Comments Add Comment

नेपालमा यथावत छ भूकम्पको जोखिम

माघ २ नेपालमा भूकम्पको जोखिम सम्झने दिन हो । विसं. १९९० सालमा भारतको मधुवनी जिल्लामा केन्द्रबिन्दु भएको रेक्टर स्केलमा करीव ८.० तिब्रताको विनाशकारी भूकम्प गएको थियो । त्यस घटनामा काठमाण्डौं उपत्यका लगायत पूर्वी नेपालमा ठूलो जनधनको क्षति भयो । यसलाई नेपालमा विनाशकारी भूकम्पको एक प्रतीक मानेर विपद जोखिम सम्झने दिन मनाउन थालिएको हो । भूकम्प दिवसको शुरुवात भने त्यसको सात दशकपछि मात्र भयो ।

हाम्रो भू-खण्ड चलायमान भू-तख्तामा रहेको छ । फलतः साना ठूला कम्पन भैरहन्छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको गत ३-४ बर्षको तथ्याङ्कले एक बर्षमै हजारौं स-साना कम्पन हुने देखाउँछ । विनाशकारी भूकम्पहरूको मात्र हेक्का गरिन्छ । भूकम्पले जमिनको स्वरूप ने परिवर्तन गरिदिन सक्छ । हिमालयको उत्पत्तिका करोडौं बर्षमा अनगिन्ती बिनाशकारी भूकम्पहरू भएको अनुमान गर्न सकिन्छ ।

भूकम्पकै कारण सेतीनदीको शीरमा अन्नपूर्ण हिमालमा रहेको हिमताल भूकम्पमा फुटेर पोखरामा ठूलो लेदो र गेग्य्रान मिसिएको बाढी आएको र त्यही लेदो र गेग्य्रान पोखरामा थुप्रिँदा हर्पन खोला थुनिएर फेवा ताल बनेको भनिन्छ । हिमताल फुट्न भूकम्प नै चाहिने त होइन । तर, भूकम्प हिमताल वा ताल फुटाउने मुख्य कारक भने हो । नेपालमा सम्बत् १२१८ देखि भूकम्प गएका ऐतिहासिक कथन र तथ्यहरू पाइन्छन् ।

९० साल पछि २०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्ला केन्द्र भएर करिब ६.४ तिब्रताको भूकम्प भएको थियो । त्यसले सुदूरपश्चिमका बझाङ, दार्चुला, बाजुरा बैतडी जिल्लाहरूमा कम्तिमा २ हजार ५ सय घरबास भत्केका थिए यसमा १ सय २५ जना मानिसले ज्यान गुमाएका र २ सय ४८ जना घाइते भएका थिए ।

त्यसो त सम्बत् २०३९ सालदेखि दैवी प्रकोप उद्धार ऐन लागु भएको हो । विपद व्यवस्थापनमा सरकारलाई जवाफदेही बनाउने यो ऐन दक्षिण एशियामै पहिलो कानुन हो । यसबाट विपद् उद्धार र पीडितलाई राहत दिनु सरकारको कानुनी दायित्व हुन गयो । तर, ‘दैवी’ प्रकोपको अवधारणा बोकेको र ‘उद्धार’ ऐन भएकाले विपद् घटनापछि मात्र यो सकृय हुने जस्तो भयो ।

भूकम्प दिवसको प्रादुर्भाव

०४५ साल भदौ ५ मा उदयपुरको मर्कुची आसपास केन्द्र बनाएर गएको ६.७ तिब्रताको भूकम्पमा देशभर गरी कम्तिमा ७५० जनाको ज्यान गएको थियो । मुलतः पूर्वी नेपालमा असर गरेको यस भूकम्पमा उदयपुर, सुनसरी, ओखलढुङ्गा लगायतका जिल्लाहरूमा ६ हजार ५ सय बढी घरहरूमा क्षति भएको थियो । त्यस घटनामा धरानमा १ सय १६ जनाको मृत्यु भएको थियो । भूकम्प दिवसको पृष्ठभूमि यही भूकम्पले तयार गरेको हो ।

०४५ सालमा गएको भूकम्प पश्चात् घर भवन निर्माणमा भूकम्प खप्ने प्रविधि अनिवार्य लागु गर्नुपर्ने कुराको चासो बढेको पाइन्छ । उद्धार, राहत र पुनर्निर्माणका कामका अनुभवले सवल भौतिक संरचना, प्रभावकारी विपद् पूर्वतयारी, जनशक्ति र जनचेतना बढाउन पर्ने आवश्यकता महशुस भयो ।

यिनै सवालहरूमा जनचासो बढाउन र बहस पैरवी गर्न भूकम्प दिवसको महत्वपूर्ण भूमिका हुन सक्ने सुझाव दिइएको थियो । यिनै सुझावलाई मध्यनजर गरी गृह मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, भवन तथा शहरी विकास विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजको पहलमा सरकारले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको शुरुवात गरेको हो ।

विसं. ९० सालको भूकम्प र त्यसको विनाश सम्झने र भूकम्पबाट संभावित विपद् जोखिम कम गर्न सचेतना जगाउन दिवसका लागि माघ २ गते चुनियो । लिखित दस्तावेज भएकोमा सबैभन्दा ठूलो र विनाशकारी भुकम्प यही थियो । विसं. ०५५ देखि सरकारले माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउने शुरुवात गरेको हो । नीतिगत व्यवस्था र व्यवहारिक अभ्यास प्रवर्धन गर्न सरकार र नागरिक हातेमालोका लागि यो एक महत्वपूर्ण अवसर बन्दै आएको छ ।

भूकम्प दिवसका दुई दशक

गत बीस बर्षमा भूकम्प जोखिम कम गर्न नीति, प्रविधि र अभ्यासमा उल्लेख्य प्रगति भएका छन् । ०५१ सालमा राष्ट्रिय भवन संहिता तयार गरी सरकारले धरान र ललितपुर नगरपालिकामा लागुगर्ने प्रयाश गर्‍यो । यी नगरहरूले गरेका असल अभ्यासलाई अन्य नगरपालिकामा बिस्तार गर्न, जनशक्ति विकास गर्न र जनमानसमा चेतना जगाउन सरकारी गैरसरकारी क्षेत्रबाट प्रयास भए ।

अनुभव र उपलब्ध प्रविधिअनुरुप सरकारले भवन संहिताहरूलाई परिमार्जन गरी क्रमशः देशका सबै नगरपालिकाहरूमा लागु गर्दै गएको थियो । राजनीतिक अस्थिरता र अन्योलताका माझ यस अवधिमा भवन संहितासम्बन्धी नीतिगत व्यवस्था र प्राविधिक जनशक्ति एवं जनचेतना वृद्धि भएका छन् । ०७२ सालको भूकम्प पछि भने सरकारी अधिकारीहरूले सबै ठाउँमा भवनसंहिता अनिवार्य लागु गर्नपर्ने महसुस गरे । त्यसपछि तत्कालै सरकारले देशभर घर र अन्य भौतिक पूर्वाधार संरचना बनाउँदा भूकम्प प्रतिरोधी बनाउनुपर्ने निर्णय गर्‍यो ।

सामान्यता दिवसहरू औपचारिक समारोहमै सीमित हुने गर्छन् भन्ने जनधारणा छ । तर, राष्ट्रिय भूकम्प दिवसले नेपालको विपद् व्यवस्थापनको अवधारणालाई उद्धारमुखीबाट जोखिम कम गर्न प्राथमिकता दिने गरी सकारात्मक दिशातर्फ बदलेको छ । यद्यपि, जटिल प्राविधिक बिषय र सामाजिक धारणासँग जोडिएको सवाल भएकाले भूकम्प प्रतिरोधी विकास निर्माणमा अपेक्षित गतिमा प्रगति हुन सकेको छैन ।

सन् २०१० मा हैटीमा भूकम्प भएपछि अन्तर्राष्ट्रिय समुदायले अब अर्को घटना नेपालमा हुन सक्छ भन्ने अनुमान गरेका थिए । तदनुरुप पूर्वतयारीका लागि छलफल र केही प्रयासहरू भए ।

सन् २०११ तिर नेपाल सरकारका मन्त्रालयहरू र केही विकास साझेदाहरूको पहलमा विपद् जोखिम न्यूनीकरण कन्सोर्टियम गठन गरी विभिन्न विद्यालय र अस्पताल सुरक्षा, विपद् पूर्वतयारी, बाढी, समुदाय केन्द्रीत विपद् जोखिम न्यूनीकरण, नीतिगत व्यवस्था जस्ता क्षेत्रमा काम शुरु भएका थिए ।

२०७२ सालको भूकम्पपछि विपद् जोखिम कम गर्न र भूकम्पको प्रभावकारी सामना गर्न धेरै प्रयाश गर्न आवश्यक छ भन्ने पुष्टि भएको छ । घटनाहरू क्रमशः बिर्सिंदै जान्छन् । तर, भुकम्पको जोखिम सँगालिदै जाने गरेका हुन्छन् । त्यसैले, भूकम्प दिवसको सान्दर्भिकता झन् बढेर गएको छ । भौगर्भिक प्रकृयाका साथसाथै कमजोर विकास निर्माणका कारण जोखिममा रहेका जनसंख्या र धन-सम्पत्तिको मात्रा बढ्दै ग्एको छ ।

कायमै छ भूकम्पको जोखिम

०७२ को भूकम्पपछिका अध्ययनहरूले नेपालको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर कुनै पनि बेला महाविनाश गर्न सक्ने भूकम्प (८.५ भन्दा ठूलो) हुन सक्ने देखाएका छन् । पश्चिमोत्तर भारत र पश्चिम नेपालमा बितेका ५०० बर्षमा कुनै ठूलो भूकम्प नगएकाले ऊर्जा सञ्चिति भएर बसेको वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

बेलायतको डर्हाम विश्वविद्यालय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अध्येताहरूले गरेका भूकम्प जोखिम बिश्लेषण र नक्शांकनले नेपालको कुनै पनि भू-भाग भूकम्पको कम जोखिममा छैन भन्ने स्पष्ट पारेका छन् । विभिन्न कम्प्युटर मोडेलले दर्शाएको परिदृष्यमा त्यस्तो भूकम्पमा मुख्य असर पर्ने क्षेत्रका एक तिहाई घरबास क्षति हुन सक्ने र करिब १ करोड १५ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।

प्रायः सबै मोडलहरूले कम्तिमा २५ हजार मानिसको ज्यान जान सक्ने देखाएका छन् । भूकम्पको दिन र समय अनुसार यो संख्या १ लाख ४४ हजार पुग्न सक्छ ।
सबैभन्दा खराब अवस्थाको परिदृश्यमा करिब २ लाख ८० हजार मानिसको मृत्यु हुन सक्ने, ३५ लाखसम्म घाइते हुन सक्ने देखिन्छ । अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो हुन संभव छ । सम्भावित घोर विपद् अवस्थामा देशभरमा लगभग ७८ लाख जनसंख्याका लागि अस्थायी आश्रय चाहिने अनुमान गरी त्यस्तो अवस्थाको सामना गर्न सक्ने गरी विपद् तयारी गर्न मनन योग्य सुझाव दिइएको छ ।

जिल्लाका हिसावले संभावित महाभूकम्पमा गुल्मी जिल्ला सबैभन्दा बढी जोखिममा छ भने प्रदेशका हिसावले प्रदेश ५ । सबैभन्दा सघन प्रतिकार्यको तयारी भने कणर्ाली र सुदूरपश्चिम प्रदेशका लागि गर्न सुझाइएको छ । यस क्षेत्रमा धेरै समुदाय उद्धार सेवाको पहूँचबाट टाढा रहेका छन् ।

भूकम्पमा बढी क्षति हुने कारणहरू

कति ठूलो भूकम्प भन्ने त छँदैछ, भूकम्पले गर्ने क्षति बस्ने घर र काम गर्ने भवन संरचनाहरूको वनावटमा भर पर्छ । विश्वमा भएका बिभिन्न भूकम्पका घटनामा भौतिक संरचना सवल भएमा जनधनको क्षति कम हुन्छ भन्ने तथ्य पुष्टि भएका छन् । भूकम्पका कारण होइन, कमजोर संरचनाका कारण ज्यान जान्छ र बढी क्षति हुन्छ भनिन्छ ।

भूकम्प हुने समयले पनि जनधनको क्षतिको स्तर निर्धारण गर्छ । विभिन्न परिदृश्यमा गरिने क्षतिको अनुमानमा भिन्न अवस्था देखिन्छन् । नेपालमा दिनमा भन्दा राति हुने उही तिब्रताको भूकम्पमा डेढ गुणा बढी मानिस मर्न सक्ने सम्भावना छ ।

रातमा सबैजसो मानिसहरू घरभित्र, निदाएका हुन्छन् । कमजोर घरभित्र बढी जोखिम छँदैछ, आत्तिएर भाग्दा दुर्घटना हुने संभावना दिउसो भन्दा राति बढी हुन्छ । अर्कोतर्फ, तत्काल गरिने खोज तथा उद्धार दिउसो जति राम्ररी राति गर्न सकिन्न । फलतः धेरै नोक्सानी हुन सक्छ ।

सामान्यतया मोडलले विदाको दिन हुने भूकम्पमा बढी ज्यान जाने संभावना देखाउँछन् । तथापि, २०७२ सालको दुइटै भूकम्पमा बिद्यालय बन्द रहेकाले कम मानवीय क्षति भएको हो । राष्ट्रिय योजना आयोगको अध्ययन अनुसार ७२ सालको भूकम्पमा २८ हजार ५ सय ६२ कक्षा कोठा पूर्ण क्षति भएका थिए भने २९ हजार ३ सय ११ कक्षा कोठाहरू आंशिक क्षति भएका थिए । यसअनुसार भूकम्प हुने समयमा यी कक्षा कोठामा पठनपाठन भैरहेको भए त्यहाँ हुन सक्ने क्षतिको अनुमान कहालिलाग्दो हुन्छ । असुरक्षित विद्यालयले एउटा पुस्ता नै भूकम्प जोखिममा पारेका छन् ।

अध्ययन र परीक्षणहरूले काठ र बाँस प्रयोग गरी बनाइएका घरहरू सबैभन्दा सुरक्षित हुने देखाएका छन् । विसं. १९९० सालको भूकम्पको इपिसेन्टरको आडमै परेर पनि नेपालको पूर्वी मधेसमा काठमाण्डौं उपत्यका र पूर्वी पहाडमा भन्दा कम जनको क्षति भएको थियो । त्यस घटनामा नेपालमा भन्दा बिहारमा कम मानवीय क्षति हुनुको एउटा कारण त्यहाँ काठ र बाँसले बनेका हलुका छाना भएका परम्परागत सुरक्षित घरहरू भएर हो । उपयुक्त प्रविधिको संयोजन हुन नसके घरहरू आफ्नै बोझ थाम्न नसक्ने हुन्छन्, सानो भूकम्प मै क्षति हुन्छन् ।

एक अध्ययनले दक्षिण एशियाका धेरै समुदायमा उनीहरूले घर बनाउँदा गर्ने सम्पूर्ण सोच, चिन्ताको कम्तिमा ८० प्रतिशत सजावट गर्ने र २० प्रतिशत भन्दा कम बलियो बनाउने गरेको देखाउँछन् । नेपालमा घर बनाउँदा परिवारमा सबैभन्दा बढी छलफल घरको स्वरुप र सजावट (वास्तु, रङ्ग, मार्वल, भर्‍याङको बार, पर्दा, कार्पेट आदि) सम्बन्धी हुने गरेको पाइन्छ । उनीहरूले विज्ञ, नातागोता, छिमेकी, इष्टमित्रसँग गर्ने सल्लाह पनि सजावटबारेमै बढी हुन्छ ।

भूकम्प जोखिम वहन गर्न सक्ने घर र अरु भौतिक संरचना बनाउन प्रविधि उपलब्ध छन् । प्रविधि एउटा पक्ष भयो, मानवीय चेत, सामाजिक मान्यता र व्यवहारले धेरै कुरा निक्र्याैल गर्छ । भौतिक संरचनाका साथसाथै भूकम्प सुरक्षा सम्बन्धी व्यक्तिगत र सामाजिक जीवन व्यवहारले पनि जोखिम निर्धारण गर्छ ।

मानिसहरूले के कसरी निर्णय गर्छन् र के बिषयलाई प्राथमिकता दिन्छन् भनेर थाहा पाउनु र सही निर्णय गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता र चुनौती हो । भूकम्प दिवसमा यिनै तीतो सत्य बुझ्न बुझाउन प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment