग्गा बालुवाटारको जग्गा आफ्नो बनाउन ऋण खोजेरसमेत आफूले घुस दिएको डा. ढकालको अडियो संवाद सार्वजनिक भइसकेको छ । नातामा आफ्ना भान्जीबुहारी शान्ता खनालसँगको अडियोमा उनले सरकारी जग्गा दर्ता गर्दा घुस खुवाउनु परेको उल्लेख गरेका छन् ।

ललिता निवासको विवादित जग्गामध्ये आठ आना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा छ । उमा ढकालको नाममा रहेको कित्ता नम्बर ३०९ र माधवी सुवेदीका नामको कित्ता नम्बर ३१५ को जग्गा नवीनमा नामसारी भएको देखिन्छ । उमा डा. ढकालकी श्रीमती हुन् भने माधवीका श्रीमान् रामकुमार सुवेदी हुन् ।

पुर्वएमालेको स्वास्थ्य विभाग सदस्य रहेका डा. ढकाल महासचिव पौडेलसँगको सम्बन्धकै कारण नेकपाभित्र पनि प्रभावीशाली मानिन्छन् ।

के हो बालुवाटार जग्गा प्रकरण ?

ललिता निवासभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारेको विषय बुझ्न आधा दशकअघि फर्कनु पर्ने हुन्छ । पञ्चायती सरकारले २०२१ साल मंसिर १७ गते नेपाल राजपत्र सूचना प्रकाशित गरेर ललिता निवास सहित ६ वटा दरबार क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको थियो ।

बालुवाटारमा सुवर्ण शमशेर र कञ्चन शमशेरको १४ रोपनी एक जग्गा भने जफत भयो । जफत भएको जग्गा कटाएर २८४ रोपनी जग्गाको मुआब्जा सरकारले दियो । अर्थात् २९९ मध्ये २८४ रोपनी अधिग्रहण भयो भने १४ रोपनी जफत ।

२०४७ सालमा नेपाली काग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदबाट २०१७ सालपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि भएका संघर्षहरूमा संलग्न भएका कारणबाट कसैको सम्पत्ति जफत भएको रहेछ भने गृह मन्त्रालयले छानविन गरेर, जफत भएको जग्गा यकिन भइसकेपछि कानूनी प्रक्रिया पु¥याएर सम्बन्धित व्यक्तिलाई फिर्ता दिने भन्ने निर्णय भयो ।

गृह मन्त्रालयले छानविन गरेर मन्त्रिपरिषदबाट निर्णय गरेर मात्रै फिर्ता गर्नुपर्नेमा भूमाफियाहरूले चलखेल गरेर २५ पुस २०४९ मा गुठीको जग्गा समेत ११२ रोपनी चार आना जग्गा सुनिती राणा, शैलेजा राणा, रुक्म शमशेर जबरा, हेमन शमशेर जबरा र हाटकशमशेर जबरालाई दिए ।

मालपोत कार्यालय डिल्लीबजारले १०२४ र १०२५ को मिसिल खडा गरेर जग्गा दिएको देखिन्छ । यसबापत कर्मचारीहरूले २४ रोपनी जग्गा भागबण्डा गरेर लिए ।

२०२१ मा प्रकाशित सूचनाअनुसार बालुवाटार ललिता निवासमा सुवर्ण शमशेर र कञ्चन शमशेरको अंशभाग जति १४ रोपनी ११ आना मात्रै जफत भएको भनिएको छ । तर उनीहरूले ११२ रोपनी ४ आना जग्गा दर्ता गरी २०६० साल पुस १५ मा हालसावी गरेर २०६० फागुन २५ मा बेचे ।

बाटो, राजकुलो भएको र सरकारी जग्गामा पनि मालपोत कार्यालयले मोही कायम गरेर आधा दिन्छौं भन्ने निर्णय गराइयो । यो सम्पूर्ण प्रकरणमा डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी प्रमुख जिम्मेवार रहेको त्रिताल आयोगको निश्कर्ष छ ।

मुद्दा दर्ताको तयारी

सरकारी, गुठी र सार्वजनिक जग्गामा भूमाफियाले रजाईं गरेको विषय सार्वजनिक भएपछि सरकारले २०७५ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुसन्धान गर्ने जिम्मेवारी दियो ।

पूर्वप्रधानमन्त्रीहरू, शक्तिशाली नेता, व्यावसायी, कर्मचारी तानिएको यो प्रकरणको छानविन नसिकिएपछि २०७६ असार, भदौ र मंसिरमा समितिको म्याद थप भयो । छानविनको काम सकिएर मुद्दा दर्ताको तयारी भइरहेका बेला विप्लव समूहले डा. ढकालको घरमा बम विस्फोट र जग्गा कब्जा गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment