Comments Add Comment

नेपालमा बरामद भएको भारतीय अबैध रक्तचन्दन फिर्ता लैजान आग्रह

२ माघ, काठमाडौं । सरकारले भारतबाट अवैध रुपमा आयात भएको १ लाख ७३ हजार किलो रक्तचन्दन काठ फिर्ता लैजान आग्रह गरेको छ ।

गत पुस २८ गते बसेको मन्त्रिपरिषदको बैठकले भारतको सम्बन्धित अधिकारीलाई नेपालमा रहेको एक लाख ७३ हजार ७१.७९२ किलो रक्तचन्दन काठ फर्ता लैजान अनुरोध गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

काठ जस्तो छ त्यस्तै अवस्थामा ९० दिनभित्र आफ्नै खर्चमा लैजान अनुरोध गरिएको प्रवक्ता बाँस्कोटाले बताए ।

वन तथा वातावरण मन्त्रालयका अनुसार रक्तचन्दनका काठ भारतका आन्द्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमानाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद भएका हुन् ।

विभिन्न जिल्लाबाट बरामदित रक्तचन्दन १० वर्षदेखि वन विभाग, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा राखिएको छ ।

सम्बन्धित मुलुक (भारत)ले फिर्ता लैजान नमानेपछि बरामद भएको रक्तचन्दन अलपत्र पर्दै आएको छ ।

अवैध रुपमा आयात भएका रक्तचन्दन सम्बन्धित मुलुकमा फिर्ता पठाउन सक्ने कानूनको समेत अभाव भएको भन्दै सरकारले गत वैशाखमा मात्रै यस सम्बन्धी ऐन ल्याएको थियो ।

गत वैशाख १० गते जारी भएको ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ को दफा ३० को उपदफा २ र ३ बमोजिम भारतलाई रक्तचन्दन काठ फिर्ता लैजान स्वीकृति दिइएको सञ्चारमन्त्री बाँस्कोटाले बताए ।

ऐनको दफा ३० मा जफत भएका वनस्पतिको व्यवस्थापन सम्बन्धी प्रावधान छ ।

ऐनको उपदफा (२) मा कार्यविधि पूरा नभइ पैठारी भएको कारणले जफत भएको संकटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने र फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नु पर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment